दासहरूको नाउँमा

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण

शक्तिमा भएका शासकहरूको मस्तिष्कमा मालिक्याइँ जीवित छ र स्वेच्छाले दास बन्न रमाउने मान्छेहरूको जमातमा पनि कमी आएको छैन

दुई महिनाअघि सुदूरपश्चिमका चिरपरिचित नेकपाका युवा सांसदले आफ्नो निर्वाचन क्षेत्रकै एक कार्यक्रमको फोटो ट्विटरमा पोस्ट्याए । फोटोमा कुर्सीमा उनीसहित लहरै आधा दर्जनजति पुरुष विराजमान थिए । कुर्सीका अगाडि केही महिलासँगै ५० जना जति जनता चौरमा बसेका थिए । 

हुन त मेरा लागि यस्ता फोटा नयाँ थिएनन् । तर पनि मनमा फेरि च्वास्स घोच्यो । फोटोमा कमेन्ट नलेखिरहन सकिनँ । र, मैले लेखेँ– जनता जनार्दनको मतबाट निर्वाचित सांसद र जनता दुवै कुर्सीमा बस्ने व्यवस्था मिलाउन सक्दा कति राम्रो हुन्थ्यो । मेरो कमेन्टले काम गर्यो । त्यसपछाडिका सांसद–जनता भेटका प्रत्येक फोटोमा जनता पनि कुर्सीमै बसेको देखिन थाले । बुद्धिजीवी युवा नेताको परिचय बनाएका मित्र सांसदले बुद्धिमानी देखाए । तर, धेरैका प्रवृत्ति न आफू जान्ने, न अरूले भनेको मान्ने खालको छ । पछिल्लो समय यो जब्बर प्रवृत्तिले टाउको उठाएको छ । 

कुर्सीमोहभित्र लुकेको ठालु चिन्तन : प्रतिगमनको विरोधमा माघ ९ गते नेकपा (प्रचण्ड–नेपाल) समूहद्वारा काठमाडौं ठप्प पार्ने उद्घोषसहित कार्यक्रम आयोजना भयो । प्रदर्शनीमार्गस्थित मूलसडकमा भव्य मञ्च ठडियो । यस कार्यक्रमको सडक–सोफामोहप्रति नागरिक आन्दोलनका आदरणीय व्यक्तित्व देवेन्द्र पाण्डेले ट्विटरमा कटाक्ष गरे– यस्तो पो आन्दोलन ! सडकमा कार्पेट बिछ्याएर, सोफामा बसेर, जनताको कुरा गरेर कसरी प्रभावकारी हुन्छ आन्दोलन ? तिम्रा घरमा रमाइलो गरेकै छौ नि ! कार्पेट, सोफा र अरू के–के हो जोडेर । सडकमा पनि किन चाहिएको तिमीहरूलाई यस्तो ऐयासी ! मूर्खताको पराकाष्ठा !

सबैका प्रिय र आदरणीय व्यक्तित्व देवेन्द्रराज पाण्डेसँग ०६२/६३ को आन्दोलनमा नजिकबाट संगत गर्ने मौका पाएकी थिएँ । अमेरिकाबाट पिएचडी गरेका, नेपाल सरकारको सचिव, अर्थमन्त्री भइसकेका देवेन्द्रराज पाण्डे किञ्चित औपचारिकतामा विश्वास गर्दैनन् । मान र प्रतिष्ठाले ठूला र साना भनिएका सबैसँग सरल र सहज छन् । 

सामन्ती र ढोंगीपना खोज्नेमा कांग्रेस र अन्य नेताभन्दा कम्युनिस्ट पार्टीका नेता अग्रभागमा छन् । पाएसम्म सय किलोकै माला भिर्ने, रंगीचंगी खादा गर्दनभरि भिरेर जनताभन्दा अग्लो आसनमा ढसमस्स बस्दै घन्टौँ अर्ती–उपदेश दिने मूलतः खस–आर्य भाले नेताहरू आफूलाई सर्वज्ञानी र मालिक हौँ भन्ठान्छन् र आफूबाहेककालाई दासकै स्तरमा बुझिरहेका हुन्छन् । 
 

