सुन्तला सुरक्षित गर्न सोलार स्टोर निर्माण

शुक्रबार, २ माघ, २०७७
डिजिटल संस्करण

उचित भण्डारणको अभावमा उत्पादन भएको सुन्तला खेर जान नदिन कुशे गाउँपालिका–५, दम्दालामा सोलार स्टोर भवन निर्माण गरिएको छ । कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाएको छ ।

परियोजनाको १२ लाख र प्रगतिशील युवा कृषि सहकारी संस्थाको १२ लाख लागतमा सोलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, जाजरकोटका प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए ।

स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतले बताए । उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका थिए । सोलार स्टोर निर्माण भएपछि सुन्तला भण्डारण गर्न सहज भएको र उत्पादनको उचित मूल्य पनि पाइने कृषक शक्तिबहादुर वलीले बताए । 

गाउँमै सोलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका वेला कृषकले बढी मूल्यमा सजिलै बिक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ । गाउँमै सोलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ । भवनभित्र सुन्तला भण्डारण गर्न काठका र्याकहरू निर्माण गरिएका छन् । भवनमा कृषकको मात्र सुन्तला भण्डार गरिनेछ । कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ । 

See More On

सुझावित समाचार