२०७१ अंक ताक्दै नेप्से : लाभांशका लागि अर्को वर्ष कुर्नुपर्ने भए पनि लगानीकर्ता आकर्षित

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

नेप्से एकपटक पुनः सर्वाधिक बिन्दु २०७१ ताक्दै अगाडि बढेको छ । १७ मंसिरमा कायम यो बिन्दु केही समयदेखि नेप्सेका लागि प्रतिरोध बनिरहेको छ । नेप्से केही समयदेखि साइडवेज मुभमेन्टमै छ । बुधबार नेप्से परिसूचक करिब ५० अंकले बढेर २ हजार ६२ बिन्दुमा पुगेको हो । यस दिन होटेल र विकास बैंक समूहको परिसूचक मात्रै घटेको छ । 

यस दिन करिब एक दर्जन कम्पनीको बुक क्लोजपछिको मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा छिमेक लघुवित्त, स्पर्श लघुवित्त, ग्लोबल आइएमई, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, नेपाल एसबीआई बैंक, नबिल बैंक, न्यादी ग्रुप, कृषि विकास बैंक र वोमी लघुवित्त वित्तीय संस्था छन् । 

बुक क्लोजपछि मूल्य समायोजनका कारण कम्पनीहरूको मूल्य घटेको भए पनि त्यसपछि पनि कतिपयको मूल्य बढ्ने क्रममा रहेको छ । अब लाभांशका लागि अर्को वर्ष कुर्नुपर्ने भए पनि बजारमा लगानीकर्ताहरू आकर्षित नै रहेका कारण बजार बढ्ने क्रममा छ ।  

यस दिन ४ अर्ब ४४ करोड रुपैयाँ कारोबार भएको छ । साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी र नागरिक लगानी कोषको सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । उत्पादनमूलक र व्यापारमूलक समूहको परिसूचकसमेत करिब ७ देखि १० प्रतिशतले वृद्धि भएको छ । 

वाणिज्य बैंक समूहमा खासै उछाल देखिएको छैन । तर, चालू आवको लाभांश प्राप्त गर्ने अवसर लगभग सकिएकाले यस क्षेत्रमा उच्च वृद्धि हुने वा नहुनेमा यकिन छैन । अहिले बजारमा यही क्षेत्रका कम्पनीहरूको मूल्य तुलनात्मक रूपमा कम मात्रै छैन अवमूल्यनको अवस्थामा समेत छन् ।

यद्यपि, पुस मसान्त नजिकिँदै जाँदा आगामी केही दिनमा बैंकहरूले कति कर्जा पुनर्तालिकीकरण गर्छन् वा कति कर्जा पुनर्संरचना गर्छन् भन्ने विषयले पनि कोभिड–१९ पछि बैंकहरूको वास्तविक स्वास्थ्य कस्तो देखिन्छ थाहा लाग्नेछ । यो परिदृश्यले भने सेयर बजारमा बैंकिङ क्षेत्रको दिशा स्पष्ट पार्नेछ । 

नेप्सेको मैनवत्ती चित्रले अन्तिम दिन हरियो (सेतो) मारुबोजु आकृति बनाएको छ । यसले बजार सोमबार पनि बढ्न सक्ने सम्भावनालाई देखाएको छ । त्यस्तै, नेप्सेको सातदिने र २१ दिने मुभिङ एभरेज रेखा टाढिँदै छन् । सातदिने रेखा माथि लाग्ने क्रममा छ । यद्यपि, यसलाई अझै ध्यान दिनुपर्ने देखिन्छ । यदि २१ दिने रेखा माथि लागेमा बजार घट्नेछ । 

कारोबारमा आएका २ सय आठ धितोपत्र तथा ऋणपत्रमा १ सय १४ वटाको मूल्य वृद्धि भएको छ । ६२ वटाको मूल्य घटेको छ । यसैबीच नेपाल इन्भेष्टमेन्ट बैंकले ८ मागमा साधारणसभा बोलाएको छ । १३ प्रतिशत बोनस र ५ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकले मर्जर तथा प्राप्तिमा जाने प्रस्तावसमेत लैजाँदै छ ।    

See More On

सुझावित समाचार