किन चाहिन्छ शक्तिमा भएकालाई, जनता बसेभन्दा अग्लो र फरक बसाइ ? राष्ट्रपतिको सवारीमा घन्टौँ जनताविहीन सडक ? प्रधानमन्त्री र मन्त्रीलाई दर्जनौँ पछुवा र गाडीको लावालस्कर ? कुरा प्रस्ट छ– आमजनताभन्दा फरक र विशेष देखिन । 

समाजमा धेरै कुरा सामान्यजस्तो लागे पनि त्यसले सिंगो समाज र संस्कृति पस्किरहेको हुन्छ । पार्टी बैठक र छलफलमा महँगा र सुन्दर सोफामा विशेष भनिएका दुई–चारजना ठालु अगाडि बस्ने अनि धेरै मान्छे तल बस्ने र टाउको हल्लाउँदै ताली बजाउने । हामी विरलै देख्छौँ, सामान्य भनिएका मान्छेहरूले बोल्दै गर्दा देशका ठूला भनिएका नेता विज्ञहरूले तल बसेर सुनेको । 

तर, वाक्कदिक्क लाग्ने गरी देखिने भनेको चाहिँ समाजको उच्च भनिएको वर्ग ९९ प्रतिशत बोल्छ, अरूले सुन्नुपर्छ । पुरुषले बोल्ने महिलाले सुन्ने, ब्राह्मणले बोल्छ दलितले सुन्ने, धनीले बोल्ने अनि गरिबले सुन्ने । समाजका चल्तीका भनिएका कम्युनिस्ट र कांग्रेस दुवैथरीका वरिष्ठले आफू विशेष भएकाले जनतालाई भन्दा अब्बल मान, सम्मान खोजिरहेका देखिन्छन् । र, यस्तो सामन्ती र ढोंगीपना खोज्नेमा कांग्रेस र अन्य नेताभन्दा कम्युनिस्ट पार्टीका नेता अग्रभागमा छन् । पाएसम्म सय किलोकै माला भिर्ने, रंगीचंगी खादा गर्दनभरि भिरेर जनताभन्दा अग्लो आसनमा ढसमस्स बस्दै घन्टौँ अर्ती–उपदेश दिने मूलतः खस–आर्य भाले नेताहरू आफूलाई सर्वज्ञानी र मालिक हौँ भन्ठान्छन् । र, आफूबाहेककालाई दासकै स्तरमा बुझिरहेका हुन्छन् । 

सम्बोधनमा अल्झेको शासकीय अहं : राजतन्त्रमा राजाहरूले जनतालाई तिमी भन्थे । जनताले चाहिँ हजुर, बक्स्योस्, जुनाफमा यस्तै दर्जनौँ मानपद्वी झुन्ड्याइदिनुपर्ने बाध्यता थियो । आमजनताले यस्ता अप्ठेरा र बानी नपरेका शब्द र फुर्काहरू लाउने चलन तोड्न पञ्चायती व्यवस्था र राजतन्त्र ढाल्नुपर्यो । 

१०४ वर्षे राणाकालमा राणाहरूलाई ख्वामित भनेर सम्बोधन गर्नुपथ्र्यो । ३० वर्षे पञ्च–राजा कालमा श्री ५ महाराजधिराज, आइबक्स्योस्, गइबक्स्योस् भन्नुपर्ने । नेपाली जनताले निरन्तर हजारौँको बलिदानीद्वारा श्री ३ र श्री ५ को काउसो मिल्कायो । तर, त्यो काउसोको थरीथरीका अवतारहरू आज पनि मुलुकमा व्याप्त छन् । र, त्यो काउसो ०७७ सालमा पुनः श्री ७ खड्ग ओलीको रूपमा पदार्पण भयो । खड्गप्रसाद ओली उर्दी जारी गर्छन्– किन राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई आए, गए भनेर मानमर्दन गरेको ? उनलाई लाग्दो हो, यो देशका तीन करोड नेपाली जनताको भाग्यविधाता मै हुँ, अन्नदाता मै हुँ, तसर्थ मेरो जुनाफमा सारा नेपालीले नतमस्तक हुनुपर्छ । 

