काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए)ले खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ शुक्रबार एकेडेमी स्थापना गरेको छ । एकेडेमीमा ब्याडमिन्टन खेलमै आबद्ध तथा पूर्वराष्ट्रिय खेलाडी रहेका छन् । एकेडेमीको अध्यक्षमा रीता अधिकारी विष्ट छिन् । नेपालको महिला ब्याडमिन्टन खेल इतिहासकै पहिलो पुस्ताकी खेलाडी विष्ट २०३१, ०३२ र ०३४ मा महिलातर्फ राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।
केबिएको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षसमेत थापाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । सन् २०१६ मा रियो ओलम्पिकमा निर्णायक भूमिका निर्वाह गर्ने थापा एक मात्र नेपाली अम्पायर हुन् । स्थापनाको परिकल्पना गरेका थापाले एकेडेमीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय गर्नेछन् ।
यसैगरी एकेडेमीको संस्थापन सदस्यमा शान्ति मानन्धर छिन् । उनी २०३७, ०३९ र ०४० मा राष्ट्रिय च्याम्पियन बनेकी थिइन् । उनले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् । केबिएले ट्रेनिङ हलका लागि शुक्रबार एक कार्यक्रमबीच बुल्स इन्डोर स्पोर्टस् हल नक्खुसँग सम्झौता गरेको छ । यो सम्झौता दुई वर्षको रहेको सचिव थापाले बताए । केबिएका थापा र बुल्सका सिओओ करण पुनले हस्ताक्षर गरेका छन् । केबिएमा खेलाडीलाई ट्रेनिङ र प्रतियोगितामा बढीभन्दा बढी अवसर दिने विश्वासका साथ स्थापना गरिएको थापाले बताए ।
यसैगरी एकेडेमीका उपाध्यक्ष रूपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ छन् । सचिव थापाले एकेडेमीको लक्ष्य नै व्यावसायिक खेलाडी उत्पादनमा केन्द्रित जनाए । ‘एकेडेमीमा आउने सबै खेलाडीकै स्तरोन्नतिको लागि हुनेछ,’ थापाले भने, ‘हाम्रा विद्यार्थीलाई उच्च तहमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र उनीहरूलाई समुदाय र ब्याडमिन्टन जगत्कै उत्कृष्ट नमुना खेलाडीको रूपमा स्थापित गराउने पनि लक्ष्य हो ।’
सचिव थापाले एकेडेमी महत्वाकांक्षी खेलाडीलाई ट्रेनिङ र प्रतियोगितामा बढीभन्दा बढी अवसर दिने विश्वासका साथ स्थापना गरिएको जनाए । उनका अनुसार खेलाडी उत्पादनमा प्रभावशाली देखिएका स्वदेश तथा विदेशका उत्कृष्ट प्रशिक्षकबाट एकेडेमीमा खेलाडीहरूलाई ट्रेनिङ दिइनेछन् ।