बैतडीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरीको बलात्कारपछि हत्या

शनिबार, २४ माघ, २०७७
डिजिटल संस्करण

दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित

बैतडी दोगडा–केदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट 

विद्यालयबाट घर फर्कने क्रममा हराएकी बैतडी दोगडा–केदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार साँझ घरनजिकैको लखलेक जंगलमा उनको शव भेटिएको हो ।

उनको बलात्कारपछि हत्या गरिएको आशंका गर्दै विद्यार्थीले शुक्रबारबाट आन्दोलन थालेका छन् । उनीहरूले किशोरीको शव भेटिएको ठाउँबाट नाराबाजी गर्दै शुक्रबार दिनभर बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । आन्दोलित विद्यार्थीले दिनभर बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारे । आन्दोलनरत विद्यार्थीले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् । 

बुधबार विद्यालयबाट घर फर्कने क्रममा भागरथी घर नपुग्दै बेपत्ता भएकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले घटना शंकास्पद रहेको बताए । घटनाको सबै कोणबाट अनुसन्धान सुरु गरिएको उनले बताए । 

अनुसन्धान गर्न सिआइबीको टोली पुग्यो
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको हो । प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले एसएसपीको नेतृत्वको अनुसन्धान टोलीलाई सघाउन छुट्टै प्राविधिक टोली पनि परिचालन गरिएको जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नेतृत्वको टोली पनि खटिएको छ । अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत लगिएको छ ।

चडेपानीमा रहेको श्रमिक माविमा कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार विद्यालयबाट नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । सम्पर्कविहीन भएको एक दिनपछि भट्टको मृत शरीर घरनजिकैको जंगलमा फेला परेको थियो । किशोरी भट्टको बलत्कारपछि हत्या गरिएको आशंका गरिएको छ । घटनास्थल मृतक भट्टको घरबाट अढाई किलोमिटर दूरीमा पर्छ । सदरमुकामबाट भने घटनास्थल डेढ घन्टाको दूरीमा छ ।

घटनाबारे बुझ्न बैतडीका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनास्थल पुगेको थियोे । टोलीमा जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरीका नायब उपरीक्षक गणेश शाहलगायत थिए ।

सुझावित समाचार