कांग्रेसमा अब अलमल छैन : प्रदीप पौडेल

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा कांग्रेसभित्र अलमल नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका भ्रातृ संस्थाले गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न मोरङ पुगेका पौडेलले कांग्रेसमा अब कुनै अलमल नभएको दाबी गरे । 

प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेलगत्तैै कांग्रेसले आफ्नो धारणा स्पष्ट राखेको र निरन्तर आन्दोलनमा रहेको भन्दै पौडेलले केही व्यक्तिले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहे पनि सिंगो कांग्रेस आन्दोलनमा होमिएको बताए । 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको कांग्रेस आन्दोलनका लागि मैदानमा आइसकेको पौडेलले बताए ।

प्रतिनिधिसभा विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै उनले लोकतन्त्र र संविधानसमेत रहने कि नरहने भन्ने आशंका रहेको बताए । ‘नेपालको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ । लोकतन्त्र रहन्छ कि रहँदैन । यो संविधान रहन्छ कि रहँदैन । बर्माको जस्तै फेरि अर्को घटना हुन्छ कि ? यस्ता विभिन्न तानाबाना बुनिन्छ कि भनेर मान्छेले अनुमान गरिरहेको स्थिति छ,’ उनले भने, ‘तर, कांग्रेस देशलाई त्यस्ता दुर्घटनाबाट बचाउन निरन्तर आन्दोलनमा छ ।’ 
उनले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आन्दोलनलाई निरन्तरता दिने पनि बताए । 
 

सुझावित समाचार