बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना

बिहीबार रातिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको जोखिम, उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा आगामी केही दिन वर्षा र हिमपातको सम्भावना बढेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसम बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार बंगालको खाडीमा रहेको ‘अर्नव’ नामक चक्रवात हाल शक्तिशाली बनेको छ। यो क्रमशः अझ शक्तिशाली बन्दै अति शक्तिशाली चक्रवातमा विकसित हुने सम्भावना छ।

त्यसपछि उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बिचमा पर्ने यानमनजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस प्रणालीको प्रभावले नेपालमा पनि मौसम प्रभावित हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार बिहीबारदेखि नै मौसममा प्रभाव देखिन सक्नेछ। विशेषगरी शुक्रबार र शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रमा बढी प्रभाव पर्ने सम्भावना छ।

यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

कृषि, यातायात र पर्यटन प्रभावित हुन सक्ने
सम्भावित वर्षाका कारण देशका पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा जनजीवन प्रभावित हुन सक्नेछ। विशेषगरी धानबाली भित्र्याउने समयमा वर्षा भए कृषि कार्यमा असर पर्न सक्ने भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिम आँधी र हिमपहिरोको जोखिम रहेकाले त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणले विशेष सतर्कता अपनाउनुपर्नेछ।

त्यस्तै, चिसो बढ्न सक्ने, सडक अवरुद्ध हुन सक्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।
सम्भावित जोखिमबाट बच्न मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गरिने जनाएको छ।

See More On

सुझावित समाचार