बालुवा पेलेर तेल निस्कन्न, तेल घसेर पुच्छर सोझिन्न, त्यसैले ओली सुध्रिन्नन् : अध्यक्ष नेपाल

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण
बालुवा पेलेर तेल निस्कन्न, तेल घसेर पुच्छर सोझिन्न, त्यसैले ओली सुध्रिन्नन् : अध्यक्ष नेपाल

तस्वीर : संजित परियार

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश ढंगबाट अघि बढेका प्रधानमन्त्री केपी ओलीको समय सकिएको बताएका छन् । 

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमविरुद्ध आज आयोजना गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली पहिलेदेखि नै गणतन्त्रविरोधी रहेको बताए । 

उनले गणतन्त्र स्थापना गर्ने विषयमा छलफल हुँदा नेता ओलीले ‘बलयगाडा चढेर वासिङ्टन नपुग्ने’ बताएको भन्दै उनले देशमा गणतन्त्र नचाहेको सुनाए ।

प्रधानमन्त्री ओली अलोकतान्त्रिक तरिकाले आफ्नो अभीष्ट पूरा गर्न अघि बढेको अध्यक्ष नेपालकाे ठहर छ । 

उनले नेपाली कांग्रेसलगायत सबैले यो कदमलाई असंवैधानिक कदम भनेर आन्दोलन घोषणा गरिसकेकाले यो कदम उल्टने बताए । 

अध्यक्ष नेपालले पार्टीको सल्लाहभन्दा स्वेच्छाचारी ढंगबाट अघि बढेको बताए । उनले प्रधानमन्त्री ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने गुणहरू नभएको बताए । 

उनले पार्टीको निर्देशन उल्लंघन गरेकाले उनीमाथि कारबाही भएको बताए । अझै पनि ओलीलाई सुध्रिने आशामा केन्द्रीय कमिटी सदस्यका रूपमा भने राखिराखेको बताए । 

तर, बालुवा  पेलेर तेल ननिस्कने उनले बताए । साथै उनले बांगाे पुच्छरलाई सोझो पनि बनाउन नसक्ने बताए । तर, आशा भने नछोडेको अध्यक्ष नेपालको भनाइ छ ।

सुझावित समाचार