पर्यटकलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनुपयुक्त : सिइओ रेग्मी

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

नेपाल भ्रमणमा आउने पर्यटकले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम पर्यटन क्षेत्रको हितमा नरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताएका छन् । कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासको विषयमा पोखरामा छलफलमा सिइयो रेग्मीले यस्तो बताएका हुन् ।

‘लाखौँ मान्छे दैनिक सडकमा उतारेर दिनदिनै आन्दोलन गर्दा कोभिड सर्दैन ? उनले प्रश्न गर्दे भने ‘बसमा मानिस कोचेर ल्याएको छ, एउटा होटेलको सानो कोठामा २०/२० जना थुपारेको छ, त्यहाँ कोभिड सर्दैन ?’ 

कोरोना परीक्षण गरी आएका र नेपालमा समेत कोरोना परीक्षण गर्छु भन्नेलाई रोक्न नहुने उनको भनाइ छ । पर्यटकले सात दिनको क्वारेन्टाइन बस्नुपर्ने समय बढाएर १० दिन पुर्याएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् । नीति–नियम बनाउने स्थानमा विज्ञको अभाव हुँदा समस्या आएको पनि उनले बताए । 

युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष निरञ्जन श्रेष्ठले कोरोनापछि निजी क्षेत्रले सरकारको साथ मात्र खोज्दा पनि नपाएको गुनासो गरे । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनालगत्तै आफूहरूले ब्याज, भाडा र कर तिर्ने समय बढाइदिन आग्रह गरे पनि सुनुवाइ नभएको बताए । 

नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. गिरधारी शर्माले कोभिडका कारण मारमा परेका व्यवसायीलाई उकास्न १५ लाखसम्म ऋण दिने र त्यसको ब्याज सरकारले तिरिदिने कार्यक्रम सुरु गरेको बताए । त्यस्तै, पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीले कोभिड परीक्षण गराएर आएका विदेशी पर्यटकलाई पोखरामा कुनै रोकतोक नहुने बताए । 

See More On

सुझावित समाचार