सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । बैंकका संस्थागत ग्राहकहरूले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने सुविधा दिने उद्देश्यले सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफँैले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी खाताबाटै सजिलै गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस तथा आइपिएसमा भुक्तानी कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । साधारण आवेदनको स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिने जनाइएको छ । यसपश्चात् भने ग्राहकका प्रयोगकर्ता आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानी बैंकमा उपस्थित नभई नै गर्न सक्ने बैंकले जनाएको छ ।
सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपश्चात् प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको जनाइएको छ ।
बैंकले देशैभरि एक सय नौवटा शाखा, ९८ एटिएम र १ सय ७ शाखारहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।