मकुनालाई बचाउन सकिन्छ कि ?

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण
मकुनालाई बचाउन सकिन्छ कि ?

तस्बिर सौजन्य : वीरेन्द्र गौतम

घटना त्यस्तै ०४८ कात्तिक–मंसिरतिरको हो । त्यतिखेर म रेन्जर पदमा कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा कार्यरत थिएँ । त्यसै समयमा तीनवटा परिपक्व उमेर (दुई दाह्रे र एक दाह्रा नभएको जसलाई मकुना भनिन्छ) जंगली भाले हात्ती जंगलबाट निस्केर फत्तेपुर बजार क्षेत्रमा उद्दण्ड मच्चाउन थाले, जहाँ सरकारी हात्तीसारसमेत रहेको थियो । घरपालुवा हात्तीका कारण जंगली हात्ती आएको भन्ने बुझाइले फत्तेपुरवासीले हात्तीसहित हात्तीसारका कर्मचारीलाई लखेटे । घरपालुवा हात्ती आरक्ष कार्यालय, कुसाहामा ल्याइए । जंगली हात्तीहरू पनि फेरि केही दिनमै आरक्ष कार्यालयको सुनसरीतर्फको बस्तीमा आएर गाउँलेको भाषामा भन्नुपर्दा उद्दण्ड मच्चाउन थाले । हात्ती दिनभरि कि त आरक्षको जंगलमा गएर बस्ने कि त गाउँलेको उखुबारीमा गएर बस्ने गर्थे । तर, रात परेपछि गाउँतिर आहाराको खोजीमा निस्कने गर्दथे । गाउँले रातभरि नै हाहा....होहो गरी टिन बजाएर हल्लाखल्ला गर्दै रात कटाउँथे । ती हात्तीले कहिले कसैको धान खाइदिने, कहीँ कसैको घर भत्काइदिने गर्थे । धन्न, त्यस वेलामा ती जंगली हात्तीले कुनै पनि मानिसको ज्यान लिएनन् । यो क्रम झन्डै एक हप्ताजति चलिनै रह्यो । आरक्षमा रहेका पाल्तु हात्तीहरू कोसी बराजमा पठाइयो, त्यहाँ पनि जंगली हात्तीहरू पुगिहाले । पुनः आरक्षका पाल्तु हात्ती कोसी बराजबाट कुसाहापारिको आरक्षको बगरमा पठाइयो ।

आरक्षमा रहेका पाल्तु हात्तीसहितको आरक्षको टिम, सुरक्षा निकाय र स्थानीयको प्रयासले समेत हात्ती भगाउन नसकेपछि तत्पश्चात् चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र जावलाखेलस्थित सदर चिडियाखानाका पशु चिकित्सकहरू तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वन्यजन्तु प्राविधिकहरूसहितको टोलीले डार्ट गरी तीन हात्तीमध्ये एक मकुना हात्तीलाई कोसीटप्पु वन्यजन्तु आरक्षको कुसाहा गाउँपारिको कोसीको बगरमा नियन्त्रणमा लिने काम भयो किनकि पाल्तु हात्तीहरू आरक्ष कार्यालयसँगै राखिएकाले जंगली हात्तीहरू आएका हुन् भन्ने जनमानसको बुझाइ थियो र आरक्ष कार्यालयले आफ्ना पाल्तु हात्तीहरू सो बगरमा पठाएको थियो । हात्तीसारका कर्मचारीले १३२ केभी बिजुलीको टावरको मुनी आश्रय लिएका थिए जहाँ ठूलो हात्ती पस्न सक्दैनथ्यो ।

उक्त मकुना हात्ती आरक्षका ढोई हात्तीको पछि लाग्दै त्यहाँ आउँछ नै भन्ने अनुमान थियो जो सही ठहरियो । बिजुलीको टावरमुनि ६ फिट बाढीले खोलेको स्थानमा बसी हात्तीलाई डार्ट गरियो, तर हात्ती करिब एक किलोमिटर पर गई काँसघारीमा बेहोस भई सुत्यो जहाँ कुनै रूखहरू थिएनन् हात्ती बाँध्नका लागि । त्यसैले सुकेका रूखका ठूटाहरू खोजेर ल्याइयो, र खाडल खनी त्यसभित्र राखियो । हात्तीको चारै खुट्टाहरू बाँस (चोयाको डोरी) र जुटका डोरीले बाँधी खाल्टोमा राखिएका काठका मुडामा अल्झाई खाल्टो पुरियो । त्यहाँ हात्तीलाई ख्याउने पानीको स्रोत जमिनमुनि मात्र थियो त्यसैले नियन्त्रणमा लिएको भोलिपल्ट जेनेरेटर र धारा गाड्ने प्रबन्ध मिलाइयो र लामो पाइपको प्रयोग गरी पानी खुवाइयो । तर, सो काम गर्दा हात्तीले सबै कार्यरत मानिसलाई झम्टिरहन्थो ।

