प्रधानमन्त्री केपी ओलीले विघटित प्रतिनिधिसभा कुनै हालतमा पुनर्स्थापना नहुने आफ्नो पुरानै अडान दाेहोऱ्याएका छन् ।
शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्धारित मिति वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने ठोकुवा गरे । उनले निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी थालेकोसमेत बताए ।
आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद् विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेकाले कुनै पनि हलतमा पुनर्स्थापना नहुने उनकाे तर्क थियाे ।
उनले भने, ‘६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन् । त्यसैले ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’ उनले भने, ‘अब प्रतिनिधिसभा पुनर्स्थापना हुने अर्को विकल्प छैन। अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधिसभा नै हो।’
प्रधानमन्त्री ओलीले चुनावमा गलत र राष्ट्रघाती तत्वलाई तलैबाट तह लगाउन जनतालाई आग्रह गरेका छन् । ‘खराब तत्वहरूलाई तलैबाट हत लगाउनुहोस्, माथि गए भने तिनले फेरि समस्या पार्छन्, दुःख दिन्छन् । तिनीहरूलाई तह लगाउनु भनेको भोट नहाल्नु हो, मत नदिनु हो, नदिनुहोस् । मैले हस्ताक्षेर गरेर पठाएका उम्मेदवारलाई भोट दिनुस् । त्यसको जिम्मा म दिन्छु, देश विकासको जिम्मा दिन्छु ।’