ओली एन्ड प्रवृत्तिको आयु पुग्यो

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

आज पुस १४ । आजको दिन म ०३४ चैत १४ र २४ गते सम्झिरहेको छु । त्यसवेला निरंकुश पञ्चायती शासनका विरुद्ध अनेरास्ववियुका विद्यार्थी संघर्षको मैदानमा उत्रिएका थिए । ०७७ पुस ५ गते चालिएको प्रतिगामी कदमको कालो दिनको विरुद्धमा आज आन्दोलनको मैदानमा उत्रँदा ०६२ मंसिर ५ मा शाही शासनविरुद्ध गणतन्त्र स्थापनाका लागि बुटवलमा निस्किएको आन्दोलनमा गरेको सम्बोधन पनि सम्झिरहेको छु । त्यसवेला मैले भनेको थिएँ– अब राजतन्त्रको आयु पुग्यो । आज म भन्न चाहन्छु– निरंकुश बाटो समातेका केपी ओली एन्ड प्रवृत्तिको पनि आयु पुग्यो । अब नेपाली जनता यस्ता निरंकुश प्रवृत्तिका विरुद्धमा दृढताका साथ उभिएका छन् । 

एउटा प्रश्न खडा भएको छ– पुस ५ गतेका दिन वामपन्थी कम्युनिस्ट पार्टीका एक नेताले जनताले बनाएको संविधानलाई खुट्टाले कुल्चेर, संविधानको मर्म र भावनालाई कुठाराघात गरेर जसरी प्रतिनिधिसभाको विघटन गरे, के त्यो कुनै हिसाबले उचित छ त ? त्यो राजनीतिक हिसाबले, संवैधानिक हिसाबले, जनभावनाको सम्मान र राजनीतिक पार्टीहरूको चाहनाअनुकूल छ ? के त्यो परिवर्तनको जनआकांक्षाअनुरूप छ ? के त्यो नेपाल कम्युनिस्ट पार्टी नेकपाको निर्णयअनुरूप छ ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ । यो कदम नेपाली जनतालाई स्वीकार्य छैन । यो असंवैधानिक कदमको हामी घोरभत्र्सना गर्छौँ । अस्वीकार गर्छौँ ।

केपी शर्मा ओलीले गणतन्त्र प्राप्तिकोे आन्दोलनका सन्दर्भमा कसरी आन्दोलनको खिसी उडाएका थिए, त्यो हामी सबैलाई थाहा छ । ओलीले त्यसवेला भनेको कुरा म स्मरण गराउन चाहन्छु, ‘बयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । सडकमा सानो स्वरको नारा लगाएर राजतन्त्र फाल्न सकिँदैन ।’ उहाँलाई गणतन्त्रप्रति कुनै माया छैन, निष्ठा छैन । परिवर्तनप्रति कुनै अपनत्वबोध छैन । आज जब हामीले समाजवादको यात्रालाई अगाडि बढाउनुपर्ने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने, संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने वेलामा उहाँले एकपछि अर्को प्रतिगामी कदम चाल्नुभएको छ । संघीयताका विरुद्धमा, संविधान, लोकतन्त्र, जनअधिकार, चनचाहनाका विरुद्धमा कदम चाल्नुभएको छ । जसका विरुद्ध अहिले जनता सडकमा उत्रिएका छन् । नेकपा मात्र होइन, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, संसद्मा रहेको अर्को शक्ति जनता समाजवादी पार्टी पनि सडकमा उत्रिएको छ । २२ दलीय वामपन्थी मोर्चा पनि सडकमा उत्रिसकेको छ । समाजका सबै वर्ग, तप्काले यो कदमलाई प्रतिगामी, गैरसंवैधानिक हो भनेका छन् ।

केपी शर्मा ओलीले जुन तरिकाले प्रतिनिधिसभा विघटन गर्नुभयो के त्यो आवश्यक थियो ? उहाँ जुन पार्टीमा हुनुहुन्छ, त्यो पार्टीको कुनै कमिटीमा यसबारे छलफल, सहमति भएको थियो ? प्रधानमन्त्रीले पार्टीभन्दा अलग ढंगले स्वेच्छाचारी तरिकाले काम गर्न पाइन्छ ? बहुदलीय प्रणाली भनेको के हो ? पार्टी प्रणाली भनेको के हो ? पार्टी अनुशासन भनेको के हो ? विधि–पद्धति भनेको के हो ? केपी ओलीलाई पार्टीसँग, पार्टी अनुशासनसँग कुनै मतलब छैन । पार्टी बैठक, छलफल, सहमति, निर्णयसँग मतलब छैन । उहाँ स्वेच्छाचारी ढंगले चल्न चाहनुहुन्छ । उहाँमा व्यक्तिवाद, निरंकुश प्रवृत्ति, गुटगत प्रवृत्ति हाबी छ । उहाँमा कम्युनिस्टमा हुनुपर्ने, लोकतन्त्रवादीमा हुनुपर्ने गुण र आचरण छैन । उहाँका यी कदमलाई अस्वीकार गर्नेबाहेक हामीसँग अरू कुनै उपाय पनि छैन । 