पर्सिपल्ट अनुगमन गर्न जाँदा हात्ती त्यहाँ थिएन । मुडाहरू र गाडेको पानीको कल पनि उखेलिएका थिए । खोज्दै जाँदा कोसी नदीको पश्चिम भंगालोको बगरमा हात्ती भेटियो । हात्तीको खुट्टामा छनुवा लागेकै थिए, तर बाँसको डोरी चपाएर छिनाएको देखियो । पछाडि खुट्टामा बाँधेका डोरी र काठका मुडाहरू घिसारेर हात्ती हिँड्दै थियो ।

तत्पश्चात् हात्ती कोसी नदीको पश्चिमी बगरको दलदलबाट अग्लो सुक्खा स्थानमा निस्किएपछि मात्र पुनः नियन्त्रणमा लिन सकिने देखियो । करिब १५ किलोमिटरजति दुवै खुट्टा उफार्दैउफार्दै, चर्दै गरेर करिब १९ दिन लगाएर कोसी बगर र त्रिजुगा नदीको दलदल क्षेत्र कटेर आरक्षको सप्तरीतर्फ रहेको कमलपुर गाउँमा पुग्यो । गाउँमा तहल्का मच्चियो । पुनः एउटा बाँसको झ्याङतल हात्तीलाई नियन्त्रणमा लिइयो र चारै खुट्टा चेनले बाँधी खाल्टो खनी मुडाहरू राखी हात्तीलाई स्थिर गराइयो । 

त्यसबखत हात्ती नियन्त्रण गरी तालिम दिई आरक्षको घरेलु हात्तीजस्तै बनाई प्रयोगमा ल्याउने योजना रहेको थियो । तर, सो हात्तीलाई अगाडि र पछाडिका चारै खुट्टामा फलामे ट्युचनले नटबल्टु कसी बाँधेर राख्दा पनि मानिससँग रिझाउने काम गर्न सकिएन । हात्तीसँग रिमझिमका लागि कुची (काँसको घाँसभित्र धान, सख्खर नुन राखेर बनाएको दानाको डल्लो) लिएर महिनौँसम्म हात्ती नजिक जाँदा सधैँ दुईवटा खुट्टा उफ्रेर झम्टन आइहाल्थ्यो । हात्तीले नजिकैको बाँस तानेर खाई ध्वस्त पा¥यो र अन्य दुई जंगली दाह्रे हात्तीहरू केही दिनमा कमालपुर नै पुगे । गाउँलेले काटेर घर लैजान ठिक्क पारेर धानका बोझा उठाएर बाँधिएको मकुना हात्तीलाई खान दिएको देखियो साथै अगाडिको खुट्टाको डोरी छिनाइदिएको र सुँढमा समातेर आफूसँग लैजान बल गरेको पनि देखियो । तर, हात्तीले बन्धनमुक्त हुन लगातार बल गर्ने गरेकाले ट्युचन खुट्टाको भित्रीभागसम्म गड्दै गयो र खुट्टा सुन्निए, घाउ भयो, घाउमा किरा परे । पुनः बाध्य भएर उक्त हात्तीलाई डार्टबाट बेहोस बनाई उपचार गरियो । केही समयमा फेरि समस्या जस्ताको तस्तै भएकाले सबै दर्शकले उक्त हात्तीको अवस्था देखेर हात्तीलाई बन्धनमुक्त गरिदिन दबाबसमेत दिन थाले । करिब एक महिनापश्चात् पुनः सो हात्तीलाई बेहोस बनाई उपचार गरी आरक्षमा छोडिएको थियो । सुनसरी र सप्तरी जिल्लाका स्थानीय र प्रशासनिक दबाबका कारण आरक्षका हात्तीहरू किसन चौधरी सुब्बाले चितवनतिर प्रस्थान गराइसकेका थिए । चितवन राष्ट्रिय निकुन्जको अमृते भन्ने स्थानमा कोसीटप्पुका हात्तीहरू ल्याएर राखियो । निचोडमा भन्नुपर्दा परिपक्व जंंगली हात्तीहरूको बल सहजै अनुमान गर्न सकिन्न र तिनीहरूलाई नियन्त्रणमा लिएर तालिम दिएर काममा लगाउने कुरा असम्भव नै हुने कुरा त्यसबखत महसुस गरिएको थियो । त्यस समयपछिका फाटफुट हात्ती नियन्त्रणका घटनाहरू पनि विनाउपलब्धि नै सकिएका थिए ।

