झलनाथ खनालको दाबी- केपी ओली मुलुकलाई लुटेर खाने मान्छेहरूको नायक हो (भिडियोसहित)

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले देशमा अराजकता मच्चाएको बताएका छन् । अखिल नेपाल महिला संघले बुधबार काठमाडौंमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरूलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका हुन् । 

बालुवाटारमा संविधानविरोधी, लोकतन्त्रविरोधी र अराजक मान्छेहरूलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको खनालको दाबी छ । उनले भने, ‘केपी ओलीले केही मान्छेहरूलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन् त्यो एउटा गुटको भेला हो । संविधानविरोधी, लोकतन्त्रविरोधी, अराजक, मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरूको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’

आफैँले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलात्कार गरेकोसमेत वरिष्ठ नेता खनालले बताए । संविधानमा नभएको व्यवस्था प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिनु संविधान नै विघटन गरेको हुने उनको भनाइ छ । 

उनले भने, ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन्, तर आज आफ्नै हस्ताक्षरलाई उनले बलात्कार गरेका छन् । देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाविपरीत उनले अहिले फेरि प्रतिनिधिसभा विघटन गरेका छन् । प्रतिनिधिसभाको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’

देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरि प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको उनको जिकिर छ  । एकपटक प्रतिनिभिसभा विघटन गरेपछि फेरि चुनाव भए पनि अब बन्ने प्रधानमन्त्रीले समेत संसद् विघटन गर्न सक्ने अधिकार राख्ने उनले बताए । 

एकपटकको नजिरमा टेकेर फेरि पनि यस्ता कदम आउने भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको उनको तर्क छ । उनले भने, ‘अब मानिलिउँ वैशाखमा चुनाव भयो, कुनै पनि वेलामा चुनाव भयो, सरकार बन्यो भने पनि कुनै पनि प्रधानमन्त्रीले यो संसद् कुनै पनि वेलामा विघटन गर्न सक्छन् । अब यो नजिर हुन्छ । यदि यसलाई नजिरको रूपमा स्थापना गर्ने हो भने हाम्रो मुलुक जसरी विगत ५०/६०/७० वर्षसम्म अस्थिरताको सिकार भयो फेरि त्यही दिशातर्फ अगाडि बढ्छ ।’

राजनीतिक दलसम्बन्धी ऐनको धारा ३३ अनुसार कुनै पनि दुई पार्टी मिलेर बनेको एकीकृत पार्टीलाई पाँच वर्षसम्म फुटाउन नमिल्ने उनले बताए । तर, फुटाउनै पर्ने परिस्थिति भए पनि संसदीय दलमा र केन्द्रीय समितिमा ४०/४० प्रतिशत हुनैपर्ने उनले बताए । 

अहिलेको नेकपामा ४० प्रतिशत पनि ओलीसँग नरहेकाले पार्टी फुटाउनै नसक्ने पनि उनले जिकिर गरे । नेपालको कम्युनिस्ट आन्दोलनमा कहिले उग्रवामपन्थी र कहिले दक्षिण वामपन्थी भडकाउहरू हाबी भएको उल्लेख गर्दै उनले अहिलेका ओली पनि दक्षिणपन्थी भडकाउ भएको बताए । 

प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भऱ्याङ मात्रै बनाएको आरोप उनको छ । 
राजा महेन्द्रले देशमा विभिन्न उद्योगधन्दाहरू निर्माण गरी समाजवादसँग मिल्दो काम गरेको, तर समाजवादको नारा बोकेर हिँडेको कम्युनिस्ट पार्टीका नेता ओलीले प्रधानमन्त्री भएपछि केही पनि काम गर्न नसकेको उनले बताए । प्रधानमन्त्री ओलीले कामभन्दा धेरै गफ गरेकोसमेत बताए । उनले भने, ‘धेरै गफ गर्ने, उखानटुक्काहरू हाल्ने, मान्छेहरूलाई लिने, घरघरमा ग्यास चुलाे ल्याइदिन्छु भन्ने, खै कहाँ आयो ग्यास चुलाे । त्यही बालुवाटारमा पनि छ कि छैन ग्यास चुलाे । ग्यासपाइप ।’

प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिस्ट आन्दोलन नै लज्जित भएको पनि खनालले बताए । ओली कम्युनिस्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको उनको दाबी छ । 

सुझावित समाचार