ओलीले भर्ती गरेका हनुमान झुन्डलाई पनि रैतीहरूले मालिक, ख्वामित भनेर साष्टांग दण्डवत गरून् । तर, २१औँ शताब्दीको समयले, संस्कृतिले आजका बहुसंख्यक विवेकी मान्छेले पद, सत्ता र सम्पत्तिको लोभकै लागि दम्भी र अहंकारी शासकका अगाडि निहुरी मुन्टो लाउन ठाडै अस्वीकार गर्छ । 

ओलीलाई मिडियाले ज्यु, तपाईं, हजुर नभनेकामा ठूलो गुनासो छ । सम्मान शब्दले मात्रै गरिँदैन । मनभित्रबाटै श्रद्धा उम्लनुपर्छ । यस पंक्तिकारले आफ्नो बा, आमा र दाइलाई तिमी नै भनेर हुक्र्यो । किनकि, मेरो परिवारमा चलेको ‘तिमी’ शब्दले कसैको अपमान ठानेन । अलिक बुझ्ने (उमेर) भएपछि समाजको खासगरी खस–आर्य समुदायको परिवारमा चल्तीको हजुर, तपाईं, स्योस् सुन्न थालेपछि चाहिँ आफू र मेरो परिवार असभ्य भएको (तत्कालीन समयको चेतअनुसार)मा ग्लानि भयो । 

आफूमाथिका बा, दाइ र आमालाई तपाईं भन्नुपर्छ भनेर अभ्यास गरियो । तर, नानीदेखि लागेको बानी छुटाउन गाह्रो प¥यो । दाइलाई तिमीबाट ‘तपाईं’ भन्न निकै कसरत गरेपछि मात्र आजकाल तपाईं नै भनिन्छ । आमालाई त उनी बाचुन्जेल तिमी नै भनेँ, अनि आमाले मलाई तँ । यो संसारमा सबैभन्दा प्रिय र श्रद्धेय व्यक्तित्व मेरी आमा, जसको मायाको ओतमा मेरो जीवन हुर्क्यो, मैले आफ्नी आमालाई तिमीभन्दा अपमान गरे हुँला त ? 

दासत्वका थरीथरी रूप : केही महिनाअघि ओली किचेन क्याबिनेटका एक विश्वासपात्र (छोरो) महेश बस्नेत मिडियामा भन्दै थिए– केपी ओलीका लागि म धरहराबाट हामफाल्न तयार छु । ओलिप्रति किन त्यतिसारो अनुराग भनेर सुनिल्याउँदा ‘ओलीले राम्रो सुट किनिदिएको, जाडोमा विदेशी ज्याकेट दिएको ।’ अनि त्यतिले मात्रै नपुगेर चुनाव हारेका बस्नेतलाई मन्त्री बनाएकाले उनीलगायतका झुन्ड ओलीको गन्दगीमा झिँगा भन्केझैँ भन्किन्छन् ।

विचार, वर्ग, जात, रंग, भाषा, भूगोल, सम्बन्ध, माया र भावनात्मक सम्बन्धभित्रको दासत्वको खाडल सबै अग्रगमन र प्रगतिका बाधक हुन् । दासवृत्ति खुट्याउन सजिलो छैन । मान्छेका मस्तिष्कमा गढेको स्वार्थ, लोभ र मानसिक दरिद्रताको दासत्व हजारौँ वर्षदेखि लिसोझैँ टाँस्सिएको छ । 
 

