उखु किसानको बक्यौता असुलीमा ढिलासुस्ती

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

२१ दिनभित्र उखु किसानको ६६ करोड रुपैयाँ बक्यौता उठाउने सर्तमा आन्दोलन स्थगित भएको एक साता बित्दा पनि उद्योगीबाट ठूलो रकम असुली हुन सकेको छैन । १३ पुसमा किसानसँग आन्दोलन स्थगित गर्ने सहमति हुनुअघि उद्योगीले ३३ करोड ५० लाख बक्यौता किसानको खातामा हालिदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको थियो ।

त्यतिखेर रौतहटको श्रीराम सुगर मिलले २६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलले २ करोड र अन्नपूर्ण तथा इन्दिरा सुगर मिलले साढे ५ करोड रुपैयाँ किसानहरूलाई भुक्तानी दिएका थिए । त्यसपछि बाँकी रहेको ३२ करोड ५० लाख २१ दिनभित्र दिलाउने सहमति भए पनि किसानको खातामा पैसा नआएको उखु किसान संघ, नवलपरासीका महासचिव गोपाल यादवले बताए ।

उनले भने ‘सहमति भएको एक साता अवधिको पछिल्लो २–३ दिनयता लुम्बिनी चिनी मिलले प्रतिदिन ५० लाख रुपैयाँका दरले भुक्तानी दिइरहेको छ ।’  उखु किसानका संरक्षक राकेश मिश्रका अनुसार सहमती भएको एक साता बित्दा पनि थप रकम निकासा भएको छैन ।

मंगलबारबाट भुक्तानी गर्ने बताएपनि किसानको खातामा पैसा गएको छैन । ‘उद्योगीको खाता रोकेर सरकारले कारबाही अघि बढाएको कुरा आएको छ, तर उद्योग मन्त्रालयसँग बुझ्दा किसानलाई बुझाउनुपर्ने रकम तिर्नका लागि प्रयोग हुने खाता रोक्का भएको छैन भनिएको छ’ मिश्रले भने ‘ उद्योगी र मन्त्रालयको कुरा बाझिदा किसानले बक्यौता रकम पाउन शुरु भएको छैन ।’ कार्यदल गठन गर्ने काम पनि अहिलेसम्म अघि नबढेको उनले बताए । 

लुम्बिनी चिनी मिलका सञ्चालक महेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि प्रतिदिन ५०–६० लाख रुपैयाँका दरले किसानको खातामा पैसा पठाउने सहमति गरी उनी छुटेका थिए । सोही सहमतिअनुसार अहिले किसानलाई दैनिक ५० लाख रुपैयाँका दरले पैसा दिइरहेको यादवले बताए । लुम्बिनी चिनी उद्योगबाट किसानले ८ करोड पाउन बाँकी रहेको सरकारी तथ्यांक छ । अहिलेसम्म उद्योगले मुस्किलले साढे ३ करोड भुक्तानी गरेको किसानहरूले बताएका छन् । 

सबैभन्दा धेरै बक्यौता रहेको सर्लाहीको अन्नपूर्ण सुगर मिल र नवलपरासीको इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालले भुक्तानीमा ढिलाइ गरिरहेका छन् । सरकारले उनलाई पक्राउ पुर्जी जारी गरेपछि साढे ५ करोड दिएका थिए । त्यसपछि राष्ट्र बैंकको निर्देशनमा उनका नाममा रहेका सबै खाता रोक्का भएका थिए ।

‘पक्राउ पुर्जी जारी भएपछि राकेश अग्रवालका खाता रोक्का भएका रहेछन् । त्यसैले भुक्तानी गर्न पाइनँ भन्ने कुरा आएपछि मन्त्रालयसँगको समन्वयमा सोमबार अग्रवालका खाता सुचारु भएको सुनेका छौँ,’ यादवले भने । सरकारी तथ्यांकअनुसार अग्रवालको अन्नपूर्ण सुगर मिलले १७ करोड र इन्दिरा सुगर मिलले ५ करोड रुपैयाँ किसानलाई दिन बाँकी छ ।रौतहटको श्रीराम सुगर मिलले भने करिब २७ करोड भुक्तानी दिएर बन्द गरेको छ । सरकारी तथ्यांकअनुसार सो उद्योगले ३६ करोड भुक्तानी गर्न बाँकी छ ।

सुझावित समाचार