विपन्न राष्ट्रलाई छुटाएर खोप अभियान सफल हुँदैन

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

महामारी सबै स्थानमा अन्त्य नभएसम्म कुनै पनि अर्थतन्त्र भाइरसको प्रभावबाट मुक्त हुनेछैन

अहिले समृद्ध मुलुक कोभिड–१९ विरुद्धको खोपमाथि एकाधिकार कायम गर्ने प्रतिस्पर्धामा छन् । यसले एकातर्फ मानवीय संकट थप गहिरो बनाउनेछ भने अर्कोतर्फ आर्थिक संकट पनि निम्त्याउनेछ । जसले विकासोन्मुख मुलुकलाई जति नै विकसित मुलुकलाई धक्का दिनेछ । हालै जारी एक अध्ययनले यस्तै चित्र प्रस्तुत गर्छ । अध्ययनको एक परिदृश्यअनुसार समृद्ध मुलुकहरूले यो वर्षको मध्यसम्ममा पूर्ण खोप लगाइसक्नेछन्, जबकि विपन्न मुलुक बढ्दो कोरोना संक्रमणसँग जुध्न लकडाउनमै हुन सक्छन् । अध्ययनअनुसार विश्वले कोरोना भाइरसका कारण नौ ट्रिलियन डलरभन्दा बढी गुमाउनेछ । जुन जर्मनी र जापानको संयुक्त वार्षिक उत्पादनभन्दा बढी हो । यसको आधा मूल्य अमेरिका, क्यानडा र ब्रिटेनजस्ता धनी मुलुकले बेहोनुपर्नेछ । अनुसन्धाताहरूले सबैभन्दा बढी यथार्थपरक भनिएको परिदृश्यमा भने यो वर्षको अन्त्यसम्म विपन्न मुलुकका आधा जनसंख्यालाई खोप लगाइसकेको हुनेछ । र, विश्वले १.८ ट्रिलियन डलरदेखि ३.८ ट्रिलियन डलरबीचको क्षति बेहोर्नेछ । यस परिदृश्यमा पनि आधा आर्थिक क्षति धनाढ्य मुलुकले बेहोर्नेछन् । 

इन्टरनेसनल चेम्बर अफ कमर्सले गराएको यस अध्ययनअनुसार खोपको समतामूलक वितरणले सबै देशलाई आर्थिक हित गर्छ । विशेषतः व्यापारमा निर्भर देशलाई यसले झनै बढी फाइदा गर्छ । यसले विपन्न मुलुकलाई दिइने खोपले तिनै मुलुकलाई मात्र फाइदा गर्छ भन्ने धारणालाई गलत ठह¥याउँछ । विगतमा वासिङ्टनस्थिति फेडरल रिजर्भमा काम गर्ने कोक विश्वविद्यालयकी अर्थशास्त्री सेल्भा डेमिराल्फ विश्वका सबै अर्थतन्त्र एकअर्कासँग जोडिएको बताउँछिन् । इन्टरनेसनल चेम्बर अफ कमर्सकी एक लेखक डेमिराल्फको विचारमा कुनै पनि अर्थतन्त्र अर्को अर्थतन्त्र पुनरुत्थान नभई संकटबाट बाहिरिन सक्दैन । 

महामारीमा विकासोन्मुख मुलुकलाई स्रोत उपलब्ध गराउने लक्ष्य बोकेको ‘एक्ट एक्सेलेटर’ नामक विश्वव्यापी समाजसेवी अभियानमा ११ अर्ब डलर मात्र जम्मा भएको छ । जबकि, यसका लागि ३८ अर्ब डलरको लक्ष्य लिइएको थियो । जम्मा हुन बाँकी २७ अर्ब डलर ठूलो रकम लागे पनि महामारीले पु¥याउने आकलन गरिएको क्षतिको तुलनामा सानै हो । अन्तर्राष्ट्रिय व्यापार कोरोना भाइरसबाट कसै गरी पनि भाग्न सक्दैन । भाइरसले ताण्डव मच्चाउन्जेल ठूला उद्योगलाई महत्वपूर्ण हुने विश्वव्यापी सप्लाई चेन प्रभावित भइरहनेछ । अर्थशास्त्रीको एक समूहले ६५ देशका ३५ उद्योगमा असमान खोप वितरणको आर्थिक प्रभावको अध्ययन गरेका थिए । त्यसअनुसार विकासोन्मुख मुलुकका मानिस भाइरसको विस्तार रोक्न घरभित्रै बसे भने विकसित मुलुकको बिक्री पनि घट्ने निश्चित देखिन्छ । किनकि, धनी मुलुकका बहुराष्ट्रिय कम्पनीले आफूलाई आवश्यक पार्टपुर्जाहरू हासिल गर्न संघर्ष गर्नुपर्नेछ । 

