राजनीतिक अस्थिरताको भुमरीमा पेरु

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

संविधानलाई नै शक्ति दुरुपयोगको औजारको रूपमा प्रयोग गरिने राज्यमा कुनै प्रणाली बसाउन निकै कठिन हुन्छ

पेरुले नोभेम्बरमा तीनजना राष्ट्रपति पायो, त्यो पनि दश दिनको अन्तरमा । एकजना त जम्मा ६ दिन मात्र सत्तामा टिके । अहिलेका अन्तरिम राष्ट्रपति फ्रान्सिस्को सगास्ती अप्रिलमा तोकिएको आमनिर्वाचनसम्मका लागि मात्र हुन् । तर, उनी त्यस समयसम्म सत्तामा रहने कुराको पनि सुनिश्चितता छैन । यदि उनी टिके भने पनि उनीपछि को आउनेछन् ? पेरुमा यस प्रश्नले आशाभन्दा बढी निराशा उत्पन्न गराइरहेको छ । 

२०औँ शताब्दीमा पेरुले आठपटक सैन्य कु भोग्यो । तर, पछिल्लो दुई दशकमा देश तुलनात्मक रूपमा स्थिर रूपमा अघि बढेको थियो । यस अवधिमा गरिबीमा ह्रास आयो र देशको आर्थिक वृद्धि स्थिर देखिन्छ । तर पनि भ्रष्टाचार भने घट्नुको साटो झन् गहिरिएको छ । पछिल्ला चार राष्ट्रपतिविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान चलिरहेको छ । चारैजनालाई ब्राजिलको विशाल निर्माण कम्पनी ओडेब्रेख्तसँग पैसा लिएको आरोप लागेको छ । पेरुमा यस ब्राजिलियन कम्पनीले देशको लगभग सबै हिस्सालाई भ्रष्ट बनाएको जस्तो देखिन्छ । विशाल भ्रष्टाचारविरोधी अभियानले आमआक्रोशलाई केही मत्थर गरेको देखिएको थियो, तर त्यसक्रममा राजनीतिक प्रतिशोधको प्रवृत्ति ह्वात्तै बढ्यो । 

यो भद्रगोलको समाधान गर्ने प्रयास नभएका होइनन् । तर, ती प्रयासले उल्टो अराजकता निम्त्याए । यी अराजकतामाझ एउटा प्रश्न उठेको छ : सम्पूर्ण राजनीतिक प्रणाली नै सडेको अवस्थामा दण्डहीनताविरुद्ध कसरी लड्न सकिन्छ ? पेरुका लागि यो प्रश्न निकै पेचिलो बनेर आएको छ । यसमा देशको सम्पूर्ण स्थिरता नै दाउमा छ । 

पेरुको राजनीतिक समस्या ल्याटिन अमेरिकाका लागि चेतावनीपूर्ण पाठ हो । व्यापक भ्रष्टाचार हुने यस क्षेत्रमा भ्रष्टाचारविरुद्ध उठाइएका कदम आफैँमा विशुद्ध नियतले चालिँदारहेनछन् भन्ने दृष्टान्त पेरुमा देखियो । पेरुको राजनीतिक संघर्ष विगत तीन महिनामा चरम चुलीमा पुग्यो । राजनीतिक प्रतिद्वन्द्वीलाई पन्छाउनका लागि कुनै कसर बाँकी छाडिएन । यहाँसम्म कि नयाँ प्रकारको कुको समेत प्रयोग भयो । संविधानले नै सहज लुपहोल प्रदान गरेको अवस्थामा सेना बोलाउने आवश्यकता नै हुँदो रहेनछ । उदाहरणका लागि संसद्मा विपक्षीले ‘स्थायी प्रकृतिको नैतिक अक्षमता’ देखाएर एकजना राष्ट्रपतिलाई सजिलै बर्खास्त गरेको देखियो । 

अहिलेको प्रकरण बुझ्न सन् २०१६ फर्कनुपर्छ । त्यस वर्ष वाल स्ट्रिटका अवकाशप्राप्त इन्भेस्टमेन्ट बैंकर पेड्रो पाब्लो कुचिन्स्की पाँच वर्षका लागि राष्ट्रपति निर्वाचित भएका थिए । तर, दुई वर्ष नटिक्दै उनीविरुद्ध महाअभियोग लगाइयो । परिणामस्वरूप उनी राजीनामा गर्न बाध्य बने । पूर्वराष्ट्रपति अलबार्टो फुजिमोरीकी छोरी केइको फुजिमोरीले कुचिन्स्कीसँग झिनो अन्तरले चुनाव हारेको समयमा पनि हार स्विकार्न मानेकी थिइनन् । दुई वर्षपछि फुजिमोरीले संसद्भित्रको आफ्नो पार्टीको बहुमत प्रयोग गरेर कुचिन्स्कीलाई बर्खास्त गरिन् । सत्ताच्युत भएपछि ८२ वर्षे कुचिन्स्कीलाई कुनै मुद्दा त लगाइएन, तर उनी अढाई वर्षसम्म घरमा नजरबन्द रहे ।

कुचिन्स्कीपछि दृश्यमा मार्टिन भिजकाराको प्रवेश भयो । कुचिन्स्कीको शासनमा उपराष्ट्रपति रहेका भिजकाराले फुजिमोरीको गोटी बनेर आफ्नै राष्ट्रपतिलाई अपदस्थ गर्ने षड्यन्त्रमा भाग लिएका थिए । तर, सत्तामा आएपछि भिजकाराले उनै फुजिमोरीको पार्टीविरुद्ध भ्रष्टाचारको डन्डा चलाए । भ्रष्टाचारविरोधी अभियानले भिजकाराको लोकप्रियता ह्वात्तै चुलियो । सन् २०१९ सेप्टेम्बरमा उनले संसद् भंग गर्दा उनको लोकप्रियता शिखरमा थियो । भ्रष्ट भए पनि लोकतान्त्रिक रूपमा चुनिएको विपक्षी संसद् अपदस्थ हुँदा शक्ति सन्तुलन नराम्ररी प्रभावित भयो । त्यसपछिको ६ महिनासम्म भिजकाराले अध्यादेशमार्फत शासन गरे । 

प्रगतिशील उदारवादी तथा भ्रष्टाचारविरोधी अभियन्ताले भिजकाराको ‘कु’लाई राजनीतिक सुधारका लागि आवश्यक रहेको पुष्टि गर्ने प्रयास गरे । देशको सर्वोच्च अदालतले पनि यो कदमलाई ४–३ को मतभिन्नताले समर्थन जनायो । मार्चमा विधायिकी चुनाव सम्पन्न भयो र पहिलेजतिकै भ्रष्ट विधायिकी पुनः गठन भयो । र, नोभेम्बरमा एक स्थानीय मिडियाले भिजकाराले दक्षिणी प्रान्त मोकेगुयाको गभर्नर हुँदा निर्माण कम्पनीबाट पैसा लिएको कुरा प्रकाशमा ल्यायो । त्यसपछि भिजकारालाई कंग्रेसले महाअभियोग लगायो । भ्रष्टाचारविरोधी युद्ध एक प्रहसनमा अन्त्य भयो । करोडौँ समर्थक तथा मिडियाले भिजकारालाई दिएको अन्धसमर्थनका कारणले एउटा देशको यात्रा अन्धकारतर्फ मोडियो । 

मिडिया, नागरिक समाज तथा भ्रष्टाचारविरोधी अभियन्ताले भिजकाराका हरेक कर्मलाई प्रशंसा गरेको विगतका गल्तीलाई पुनरावलोकन गर्न सक्नुपर्छ । तिनले एकजना अवसरवादी धोकेबाज नेतालाई आलोचनारहित समर्थन दिँदा देशको समृद्धि तथा स्थायित्वमै गम्भीर धक्का लागेको छ । दुई दशकसम्म पेरुको अर्थतन्त्र औसतमा ४.५ प्रतिशतको दरमा बढ्यो । भिजकाराको नेतृत्वमा यो दर घटेर २.३ प्रतिशतमा झरेको थियो । महामारीको धक्काले पेरुको अर्थतन्त्र यस क्षेत्रकै सबैभन्दा बढी ११.५ प्रतिशतले खुम्चिन पुग्यो, जसका कारण गरिबी दरमा उल्लेख्य वृद्धि भएको छ । विश्वमा कोभिड–१९ बाट मर्ने उच्च दर सामना गर्ने देशमा पेरु पनि सामेल छ । 

संविधानलाई नै शक्ति दुरुपयोगको औजार बनाइने राज्यमा कुनै प्रणाली बसाउन सकिँदैन । पेरुमा अहिले त्यही भएको छ । संस्थानहरू कमजोर बनेका छन् । राष्ट्रपति पदको मानमर्दन भएको छ र संसद् (कंग्रस)को वैधानिकता सकिएको छ । पेरुका नागरिकको मनोबलमा धक्का लागेको छ । उनीहरू महमारीमाझ देखिएको भ्रष्ट राजनीतिज्ञको झगडाबाट वाक्क भइसकेका छन् । त्यही भएर नोभेम्बरमा हजारौँ युवा सडकमा उत्रिए । यो शताब्दीकै ठूलो यस प्रदर्शन शान्तिपूर्ण थियो । प्रदर्शनको छैटौँ दिनमा अवैधानिक ठानिएका राष्ट्रपति म्यानुयल मेरिनोले राजीनामा दिनुपर्यो । मेरिनोले राजीनामा दिएर प्रतिष्ठित टेक्नोक्रेट सगास्तीले सत्ता सम्हाले पनि प्रदर्शन रोकिएको छैन । प्रदर्शनकारी उचित जीवनस्तर तथा उच्च ज्यालाको माग गरिरहेका छन् । 

अप्रिल ११ मा आमचुनाव घोषणा गरिएको भए पनि धेरै पेरुवासीमा कुनै उम्मेदवारप्रति पनि त्यति उत्साह देखिँदैन । मानिसलाई आगामी चुनावले राजनीतिमा सुधार ल्याउँछ भन्ने आशा नै छैन । अधिकांश विधायक तथा राष्ट्रपतिलाई गम्भीर प्रकृतिको भ्रष्टाचार तथा हत्याको समेत आरोप छ । यो निकै दुःखद अवस्था हो । देशको प्रजातान्त्रिक शासनसँग जोडिएको प्रश्नले नजिकिँदै गरेको पेरुको स्वतन्त्रताको दुई सय वार्षिकीमा पनि मानिस खुसी देखिँदैनन् । प्रजातान्त्रिक गणतन्त्रको जग निर्माण गर्ने वाचा नै भ्रम देखिन थालेको छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
सोनिया गोल्डेनवर्ग पत्रकार र वृत्तचित्र फिल्म निर्माता हुन् । 

 

सुझावित समाचार