गुल्मी बसपार्क अस्तव्यस्त : बसपार्कमा निर्माण गरिएको भवन शौचालयमा परिणत

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

समयमा निर्माण सम्पन्न नहुँदा गुल्मीको उदिनढुंगा बसपार्क अस्तव्यस्त बनेको छ । बसपार्कमा निर्माण गरिएको प्रशासनिक भवन सार्वजनिक शौचालयमा परिणत भएको छ । बिग्रेका गाडी राख्ने, गाईगोरु ओत लाग्ने, सडक बालबालिका सुत्ने र दिसापिसाब गर्ने गरेकाले दुर्गन्धित बन्दै गएको छ । 

बहुउद्देश्यीय बसपार्क शौचालयभन्दा फरक नभएपछि नागरिकमा निराशा छाएको छ । पानी परे हिलो र घाम लागे धुलोले बसपार्क झर्ने यात्रु तथा बसपार्कनजिक घर भएकाहरू पीडित बन्दै आएको यातायात व्यवसायी माधव विष्टले गुनासो गरे । उनले सदरमुकाममै राज्यको लगानी बालुवामा पानीसरह हुँदा स्थानीय सरकार र सरोकारवाला चुप लागेर बस्नु लज्जाको विषय भएको गुनासो गरे । 

साढे चार करोडको स्टिमेट : भवन अलपत्र
गुल्मीको क्षेत्र नं २ का अधिकांश स्थानमा छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनले उदिनढुंगा बसपार्क अत्यन्तै व्यस्त छ । तर, अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यवस्थापन नहुँदा नागरिक र यातायात व्यवसायीले वर्षौँदेखि सास्ती खेपिरहेका छन् । हिउँदमा धुलाम्ये, वर्षात्मा हिलाम्ये, रेसुंगा नगरपालिका– २ उदिनढुंगामा बसपार्कको आधार निर्माण गरेको करिब एक दशक भए । तर, अहिलेसम्म बसपार्क कच्ची नै छ भने बसपार्क भवन वर्षौँदेखि अलपत्र परेको छ । 

सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाद्वारा बसपार्कको प्रशासनिक भवन निर्माण सुरु भएको थियो । बसपार्क भवनका लागि ०७२ मा सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ५१ लाखको स्टिमेट गरेको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टरलगायत कोठाको डिजाइन गरिएको छ । 
०७३ मा ६० लाखको मात्र टेन्डर गरियो । सोही बराबरको काम पनि भएको छ । त्यसपछि कार्यालयले ०७४ को वैशाखमा तीन करोडको टेन्डर आह्वान भयो । तर, अन्तिममा सोही कार्यालयले मूल्यांकन नगरिदिएकाले भवन अलपत्र परेको बसपार्क व्यवस्थापन समितिको आरोप छ । पुनः ०७६ को वैशाखमा ६० लाख विनियोजन भयो । टेन्डर गर्ने समय पुगेन । बसपार्क व्यवस्थापन समितिले काम गरेन । जसका कारण त्यो रकम पनि फ्रिज गयो । 

नगरमा बजेट छैन, कार्यालय पनि उस्तै
पछिल्लो समय विनियोजन भएको पाँच लाख रुपैयाँले बसपार्कमा सामान्य ग्राभेलको काम भएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । उनले नगरबाट बजेट विनियोजन गर्ने अवस्था नभएको र केन्द्रबाट पनि बजेटको कुनै व्यवस्था नहुँदा अलपत्र बसपार्कबारे आयोजना कार्यान्वयन गर्ने कार्यालय, विभाग र मन्त्रालयदेखि मन्त्रीसम्मको ध्यानाकर्षण गराएकाले अधुरै अवस्थामा रहन नदिने बताए । 

भवनको डिपिआरदेखि ६० लाखको काम गर्ने कार्यालय तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा हो । अहिले त्यो जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीमा सरेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीका कार्यालय प्रमुख राजेन्द्र पाण्डेले भवनको विषयमा पटक–पटक विभागमा पत्राचार र ध्यानाकर्षण गराए पनि बजेट नै नपरेकाले काम गर्न नसकिएको बताए । उनले अलपत्र भवन र बसपार्कको विषयमा आफूलाई पनि चासो र चिन्ता भए पनि आवश्यक बजेट विनियोजन नहुँदा गाह्रो भएको गुनासो गरे ।

ओरालोमा काउन्टर, दुर्घटनाको जोखिम
बसपार्क व्यवस्थित नभएका कारण उदिनढुंगा चोकको ओरालोमा यातायात व्यवसायीका काउन्टर छन् । नागरिकको दैनिक भिड हुन्छ । ओरालो चोकका कारण दुर्घटनाको सम्भावनासमेत त्यतिकै रहेको छ । साँघुरो सडकमा सवारीसाधन बढी र पार्किङका लागि बसपार्कको राम्रो व्यवस्था नभएकाले निकै मुस्किल परेको गुल्मी यातायात व्यवसायी समितिका महासचिव हिमाल कुँवरले बताए । उनले सुरुबाटै आफूहरूले भवनभन्दा बसपार्क पिचको कुरालाई जोड दिँदै आएको बताए । 

‘बसपार्क भवन पनि अलपत्र पारे, व्यवसायीहरू भाडामा सटर खोजेर बसेका छन्,’ उनले भने, ‘अब भवन के सम्पन्न गर्नुपर्छ नत्र डोजर लगाएर हटाउनुपर्यो ।’ बसपार्कको जग्गाको बीचभागमै भवन निर्माण गरिएको छ । जसले बासपार्ककै शोभा नभएपछि सुरुमा स्थानीय र व्यवसायीले गलत डिजाइन भनेर विरोध पनि गरेका थिए । बसपार्क भन्ने मात्रै हो । बीचभागमा बनेको भवनका कारण बसपार्कमा भन्दा बाहिर पार्किङ बढी हुने गरेका छन् । बसपार्कछेउका ग्यारेज र यात्रुको फोहोरले बसपार्क दैनिक प्रदूषित र साँघुरो बन्दै गएको छ ।

See More On

सुझावित समाचार