ओलीपन्थमा उपहारमा साडी, कपडा, पैसा, मन्त्री र सांसद पद प्राप्त गरेकाले आफ्नो विवेक बन्दक राख्ने बस्नेतजस्ता छोराछोरी पात्र थुप्रा छन् । त्यसो नहुँदो हो त माक्र्सवाद र प्रगतिवादको राम्रो व्याख्याता भनिएका प्रदीप ज्ञवाली, शंकर पोखरेल, संविधान बुझेका सुवास नेम्वाङ मार्काले ओलीले पत्रु कुकर्म गर्दा ओठ सिलाउँथे र ? समानता र महिला अधिकार बुझेको दाबी गर्ने विज्ञ डा. विन्दा पाण्डेजस्ता व्यक्तिहरू ओलीले मैमत्त भएर पार्टी, विधि र संविधान कुल्चेर किचिमिची पार्दा ओलीकै महिमागानमा रत्यौली खेल्न दासताकै स्तरमा प्रकट हुन्थे र ? 

दास बन्ने र बनाउने प्रवृत्ति प्रचण्डपथमा पनि प्रशस्तै छन् । भनिएको गणतन्त्रमा हुक्के, ढोके प्रहसन कांग्रेस र कथित कम्युनिस्ट पार्टीमा पनि मनग्गे देखेको र भोगेको हो । त्यसो नहुँदो हो त ओली उन्माद कसरी अक्कासिन्थ्यो ? ओलीलाई मैमत्त हुन प्रचण्ड, माधवलगायतका झुन्डहरूले पनि प्रशस्त तेल लगाएर बलियो बनाएकै हुन् । 

संसारकै लोकतन्त्रको महान् अभ्यास भनिएको अमेरिकामा संसारका जनताबाट छि:छि: र दुरदुर गरिएका डोनाल्ड ट्रम्पले भर्खरै सकिएको निर्वाचनमा ४७ प्रतिशत मत ल्याए । एउटा सन्की, मूर्ख र बहुलठ्ठी शासकको पक्षमा देशभित्र यति ठूलो मत व्यक्त हुनु भनेको विवेकहीन दासरूपी जनताको उर्वर स्थानमा मात्र हो । जसरी नेपालमा गणतन्त्र, संघीयता र समावेशी मुद्दासँग छेउकुना सम्बन्ध नभएका ओली रातारात महान् राष्ट्रवादी बनाइए र जनताबाट र दुईतिहाइनजिकको मत कुम्ल्याए । 

भर्खरै डोरबहादुर विष्टद्वारा लेखिएको भाग्यवाद र विकासको ३० वर्षको स्मृतिविशेष (माघ ४ गते) सकिएको छ । जातका आधारमा श्रम, मान, प्रतिष्ठा सबै निर्धारण हुने हिन्दू समाजमा विकास नहुनुमा भाग्यवाद, चाकरी र जात व्यवस्था प्रधान कारण हो भनेर विष्टले ठोकुवा गरेका छन् । भाग्यवाद र चाकर मनोवृत्तिको भाष्यलाई फलाउने र थोपर्ने कामचाहिँ हिन्दू धर्म र ब्राह्मणवाद (बाहुनवाद)ले गर्यो । भाग्यवादको प्रभाव समाजको शिक्षा, प्रशासन, सरकार, विदेशी दातृ निकाय र राजनीति सबै क्षेत्रमा व्याप्त छ । जसको कारण नेपाली समाज र यसको प्रगति मात्रै अवरुद्ध भएन कि आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत अत्यधिक परनिर्भरता बढ्यो भन्ने निष्कर्ष विष्टको छ । 

अग्रगमन र विद्रोही चेतको अन्तर्य : हालसालै एक नागरिकसभामा सधैँजसो कुलंगार शासकविरुद्ध जण्ड शब्दका आविष्कारक खगेन्द्र संग्रौलाले ओलीलाई ‘नाथे केपी ओली’ को पगरी गुथाए । संग्रौलाको संकेत होला, नेपाली जनताको शक्तिले राणाशासन गयो, पञ्चायती व्यवस्था ढालियो, नाथे झुसे बारुलो !

