बृहत् नागरिक आन्दोलनले किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको गम्भीर छानबिन गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । बृहत् नागरिक आन्दोलनका तर्फबाट युग पाठकले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा छ, ‘भागरथी भट्टमाथि भएको यस किसिमको आततायी र मानवताविरोधी जघन्य अपराधको गम्भीर छानबिन गरी घटनामा संलग्न अपराधी पत्ता लगाई हदैसम्मको कारबाही गर्न बृहत् नागरिक आन्दोलन सरकारसँग जोडदार माग गर्दछ ।’
पछिल्लो घटनाले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि अलिकति पनि जवाफदेही नभएको पुष्टी भएको बृहत् नागरिक आन्दोलनको ठम्याइ छ । कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने वा षड्यन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने काम नगर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
‘भागरथी भट्टको हत्यासम्बन्धी यस घटनाको तुरुन्त निष्पक्ष छानबिन होस् । कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने वा षड्यन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने वा पीडकलाई छुट्कारा दिने र पीडितलाई थप पीडा दिने काम नहोस्’ विज्ञप्तिमा छ, ‘पीडितले न्याय पाउने अधिकारको सुनिश्चितता गर्न र बलात्कार तथा हत्यामा संलग्न अपराधी तुरुन्त पत्ता लगाई कडा कानुनी कारबाहीका लागि बृहत् नागरिक आन्दोलन राज्यको गम्भीर ध्यानाकर्षण गराउँछ ।’