अन्तिममा त्यो भइछाड्यो । बिहीबार मध्यरातभन्दा केही अघिबाट युरोपेली संघबाट ब्रिटेनको बहिर्गमन सम्पन्न भयो । ४७ वर्षसम्म संघमा रहेर बेलायतले अलग मार्ग चयन गरेको छ । आगामी दिनको ब्रिटिस राजनीतिलाई यस बहिर्गमनले प्रभाव पार्नेछ । त्यस्तै, विश्व मञ्चमा समेत ब्रिटेनको भूमिका कम हुनेछ । ढिलो गरी एउटा आर्थिक सम्झौता भएको छ, तर पनि संघबाट भएको बहिर्गमनले केही आर्थिक क्षति पार्न सक्छ ।
मलाई ब्रिटेनको बहिर्गमनले अत्यन्त व्यक्तिगत सम्झना पुनर्ताजगी गराइदियो । मेरा हजुरबुबा–हजुरआमा विश्वयुद्ध सुरु हुनुअघि नाजीहरूबाट बचेर बेलायत बस्न थालेका थिए । उनीहरूसमेत बेलायतको आजको स्थिति देख्दा रुन्थे होलान् । आन्तरिक रूपमा तीव्र ध्रुवीकृत बेलायतले भविष्यको मार्ग भुलेको छ ।
म आफ्नो परिवारको मुक्तिस्थल भएको देशको अवसानमा शोक मनाइरहेको छु । मेरा हजुरबा–हजुरआमा सन् १९३९ मा एक राज्यविहीन शरणार्थीका रूपमा बेलायत आएका थिए । उनीहरू यस भूमिमा आएपछि प्राप्त सुरक्षाका लागि ऋणी थिए, साथमा उनीहरू यो भूमिको खुलापन, विनयी र सहिष्णुताका मूल्यप्रति पनि उत्तिकै कृतज्ञ थिए । त्यसैले, पनि उनीहरू युद्ध सकिएपछि यस देशको अंगीकृत नागरिक बन्न हतारिएका थिए ।
एक मित्रलाई लेखेको पत्रमा मेरा हजुरबुबाले आप्रवासी रूपमा समेत आफूहरूले ‘उदार सत्कार तथा स्वतन्त्रता’ पाएको लेखेका थिए । मेरा अभिभावकको पुस्ताले आफूलाई अँगाल्ने देशलाई आफूले सक्ने सबै दिए । उनीहरूले सुरुमा जर्मनविरोधी पूर्वाग्रह सामना गरे तापनि तिनले बेवास्ता गर्न सक्ने हदसम्म थियो ।
सन् १९८० को दशकमा मेरा पिता र अन्टीले बेलायतलाई दिएको योगदानका कारण रानी एलिजाबेथ द्वितीयाको हातबाट सम्मानित भए । तर, विगतको खुला तथा सहनशील राष्ट्र अहिले पछाडिको यात्रामा छ । सन् २०१६ मा युरोपेली संघ छाड्ने मतदानसँगै बढेको आफूहरू विशेष हौँ भन्ने राष्ट्रवादी भावना आप्रवासीविरुद्ध पूर्वाग्रह बनेर प्रस्फुटन भइरहेको छ ।
नश्लवाद तथा जातिवादले मूलधारमा टाउको उठाउने अवसर पाएको छ । अन्तर्राष्ट्रिय मानसिकता भएका मानिसहरूलाई मार्गरेट थ्याचरले भन्ने गरेजस्तै ‘कतैको पनि नागरिक नभएको’ आरोप लाग्ने जोखिम उत्पन्न भएको छ । कुनै समय राज्यविहीन रहेको मेरोजस्तो परिवारका लागि यो परिचयले निकै बिझाउँछ ।
सन् २०१६ को जनमतसंग्रहयता ब्रिटिस सरकारले देशभित्रका ३५ लाख युरोपेली संघका नागरिकलाई परायाजस्तो व्यवहार गरिरहेको छ । सरकारले यो समुदायलाई संघसँगका वार्तामा बार्गेनिङ कार्डका रूपमा प्रयोग गरिरहेको छ । यस्ता मानिसले ब्रिटिस समाजमा ठूलो योगदान गरिरहेका हुन्छन् ।
प्रायः उनीहरूलाई बैंकरका रूपमा ब्यंग्य गरिए पनि ठूलो संख्याका आप्रवासी चिकित्सकीय स्टाफ, विश्वविद्यालय शिक्षक तथा व्यवसायी छन् । उनीहरूविना ब्रिटेनको ओज नै घट्छ । तर, तिनको ठूलो संख्याले सन् २०२० मा बेलायत छाडेको देखिन्छ । र, राजनीतिक क्षय सुरु भएको छ ।
