काठमाडाैं- सरकारको पछिल्ला गतिविधि र मिडियामाथि भएको धरपकडको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दल कांग्रेसको विशेष बैठक बस्दै छ । सभापति गगन थापाले आइतबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।
बैठकमा उपस्थितिका लागि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य तथा महामन्त्रीहरू प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालाई खबर गरिएको छ । ‘आइतबार मुख्य पदाधिकारीको बैठक बस्दै छ । बैठकमा सरकारको पछिल्ला गतिविधि, मिडियामाथिको धरपकडलगायत विषयमा छलफल हुनेछ,’ महामन्त्री प्रदीप पौडेलले भने ।
कांग्रेसले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको छ । बैठकपछि थापाले विशेष सम्बोधन गर्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । महामन्त्री पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरू गिरफ्तार गर्ने दुष्कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् ।
‘सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनिती गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य हो,’ महामन्त्री पौडेलले भनेका छन्, ‘कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटा खुला छन् । यस्ता संवैधानिक र कानुनी प्रक्रियालाई लत्याउँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत छ ।’
सञ्चारगृहहरूमाथि अनावश्यक हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न र कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न उनले माग गरेका छन् । ‘हिजोका दिनमा पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको थियो र सोही अराजक प्रवृत्ति आज राज्यसंयन्त्रबाटै दोहोरिनु झनै लज्जास्पद र अस्वीकार्य छ,’ उनले भनेका छन्, ‘आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोकियोस् ।’