रामेछापमा एक घर एक पशुबिमा अभियान

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

रामेछाप नगरपालिकाले किसानहरूलाई कृषि पेसातर्फ आकर्षित गर्न एक घर एक पशुबिमा कार्यक्रमको अभियान सुरु गरेको छ । नगरपालिकाले गत आव ०७६/७७ बाट वडा नं ७, ८ र ९ का किसानहरूले पालेका पशुको निःशुल्क बिमा कार्यक्रम अघि बढाएको थियो । चालू आवमा नगरभित्रका ९ वटै वडामा पुर्याउने योजना छ ।

पशुबिमा गर्न रामेछापका एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीलाई जिम्मा दिएको छ । पशुको निःशुल्क रूपमा बिमा कार्यक्रमले किसानहरू आकर्षित भएको रामेछाप नगरपालिका वडा नं ७, सुकाजोरका किसान पूर्णबहादुर खत्रीले बताए ।

उनले भने, ‘नगरपालिकाले सुरु गरेको अभियान किसानका लागि एकदमै राम्रो छ । तर, एक घर एक पशु मात्रै बिमा गर्ने काम भयो । यसलाई बढाएर किसानले पालेका सबै पशुको बिमा गरिदिए किसानहरूलाई थप सहज हुने थियो ।’ नगरपालिकाले सबै पशुको बिमा गर्न नसकेमा किसानहरूले व्यहोर्न तयार रहेको उनले बताए । 

थोरै रकमबाट गरिएको बिमाबाट किसानहरूले आर्थिक क्षति व्यहोर्नुनपर्ने भएकाले सबै पशुको बिमा गराउन सके लाभ हुने एनएलजी इन्स्योरेन्स रामेछापका प्रमुख मोहन धमलाले बताए । उनले भने, ‘रामेछाप नगरपालिकाका केही वडाका किसानहरूको पशुबिमा गरेपछि केही पशुहरू बिरामी परेर मरे । मरेका केही पशुहरूको बिमा रकमबापतको रकमसमेत हामीले सम्बन्धित पालिकाको रोहबरमा किसानलाई हस्तान्तरण गरेका छौँ । यसबाट पनि अन्य किसानहरूलाई आफूले पालेको पशुको बिमा गराउनुपर्ने रहेछ भन्ने अनुभूति बढेको छ ।’  

रामेछाप नगरपालिकाले भने आगामी वर्षबाट किसानले पालेका सबै पशुहरूको बिमा गराउने गरी योजना अघि बढाउने जनाएको छ । पालिकाले पहिलो चरणमा परीक्षणका क्रममा गरेको यो कार्यक्रम प्रभावकारी भएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । आगामी वर्ष यसलाई थप निरन्तरता दिँदै अघि बढाउने र आवश्यक बजेटको समेत व्यवस्थापन गर्ने उनले बताए ।

See More On

सुझावित समाचार