सात महिनाअघि लगातार परेको पानीमा ओत लागेर बस्दै आएको घर भत्काएपछि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्री (७३) को जीवनमा बज्रपात पर्यो । आफ्ना कैयौँ स्मृति समेटिएको घरसँगै उनका कैयौँ सपना ढले ।
भएकी एउटी छोरीलाई विवाह गरेर बिदा गरिसकेका खत्रीसँग ७१ वर्षीया जीवनसंगिनी छलिमाया थिइन् । तर, जीर्ण बन्दै वृद्ध शरीरमा अर्को घर ठड्याउने साहस थिएन । बर्खा सकियो, दुःख सकिएन । तर, लामो समयसम्म खत्रीदम्पतीले घरबारविहीन हुनुको पीडा भने भोग्नुपरेन । आइतबारबाट उनीहरूले त्यही ठाउँमा नयाँ घर पाएका छन् ।
घरबारविहीन वृद्ध दम्पतीको दुःख देखेर द्रवित भएका केही सहयोगीहरूले देश–विदेश तथा स्थानीयसँग चन्दा उठाएर वृद्धदम्पतीका लागि दुईतले घर पुनः ठड्याइदिएका छन् । घर पाएसँगै खत्रीदम्पतीको मुहारमा खुसी फर्किएको छ । स्थानीय अभियन्ता थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा घर ठडिएको हो । उनीहरूले चन्दा संकलन अभियान सञ्चालन गरेर भूकम्प प्रतिरोधी नयाँ घर बनाइदिएका छन् ।
अभियानका क्रममा खत्रीदम्पतीको घर बनाउन तीन लाख ६० हजार आठ सय ६२ रुपैयाँ संकलन भएको थियो । त्यो रकम स्वदेश तथा विदेशमा रहेका सहयोगकर्ताले सहयोग गरेका हुन् । त्यसमा साकेला गाउँपालिकाको १५ हजार रुपैयाँ पनि समावेश छ । घर निर्माणका लागि संकलन भएको रकममध्ये तीन लाख २१ हजार सात सय आठ रुपैयाँ खर्च भएको अभियन्ता भट्टराईले जानकारी दिए ।
आइतबार हिन्दू परम्पराअनुसार वृद्धदम्पती नयाँ घरमा भित्रिएका छन् । नयाँ बनाइएको घरमा भूकम्प पुनर्निर्माण प्राधिकरणले तोकेजस्तै शैली अपनाइएको छ । जीवनको उत्तरार्धमा घर गुमाउन पुगेका खत्रीदम्पतीको दयनीय अवस्था देखेर अभियान सञ्चालन गरिएको भट्टराईले बताए । स्थानीयको अभियानमा गाउँपालिकाको तर्फबाट पनि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले जानकारी दिए ।
अभियानमा हाल युकेमा रहेकी समाजसेवी इशा गुरुङले तीज मनाउने खर्च कटाएर २० हजार, दाहाल बन्धुहरूले सञ्चालन गरेको अभियानबाट २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले १७ हजार एक सय ५५, दाहाल प्रतिष्ठान शाखा खोटाङले १० हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले आठ हजार सहयोग रहेका छन् ।
बाँकी रकम ब्रेन ह्यामरेजपीडितलाई
खत्रीदम्पतीको घर निर्माण गरेपछि बाँकी रहेको रकम साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकै ब्रेन ह्यामरेजपीडित जितेन्द्रप्रसाद खत्रीलाई हस्तान्तरण गर्ने जानकारी दिइएको छ । घर पुनर्निर्माण सकेपछि ३९ हजार एक सय ५४ रुपैयाँ बाँकी रहेको छ । त्यसमा केही रकम थपेर ब्रेन ह्यामरेजपीडित खत्रीको उपचारमा सहयोग गर्ने तयारी भइरहेको अभियन्ता भट्टराईले बताए । ब्रेन ह्यामरेज भएका खत्री विगत पाँच महिनाअगाडिदेखि काठमाडौँस्थित मोडेल अस्पतालमा उपचार गराइरहेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा आर्थिक अभाव भएपछि उनलाई सहयोग गर्न लागिएको भट्टराईले बताए ।