नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान अपांग बनाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले मंगलबार लमजुङको बेसीसहरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
उनले भने, ‘नेपाली जनाताको बलिदानस्वरूप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई प्रधानमन्त्री ओलीले कोमामा पुर्याए ।’ ओलीले मनोमानी ढंगले सबै काम संविधान मिचेर गरेको भन्दै गुरुङले जंगी, हैकमवादी र निरंकुश शासन लाद्न पनि पछि नपर्ने बताए ।
अहिलेको संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको भन्दै नेता गुरुङले प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको टिप्पणी गरे ।
कार्यक्रममा पूर्वसभासद् लालबहादुर गुरुङ, नेकपा लमजुङका अध्यक्ष मधुमाया अधिकारी, नेकपा नेता पारसमणि पौडेललगायतले प्रतिनिधिसभा पुनर्स्थापन हुनुपर्ने बताए । साथै उनीहरूले प्रतिनिधिसभा विघटन राष्ट्रघाती कदम भएको आरोपसमेत लगाए ।