‘द वान सो एसिया सोकेस २०२०’ नेपालबाट दुई सिर्जना चयन

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण

वान सो एसियाका लागि नेपाली सिर्जना चयन भएको छ । नेपाली विज्ञापन प्रचार अभियानको इतिहासमा पहिलोपटक नेपाली सिर्जना चयन भएको हो । यस वर्षको वान सो एसिया सोकेस २०२० एसिया प्यासिफिकका उत्कृष्ट सिर्जनाहरू विश्वसामु प्रदर्शित गरिने र यसमा नेपालबाट दुईवटा प्रचार अभियानहरू चयन भएको नेपाल विज्ञापन एजेन्सी संघ (आन) ले जनाएको छ । 

नेपालबाट चयन भएका सिर्जना ‘बेसिक ह्युमानिटी’ र ‘टुगेदर अहेड’ परेको जनाइएको छ । एसिया प्यासिफिक क्षेत्रका १७ देशका ५९ सहरहरूबाट बुझाइएका २ हजार ६ सयभन्दा बढी अभियानहरूमध्येबाट नेपालका दुई सिर्जना छनोट भएको आनले जनाएको छ । 

छानिएका अभियानहरू वान सोमा धेरै समयदेखि कायम उच्च मापदण्डको समर्थन गर्दै आएका २९ राष्ट्र र विश्वका सबै क्षेत्रहरूका विविध विधाका ६२ जना प्रतिभाशाली क्रिएटिभ लिडरहरूले दुई चरणमा गरेको सर्वोत्कृष्ट सिर्जनाको समीक्षाबाट निर्णय गरिएको जनाइएको छ । छानिएका अभियानले एसिया प्यासिफिक क्रिएटिभ इन्डस्ट्रीमा उत्कृष्ट कामको प्रतिनिधित्व गर्ने जनाइएको छ । 

आनका अध्यक्ष सोमप्रसाद धितालले वान सो एसियामा नेपालको प्रतिनिधित्व हुनुले सिर्जनशीलताका यी जोसहरूलाई कायम राख्नुपर्ने उत्साह थपेको बताए । यसले नेपालको विज्ञापन उद्योग विश्वको अन्य अग्रणी विज्ञापन समुदायको एक हिस्सा बन्ने उनको भनाइ थियो । 

‘टुगेदर अहेड’ प्रचार अभियानको हिस्सा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नेपालका सिर्जनशील प्रतिभाहरूलाई उजागर गरेको बताए । यसले नेपाललाई गौरवान्वित बनाउने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फोरमको हिस्सा हुने अवसर प्राप्त भएको उनको भनाइ थियो । नबिल बैंकका लागि निर्माण गरिएको ‘टुगेदर अहेड’ अभियान क्यरेयो कम्युनिकेसन्सले कोभिडको समयमा ऐक्यबद्धताको सन्देश दिने उद्देश्यले सिर्जना गरेको आनले जनाएको छ । 

आनका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशि)ले यो सम्मानले विश्वव्यापी रूपमा नेपाली विज्ञापनलाई उच्च स्थान मात्र दिलाउने नभई देशमै पनि यसले विज्ञापनदाता र एजेन्सीहरू दुवैलाई नयाँ सोचहरू तथा रचनात्मक नवीन अभियानहरूको थालनी गर्न एक प्रेरणाका रूपमा काम गर्ने बताए ।

आउटरिच नेपालले देशभित्र र बाहिर दुवै स्थानमा नेपाली विज्ञापनको प्रारूप विस्तार गर्ने दिशामा निरन्तर कार्य गर्दै आइरहेको जनाएको छ । ‘बेसिक ह्युमानिटी’ अभियान, कोभिडको समयमा सिर्जना गरिएको एक अत्यन्त सफल अभियान रहेको आउटरिचले जनाएको छ । यो अभियान ६ देशका ८ वटा भाषाहरूमा अनुवाद गरिएको थियो ।

यस अभियानले २०२० डिसेम्बरमा सांघाईमा आयोजित इसिआई अवार्ड हासिल गर्न सफल भएको थियो । आउटरिच नेपालका संस्थापक म्यानेजिङ डाइरेक्टर उजय शाक्यले विश्व समुदायमा नै नेपालको विज्ञापन एवं क्रिएटिभ इन्डस्ट्रीका बारेमा धारणा परिवर्तन गर्र्न मद्दत पु र्याउने बताए । 

सुझावित समाचार