हालसालै सोही प्रकृतिका घटना ३० वर्षपछि पुनः सोही स्थानमा अर्को मकुना हात्तीले बस्तीमा घर भत्काई मानिससमेत मारी उद्दण्ड मच्चाएको खबर विभिन्न सञ्चारमाध्यममा सुन्नमा आएको पाइन्छ । हात्ती बौलाएर मान्छे मार्न थाल्यो, यसलाई मार्नुप¥यो भन्ने कुराले सामाजिक सञ्जाल नै तताइदियो । हात्ती समूहमा बस्ने प्राणी भए पनि कतिपय अवस्थामा मत्ता (भाले) एक्लो हिँड्ने गरेको भेटिन्छ । तुलनात्मक हिसाबले हेर्दा समूहका हात्तीभन्दा एक्लो भाले हात्ती बढी आक्रामक हुने गर्छ । यस्ता हात्तीमा वेलाबखतमा कञ्चटबाट तरल पदार्थ (माद) निस्कन्छ जसलाई टेस्टोस्टेरोन हर्मोन भनिन्छ भने यस्तो अवस्थामा रहेको हात्तीलाई मात लागेको वा मस्तमा रहेको बुझिन्छ । यसले हात्तीलाई अरू हात्तीको सामान्य अवस्थाभन्दा ६० गुणा बढी उत्तेजित बनाउँछ र यस समयमा बढी मात्रामा पोथीसँगको सहवासको प्रक्रियामा सक्रिय रहन्छन् । यस्ता वेलामा भाले हात्तीहरू सामान्यभन्दा बढी आक्रामक हुने गर्दछन् र हामीलाई लाग्दछ हात्ती बौलायो । यो मत्ता हात्तीमा हुने प्राकृतिक गुण हो । त्यसैले वेलाबखतमा हामी अनुशासित नहुँदा हात्तीले उद्दण्ड देखाउँछ । यस्ता विषयमा स्थानीयलाई जानकारी गराउनुपर्छ ।

हाल हात्तीलाई मार्नुप¥यो भन्ने चर्को दबाब आरक्षमाथि रहेको छ । आप्mनो अनुकूलअनुसार प्रकृतिका वरदानलाई हामीले गुमाउँदै जाने हो भने हामी मानव पनि कहाँ रहुँला र ? हाल हात्तीमा विद्यावारिधि गरिरहेका अशोक रामका अनुसार केही गरी हाल सो मकुनालई नियन्त्रण गरिहाले पनि वा हात्ती मारिनै हाले पनि त्यस क्षेत्रमा १४ वटा अन्य हात्ती छन् जसमध्ये एउटाले पक्कै मकुनाको स्थान लिनेछ र अहिले मकुनाले गरिरहेको क्षतिभन्दा बढी क्षति हुन सक्ने सम्भावना पनि निकै प्रबल रहेको छ जुन अवस्था राज्य र जनताका लागि निकै नै चुनौतीपूर्ण हुन सक्ने अवस्था रहन्छ ।

