पर्साको चारवटा निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै कांग्रेसले चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।
सोमबार दिउँसो १२ बजे विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी ओली मुर्दावाद, बलात्कारी सरकार मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, लोकतन्त्रविरोधी प्रधानमन्त्री मुर्दावादलगायतका नारा लगाएका थिए ।
कांग्रेसको केन्द्रीय निर्देशनअनुसार जिल्लाको प्रत्येक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा भएको कांग्रेसका युवा नेता राकेश यादवले जानकारी दिए ।
विरोध प्रदर्शनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता अरविन्द गुप्ता, क्षेत्र नम्बर २ मा कांग्रेस केन्द्रीय सदस्य एवं तराई मधेस विभाग प्रमुख अजय चौरसिया, क्षेत्र नम्बर ३ मा कांग्रेस पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ मा कांग्रेस केन्द्रीय सदस्य एवं अनुशासन विभाग प्रमुख रमेश रिजालले अगुवाइ गरेको नेता यादवले बताए ।
विरोध सभालाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री केपी ओलीले संसद्लाई विघटन गरेर लोकतन्त्रको धज्जी उडाएको र लोकतन्त्रविरोधी नेताको रूपमा प्रस्तुत भएको बताएका छन् । उनीहरूले प्रधानमन्त्रीले हैकमवादी शैलीमा लोकतन्त्रमाथि हमला गरेको र यो नेपाली जनताले स्वीकार नगर्ने चेतावनी दिएका हुन् ।
गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव गरेपछि त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् । सोही दिनदेखि देशभर विभिन्न राजनीतिक दलले देशव्यापी प्रदर्शन गर्दै आएका छन् ।