अन्तर्राष्ट्रिय व्यापारमा कुनै पनि सामानको पार्टपुर्जा अलग–अलग देशमा बनाइन्छ । र, तिनलाई एक देशबाट अर्को देशमा ढुवानी गरिन्छ । ओइसिडीका अनुसार अघिल्लो वर्षको कुल १८ ट्रिलियन मूल्यबराबरको सामानमा ११ अर्ब डलरको सामग्री ‘बीचको सामान’ थियो । अध्ययनअनुसार विपन्न मुलुकमा महामारी जारी रहँदा विश्वव्यापी व्यापार ५ प्रतिशतसम्म घट्न सक्छ । विभिन्न असमानतामध्ये खोपमाथिको पहुँचको असमानता टड्कारो देखिएको छ । उत्तर अमेरिका र युरोपका धनाढ्य मुलुकले आफ्नो जनसंख्यालाई चाहिनेभन्दा दोब्बर–तेब्बर डोज खोप जम्मा गर्दा विपन्न राष्ट्र खोपका लागि संघर्ष गरिरहेको देखियो । बंगलादेशदेखि तान्जानिया र पेरुजस्ता देशले आफ्ना सम्पूर्ण नागरिकलाई खोप लगाउन सन् २०२४ सम्म पर्खनुपर्ने स्थिति देखिन्छ । बाइडेनले सत्ता सम्हालेपछि अमेरिकाले विपन्न मुलुकलाई खोपमा सघाउने अग्रसरता लिने चर्चामाझ केही आशा बढेको छ । महामारीले अर्थतन्त्रमा पारेको असरको कुरा गर्दा धनाढ्य मुलुकले आफ्ना संकटग्रस्त उद्योगलाई सघाउनका लागि खर्बौं डलर खर्च गरिरहेका छन् । धनाढ्य मुलुकमा काम गर्ने विपन्न मुलुकका श्रमिकहरूले रोजगारी गुमाइरहँदा तिनले आफ्नो मुलुक पैसा पठाउन सकिरहेका छैनन् । रेमिट्यान्समा धेरै निर्भर फिलिपिन्स, पाकिस्तान र बंगलादेशलाई धेरै असर गरेको छ । 

कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो मार परेको छ । पर्यटनमा निर्भर थाइल्यान्ड, इन्डोनेसिया र मोरक्कोले यसको भार खेपिरहेका छन् । महामारीअघि नै ऋणको बोझमा रहेका मुलुकहरूको समस्या झन् बढेको छ । जी–२० समूहले ऋण सहुलियत कार्यक्रम ल्याएपछि निजी ऋणदाताले यसमा सहभागी हुन अस्वीकार गरेका छन् । आइएमएफ र विश्व बैंकले पनि महत्वपूर्ण सहायता कार्यक्रम घोषणा गर्ने वाचा गरेका छन् । ५० करोड डलरको स्पेसल ड्रइङ राइट विस्तार कार्यक्रमलाई ट्रम्पले विरोध गरेका थिए । वासिङ्टनमा नयाँ नेतृत्वको आगमनले यो कार्यक्रम अघि बढ्ने आशा बढेको छ । अमेरिकी कंग्रेसको दुवै सदनमा बहुमत पाएका डेमोक्रेट्सले यस सम्बन्धमा सकारात्मक संकेत दिएको छ । विकासोन्मुख राष्ट्रलाई सहयोग गर्ने विषयमा वासिङ्टन र ब्रसेल्सजस्ता राजधानीमा हुने बहसहरू नैतिक आधारमा रंगिने गरेको पाइन्छ ।

तर, नयाँ अध्ययनले यो शैलीको बहसलाई चुनौती दिएको छ । अझ पछिल्लो महामारीमा विकसित मुलुकका नेताले पृथ्वीका सबैभन्दा विपन्न वर्गलाई कसरी सघाउने भन्नेमा बहस मात्रै गरेको तर काम भने नगरेको देखियो । विकासोन्मुख मुलुकलाई खोपको पहुँचबाट टाढा राख्दा, विकसित मुलुकहरूले आफ्नै स्रोतमा असर पु¥याएका छन् । ‘महामरी सबै स्थानमा अन्त्य नभएसम्म कुनै पनि अर्थतन्त्र भाइरसको प्रभावबाट मुक्त हुनेछैन । चाहे अर्थतन्त्र जति नै ठूला किन नहुन्, असर हुन्छ नै,’ इन्टरनेसनल चेम्बर अफ कमर्सका महासचिव जोन डेन्टनले भनेका छन् , ‘त्यसैले विकासोन्मुख मुलुकका लागि खोप खरिद गरेर विकसित मुलुकले दया मात्र देखाएका हुँदैनन् । यसमार्फत तिनले आफ्नो अर्थतन्त्र ब्युँताउन महत्वपूर्ण हुने लगानी पनि गरिरहेका हुन्छन् ।’ 

गुडम्यान न्युयोर्क टाइम्सका विश्व अर्थ–संवाददाता हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार