आफ्नै दलकाे विश्वास लिन नसक्ने प्रधानमन्त्रीले जनताकाे मत लिन निर्वाचन गर्लान् भनेर कसरी पत्याउने ? : नेता सिंह (भिडियोसहित)

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन् ।

संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभा अन्तर्गत काठमाडौं १ (क) मा आयोजित विरोधसभामा बोल्दै सिंहले ओलीले निर्वाचन नगराउने बताएका हुन्। उनले ओलीको असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएकोसमेत बताए।

‘दुईतिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर, संसद्मा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले, संसद् विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन।’ उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए।

‘करिब दुईतिहाइ मत प्राप्त गरेको नेकपाको सरकार। संविधानअनुसार नै हिँडेको भए राम्रो हुन्थ्यो। संविधानको बाटो छोडेर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो । प्रधानमन्त्रीले संविधानको बाटो हिँडेको भए अस्थिरताको भुमरीमा देशको राजनीति फस्दैनथ्याे।’

ओलीले पार्टीभित्रको व्यवस्थापन गर्न नसक्दा रिस हुँदै नभएको अधिकार प्रयोग गरी संसद् भंग गरेको भन्दै असंवैधानिक कदम चालेर आफूले गरेको काम सही हो भन्न ओली देश दौडाहमा निस्किएको उनको भनाइ छ ।

‘उहाँ (ओली) आफ्नो कदम सही हो भन्दै जिल्लातिर गइरहनुभएको छ। जनता त्यति मूर्ख छैनन्,’ उनले भने, ‘संविधानको धारा १०० अनुसार विश्वासको मत लिएको भएत उहाँकै नेतृत्वको सरकारले निरन्तरता पाउने थियो नि । किन संविधानभन्दा बाहिर गएर कदम चाल्नुभयो त ?’

उनले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्मअनुसार गर्नेमा आफू विश्वस्त रहेको बताए।

असंवैधानिक कदम नसच्चाए मुलुकको राजनीति अँध्यारो सुरुङमा फस्ने सिंहको भनाइ थियो।

उनले स्वास्थ्य सामग्री खरिद, ओम्नी काण्ड, यती काण्डलगायतका दर्जनौँ काण्डमा फसेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए।

‘सरकार सुशासन दिनेमा होइन, कुशासनमा सफल भएको छ। त्यसको पुष्टि ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले गरेको छ,’ सिंहले भने।

सुझावित समाचार