केपी शर्मा ओलीलाई पार्टीले अनुशासनको कारबाही गरेर अध्यक्ष पदबाट हटाएको छ । तैपनि हामीले उहाँ सुध्रनुहुन्छ कि भन्ने आस गरेका छौँ । अझै पनि हामीले पार्टी सदस्यबाट हटाएका छैनौँ । हामीले सुध्रनका लागि अन्तिम मौका दिइरहेका छौँ । केही–केही साथीहरूलाई केपी कमरेडलाई सुधार्न सकिन्छ कि भन्ने लागेको छ । उहाँहरू अझै प्रयास गरिरहनुभएको छ । मैले त भनेको छु, ‘त्यो प्रयास जारी राख्नुस् । बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निकाल्नुभयो भने स्याबास भनौँला ।’ बांगो पुच्छरलाई तेल घसेर सोझो बनाउन कसैले सक्यो भने त्यसमा पनि म स्याबास भनौँला । अझै पनि उहाँले पश्चत्ताप गर्नुहुन्छ, गल्ती स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ, प्रतिनिधि सभाको पुनस्र्थापनाका लागि अग्रसर हुनुहुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौँ । यी सबै कुराबारे टेबुलमा बसेर छलफल गर्न तयार छौँ । तर, यदि उहाँ त्यही बाटोमा हिँड्नुहुन्छ भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।

यो देशको कस्तो विडम्बना ! हिजोसम्म सामन्तवादका प्रतीकहरूले प्रतिगमनका कदम चाल्थे । निरंकुश कदम चाल्थे । तत्कालीन राजा महेन्द्रका निरंकुश कदमका विरुद्धमा सडक तताउनुपर्ने बाध्यता हामीले भोगेका थियौँ । ०६२÷६३ मा राजतन्त्रले निरंकुश कदम चालेपछि राजतन्त्र फाल्नका लागि हामीले सडकबाट आन्दोलनको सुनामी सृष्टि गर्नुपरेको थियो । अहिले पनि सुनामीका संकेत देखिँदै छन् । अब केपी प्रवृत्तिको नास भइछाड्नेछ । हाम्रो यो लडाइँ एउटा व्यक्तिका विरुद्धमा होइन, त्यो व्यक्तिमा रहेको व्यक्तिवाद, अहंकारका विरुद्धको लडाइँ हो । यस्तो प्रवृत्तिलाई हाम्रो देशका कुनै पनि जनसमुदाय, संघसंस्था, निकायले साथ दिने छैनन् । लोकतन्त्रको लामो अभ्यास गरेका, लोकतन्त्रका लागि लामो लडाइँ गरेका नेपाली जनता लोकतन्त्र सुदृढ भएको देख्न चाहन्छन् । त्यसैले हामी लोकतन्त्रवादी सबै शक्तिलाई भनिरहेका छौँ– आउनुस्, आउँदो केही समयसम्म, केही दशकसम्म एकताबद्ध भई लोकतन्त्र बलियो बनाउने काममा हातेमालो गरेर अगाडि बढौँ ।

कस्तो विडम्बना ! प्रतिनिधिसभा विघटन गर्ने व्यक्ति विघटन भइसकेपछि पनि प्रधानमन्त्री भनेर सम्बोधन भइरहेको छ । के यो संविधानको प्रावधानसँग मेल खान्छ ? प्रतिनिधिसभा भंग भइसकेपछि प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने हाम्रो संविधानको व्यवस्था छ । यदि प्रतिनिधिसभा छैन भने त्यो व्यक्ति प्रधानमन्त्री हुन सक्दैन, कामचलाउ मात्र हुन्छ । तर, ओली कामचलाउ भएका छन् भन्ने आधिकारिक विज्ञप्ति अहिलेसम्म सार्वजनिक भएको छैन । किनभने, उनलाई रहर छ पद बाँड्ने । पदको ललिपप बाँडिरहेका छन् । मन्त्री बनाइदिन्छु, भोलि मेयरको टिकट दिन्छु, राजदूत दिन्छु, विभिन्न नियुक्ति दिलाउँछु भन्दै लालच बाँडिरहेका छन् । धेरै साथीहरूले उनको ललिपप अस्वीकार गर्नुभएको छ । तिम्रो गुटको सदस्य बन्नु छैन भन्दै पदको लोभ अस्वीकार गर्नुभएको छ । बालुवाटारमा बसेको केही व्यक्तिको भेला मात्र हो, नेकपाको बैठक होइन । बैठक भएको छ भने कार्की बैंक्वेटमा नेकपाका चार सय ३७ सदस्यमध्ये तीन सय १५ भन्दा बढी सदस्यको बैठक हो । बालुवाटरबाट भनियो, नेकपा कहाँ छ ? माइतीघरमा जम्मा भएर हामीले भन्यौँ, हामी यहाँ छौँ । हामीले सूर्य चिह्न फहराउँदै हिँड्यौँ । सूर्य चिह्न कहाँ छ ? नेपाल कम्युनिस्ट पार्टी जहाँ छ, त्यहीँ छ । जनताको माझमा छ । त्यसैले कसैले भ्रममा पर्नु जरुरी छैन, हामी पार्टीका अध्यक्ष, वरिष्ठ नेता, प्रवक्ता, स्थायी कमिटी, केन्द्रीय कमिटीका तीन सय ९१ सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग गयौँ । आयोगलाई सबै पत्र बुझाएर हामीले भनेका छौँ– हामी ज्युँदै छौँ । हामीले मुखमा मास्क लगाएका छौँ, बरु मास्क हटाइदिन्छौँ, हाम्रो अनुहारमा शंका छ भने रगतको चाँज गर्नुस्, हामी ज्युँदै छौँ । हामीले भन्यौँ– सूर्य चिह्न अरू कसैको हुन सक्दैन, यो नेकपाको हुनेछ, त्यसको बहुमतको हुनेछ । सयजनाको सेरोफेरोमा जम्मा भएका सानो गुटका मान्छेले तीन–साढे तीन सयको संख्यालाई चुनौती दिने कुनै वैधानिक आधार रहँदैन । नेकपाको नाम कसले लिने हो, सूर्य चिह्न कसको पक्षमा जाने हो भन्ने भ्रम कसैले लिनु जरुरी छैन । 
(नेकपाको प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा मंगलबार आयोजना गरेको जनसभामा सम्बोधनको केही अंश)

सुझावित समाचार