हुम्लामा दैनिक ११ घन्टा लोडसेडिङ

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घन्टा लोडसेडिङ हुने गरेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्राेत कम भएपछि दैनिक ११ घन्टा लोडसेडिङ भएकाे हाे ।  

दैनिक ११ घन्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित भएको छ । चर्काे लोडसेडिङले सर्वसाधारणकाे दैनिकी प्रभावित भएकाे छ । 

रलिङ फर्निचरका सञ्चालक छिरिङ लामाले दिनभर हुने लोडसेडिङले काम बन्द गर्नुपरेको गुनासो गरे । विद्युत् आपूर्ति नहुँदा दैनिक काम बन्द हुने भएपछि व्यापार–व्यवसाय धरापमा परेको उनले बताए । 

लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित यस्ता तीन दर्जनभन्दा बढी व्यवसाय प्रभावित भएका छन् । 

जलविद्युत् आयोजना वितरण केन्द्रका लालबहादुर लम्सालले मुहानमा पानीको स्राेत कम भएकै कारण लोडसेडिङ तालिका वृद्धि भएको जानकारी दिए । 

५ मेगावाट क्षमताको जलविद्युत् आयोजना हाल ८० किलोवाट मात्रै उत्पादन हुन थालेपछि समस्या भएको लम्सालले बताए । हिमपात नभएकोले पानीको स्राेत घटेको उनकाे भनाइ छ । 
 

सुझावित समाचार