मेरा हजुरबुबा–हजुरआमा नाजी शासनबाट उम्किन, जर्मनीबाट भागेर बेलायत आएका थिए, तिनले आज यो मुलुक देखेको भए रुने थिए
प्रधानमन्त्री बोरिस जोनसनको नेतृत्वमा सरकारले संसदीय प्रक्रिया र अन्तर्राष्ट्रिय सन्धिसँग गैरजिम्मेवार रूपमा खेलिरहेको छ । अक्टोबरमा मुडिज नामक संस्थाले बेलायतको कार्यकारी तथा संसदीय संस्थाको गुणस्तरमा ह्रास आएको भन्दै ब्रिटेनको क्रेडिट रेटिङ घटायो । नैतिक मापदण्डमा पनि धक्का लागेको छ । सरकारले निजामती क्षेत्रको कार्यस्थलमा हुने विभेदमा आँखा चिम्लेर बसेको छ । सार्वजनिक सम्झौता प्रदान गर्ने कुरामा पनि क्रोनिवाद घुसेको छ ।
राष्ट्रपति ट्रम्पका विषयमा अमेरिका जति विभाजित छ, बेलायत पनि त्यत्ति नै विभाजित छ । झन्डै आधा जनसंख्याले ब्रेक्जिटको विपक्षमा मत हालेका थिए । मजस्तै धेरै आक्रोशित र स्तब्ध छन् । तर, अमेरिकाले जो बाइडेनलाई जिताएसँगै ट्रम्पले निम्त्याएको विकारबाट मुक्ति पाउँदै छ, तर ब्रेक्जिट त उल्टिनेछैन । मैले मेरो जीवनकालमा धेरै युरोपेली देशमा जीवन बिताएको छु, म आफूलाई ब्रिटिस र युरोपियन दुवै ठान्छु । यसमा कुनै विरोधाभास थिएन ।
दुई पहिचान एक–अर्काको परिपुरकजस्तो लाग्थ्यो । तर, ब्रेक्जिटले ब्रिटिस र युरोपियन एकैपटक हुन असम्भव बनाएको छ । म पुनः अनाथ भएको महसुस गरिरहेको छु । युरोपसँगको सम्पर्क टुट्ने डर र ब्रिटेनले आगामी दिनमा लिने अनिश्चितापूर्ण मार्गबाट आत्तिएर मैले विगतमा कल्पना पनि नगरेको निर्णय लिएँ, मैले जर्मन नागरिकताका लागि निवेदन दिएँ । नश्लीय वा धार्मिक कारणले नागरिकता गुमाएको पुस्ताका नातिका रूपमा मलाई जर्मन संविधानले यस्तो बाटो खुलाएको थियो । मैले आफ्नो निर्णयलाई हल्का लिएको छैन ।
म आफ्नो परिवारमाथि परेको कुरा कहिले पनि बिर्सिन सक्दिनँ । मेरा हजुरबुबाका दिदी ओसविचमा मारिए । अन्य धेरै नातेदार पनि नाजीको शासन अवधिमा मारिए । तर, जर्मनी विगतको भन्दा धेरै बदलिएको छ । यो प्रत्यक्ष अनुभव गर्न सकिन्छ । वर्तमान जर्मन राज्यले नाजी शासनको अवधिमा भएका बर्बरताको बारम्बार आत्मालोचना गर्ने मात्र होइन, उल्लेख्य काम पनि गरेको छ ।
केही हिसाबमा भूमिका बदलिएको छ आज, जर्मनीले आप्रवासीलाई आफ्नो ढोका खोल्न थालेको छ । जर्मन चान्सलर विश्वव्यापी मूल्यको प्रतिरक्षामा मुखर रहने गरेकी छिन् । उनमा विनयता र सम्मानको झल्को देखिन्छ । ब्रिटेन उसको पूर्ववैभवको छायामा बदलिएको छ । ८० वर्षपछि, म इतिहासको एक चक्रलाई बन्द गर्न गइरहेको छु । जन्मका आधारमा ब्रिटिस, बिरासत र सोचका हिसाबमा युरोपियन म अझै ब्रिटिस हुनुमा गर्व गर्छु, साथमा म जर्मन हुनुमा पनि गर्व गर्छु । मेरा हजुरबुबा हजुरआमा तथा अभिभावकले मेरो निर्णयमा सहमति जनाउलान् भन्ने मलाई लाग्छ ।
पिटर गुम्बेल पत्रकार र लेखक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य