१९७७ सालमा चन्द्र शमशेरले राजा र राणाहरूले कजाएका ५१ हजार चार सय १९ दासहरूको करिया मोचन (अमलेख) गरेका थिए । देशको जनसंख्या ५५ लाख सात हजार तीन सय ८८ हुँदा झन्डै १० प्रतिशत मान्छे दास थिए । उल्लेखित संख्याका जनता घोषित दास थिए । तर, तत्कालीन समयमा सीमित राणाहरूबाहेक राजा र अन्य नागरिक पनि दासै थिए । 

सार्वकालिक हिसाबले दास भएकाहरूलाई आफूलाई प्रजातान्त्रिक र न्यायप्रेमी देखाउन खोज्ने चन्द्र शमशेरले सय वर्षअघि मुक्त गरे । तर, सामाजिक र व्यावहारिक रूपमा अर्धदास स्वरूपका हलिया, कम्लरी संस्कार अझै जीवितै छन् । आर्थिक, सामाजिक र संस्कृतिका अनेकौँ दासत्वका स्वरूपहरू जिउँदै छन् । शक्तिमा भएका शासकहरूको मस्तिष्कमा मालिक्याइँ जीवित छ र स्वेच्छाले दास बन्न रमाउने मान्छेहरूको जमातमा पनि कमी आएको छैन । 

तमाम दासत्वका अवशेष त्यज्य छन् : दुई हजार वर्षअघि प्रथम दास विद्रोह रोममा भएको थियो, जसलाई इतिहासमै ठूलो विद्रोह मानिन्छ । दास विद्रोहका नायक स्पार्टाकस थिए । स्पार्टाकसको नेतृत्वमा एक लाखभन्दा बढी विद्रोही सेना लडेका थिए, तर दासहरूभित्रबाटै मुक्तिको अभियानमा कुठाराघात भएपछि आन्दोलन तत्कालका लागि असफल भएको थियो । तर, त्यो विद्रोहले संसारभरिका दासलाई मुक्तिका लागि विद्रोह गर्न दिशानिर्देश गरेको थियो । 

विचार, वर्ग, जात, रंग, भाषा, भूगोल, सम्बन्ध, माया र भावनात्मक सम्बन्धभित्रको दासत्वको खाडल सबै अग्रगमन र प्रगतिका बाधक हुन् । दासवृत्ति खुट्याउन सजिलो छैन । मान्छेका मस्तिष्कमा गढेको स्वार्थ, लोभ र मानसिक दरिद्रताको दासत्व हजारौँ वर्षदेखि लिसोझैँ टाँस्सिएको छ । 

अमेरिकी दास उन्मूलनकी नेता हैरियट टबम्यान दासकै रूपमा जन्मिन् र बाँचुन्जेल दासप्रथाविरुद्ध लडिन् । उनी भन्छिन्– म हजारौँ र त्योभन्दा पनि बढी दासलाई मुक्त गर्न सक्छु, तर त्यसका लागि दासहरूले आफू दास भएको कुरा बुझ्नुपर्छ । शारीरिक र मानसिक दासत्व हट्न सर्वप्रथम दासले नै अस्वीकार गर्ने हो, तर त्यसका लागि दास बनाइएका र बनेकाहरूमा दासत्वविरुद्ध विद्रोही चेतको विकास हुनुपर्छ । तमाम लोभ परित्याग गर्ने आँट हुनुपर्छ, म हैन हामी भन्न सक्नुपर्छ । यथास्थितिबाट अग्रगमनतिर वेग हाँक्न सक्ने आँट र जाँगर हुनुपर्छ । 

सुझावित समाचार