हात्ती मारेर त यो समस्या कहिल्यै समाधान हुनेवाला छैन । अब रह्यो हात्तीलाई केवल नियन्त्रणमा लिने हो भने यो क्षणिक मात्र हुने र माथि उल्लेखित घटना जस्तै हुन आउने देखिन्छ । के यसले दीर्घकालीन उपाय दिन सक्छ ? दिन सक्ने भए तीन दशकपछि पनि यस्ता घटना ज्युँका त्युँ किन छन् ? हात्ती शाकाहारी प्राणी हो, किन उसले मान्छे मार्छ ? यदि हात्तीले ताकेर मान्छे नै खोजी–खोजी मार्ने भए पहिला आरक्षका कर्मचारीलाई मार्ने थियो किनभने आरक्षमा त्यस्तो हात्तीलाई नै रोकथाम हुने कुनै छेकबार छैन, छ त केवल हात्तीबाट के–कसरी बच्नुपर्छ भन्ने अनुशासन र सतर्कता । त्यसैले नै कर्मचारीहरू सुरक्षित भएका हुन् भन्ने आरक्षको ठम्याइ रहेको छ । कोसीमा बाढी आउँदा स्थानीय बासिन्दाले बढी सतर्क, सचेत र सुरक्षाका सबै नीति अवलम्बन गरेको पाइन्छ, त्यो सबैले बुझेको कुरो हो । तर, जंगली हात्तीले उद्दण्ड मच्चाइरहेको छ भन्ने कुरा ख्याल–ख्यालमा उडाएर किन सतर्क बन्दैनौँ ? यो कसको कमजोरी हो, मानवको हो कि हात्तीको हो ? सबै दोष हात्ती वा आरक्षलाई मात्र थोपर्न मिल्छ ? मानिस पृथ्वीमा पाइला टेक्नुअघि यो पृथ्वी वन्यजन्तुहरूको नै थियो । जब धर्तीमा मानिसको अस्तित्व कायम भएपछि उनीहरूको भूमिमा हामीले कब्जा जमायौँ । आप्mनो पुर्खा हिँडेको स्थानमा हिँड्नु उसको गल्ती हो कि उसको घरमा हामीले कब्जा जमाउनु हाम्रो गल्ती हो ? पानीमुनि हामी बस्ने अनि गोहीले बस्न दिएन भनेर हामीले कोलोहोलो मच्चाउन मिल्छ ? यो धर्ती उसको पनि हो भन्ने कुरामा हामीले पनि ख्याल राख्नुपर्छ । त्यसैले यो पृथ्वी साझा घर हो भन्ने बुझाइले एकसाथ बस्न हामी सतर्क र सचेत हुनैपर्छ । छिटफुट घटना–दुर्घटना कहाँ छैन ? दैनिक सडक दुर्घटनाबाट मान्छेको मृत्यु भएकै छ, खै त्यहाँ हंगामा ? हो, त्यसैले वन्यजन्तुसँग मित्रता कायम गरेर बस्नुको मानवका लागि अर्को विकल्प छैन ।

अतः आजको युगमा समाजका हरेक तहतप्कामा संरक्षण गर्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको छ । मकुना हात्तीलाई जे–जसरी भए पनि बचाउनुपर्छ र बचाउने कर्तव्य हो भनेर स्थानीय समुदायहरू सक्रिय भएर लागेको पाइन्छ । यो खुसीको कुरा हो । आरक्षले पनि आप्mनो कर्म र धर्म छोडेको छैन । हात्ती गाउँतर्फ ननिस्कियोस् भनेर भइरहेको १७ किलोमिटर सोलार तारबारलाई मर्मतसम्भार गरी चुस्तदुरुस्त राखेको छ जसको दैनिक रेखदेखका लागि मानिस खटाएको छ । हात्तीलाई आरक्षतर्फ नै रोकिराख्न रातको समयमा आरक्षका कर्मचारी, नेपाली सेनासहितको टोलीले कोसी बाँधमा ट्र्याक्टर कुदाएर भए पनि हात्ती लखेट्ने र केही गरी हात्ती बाहिर निस्किहाले आरक्षभित्र धपाउने काम स्थानीयको समन्वय र सहकार्यमा समेत भइरहेको छ । हात्तीले अटेर गरेको अवस्थामा भने हात्तीलाई डार्ट गरी नियन्त्रणमा ल्याउने वन्यजन्तु चिकित्सकसमेतको टोली विगत एक महिनादेखि नै कार्यक्षेत्रमा खटिनै रहेको छ । अझ त्यसलाई सशक्त बनाउन अबको पाटो भनेको टोलटोलमा हात्तीको सूचना प्रवाह गर्ने स्थानीय युवाहरूको सशक्त दस्ता खडा गरी जनधनको क्षतिलाई रोकथाम गर्ने नीतिको अवलम्बन गर्ने जसको नेतृत्व आरक्ष स्वयंले लिनुपर्ने जसलाई स्थानीय सरकार, समाजका हरेक विभिन्न तह र तप्कामा रहेका नागरिक समाजका प्रबुद्ध व्यक्तिहरू, स्थानीय राजनेतृत्वहरूबाट समन्वय, सहकार्य र सहयोग भएको खण्डमा मकुनालाई बचाउन सकिन्छ कि ? 

(खड्का चितवन राष्ट्रिय निकुन्ज कार्यालयमा सहायक संरक्षण अधिकृत पदमा कार्यरत छन् ।)

सुझावित समाचार