कर्णाली प्रदेश सरकारले मुगु, जाजरकोट, कालिकोट, डोल्पा र हुम्लामा एकीकृत बस्ती (७०२ घर) निर्माणका लागि २३ करोड ३० लाख रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । बाढीपहिरोपीडित र घरबारबिहीन भएकाका लागि एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत घर बनाउन रकम निकासा गरेको हो ।
एकीकृत बस्ती निर्माणका लागि मुगुको खत्याड गाउँपालिका वडा नं. ८ र १० मा ०७६/७७ एकीकृत बस्तीको अधुरो आयोजनाका लागि दुई करोड, जाजकोटको जुनीचाँदे गाउँपालिका–७ मा ०७६/७७ एकीकृत बस्तीको अधुरो आयोजनाका एक करोड, कालिकोटको रास्कोट नगरपालिका–७ मा एकीकृत बस्तीका ९० घर बनाउनका लागि पाँच करोड, डोल्पा मुड्केज्युला गाउँपालिका– १ मा ३२ घरधुरीका बाढीपीडितका लागि करोड तीस लाख, जाजरकोटको बारेकोट गाउँपालिकामा ०७७ को बाढीपहिरोपीडित दुई सय घरधुरीको व्यवस्थापनका लागि दुई करोड र हुम्लाको ताजाकोट गाउँपालिका–३ मा ३८० घरधुरीमा एकीकृत बस्ती निर्माणका १० करोड रुपैयाँ निकासा गरेर सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै, एकीकृत बस्ती निर्माणका लागि तोकिएको स्थानका लागि दुई करोड रुपैयाँ मुख्यमन्त्रीको कार्यालयमा राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
एकीकृत बस्ती निर्माण गर्दा जीविकोपार्जन अवस्थालाई मध्यनजर गरेर बनाउन मापदण्डसमेत तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव हेमबहादुर रानाले बताए । ‘एकीकृत नमुना बस्तीका रूपमा बन्ने घरहरू सातजनाको परिवार आवासको सुविधा पुग्ने गरेर बनाइनेछ,’ उनले भने, ‘यी घर बनाउँदा प्रतिघर पाँच लाखभन्दा बढी रकम उपलब्ध गराइनेछैन ।’
आयोजनाको अवस्थाका विषयमा स्थानीय तहमा रकम हस्तान्तरण गरिएको भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियमित अनुगमन र आयोजनाको काम नियमित रूपमा गर्नका मासिक रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनिवार्य जानकारी गराउनुपर्ने उपसचिव रानाले बताए ।