विपन्न परिवारलाई जस्तापाता खरिद गर्न केन्द्रले दिएको रकम वडा कार्यालयले नै लियो, कमसल जस्ता खरिद गरेर हिसाब पनि देखाइएन

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

झापाको गौरादह नगरपालिका–७ वडा कार्यालयले नागरिकलाई सुविधा दिने नाममा मापदण्डविपरीत एक लाख आठ सय रुपैयाँ हिनामिना गरेको खुलेको छ । फुसको छानो विस्थापित गरी जस्तापाता लगाउने योजनासहित आएको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत केन्द्र सरकारले दिएको रकम लिएर विपन्नलाई सस्तोमा जस्तापाता दिइएको हो ।

गत आर्थिक वर्ष ०७६/७७ मा जस्तापाताका लागि छनोट भएका ३९ मध्ये १२ विपन्न परिवारलाई वडाले नै जस्तापाता खरिद गरिदिएको थियो । कार्यक्रमअन्तर्गत वडाबाट छनोट भएका विपन्न परिवारले दुई किस्तामा गरी ५० हजार रुपैयाँ पाउँछन् । पहिलो चरणमा ३० हजार र घरमा जस्तापाता लगाएपछि २० हजार रुपैयाँ दिने प्रावधान छ ।

पहिलो किस्ताबापत गत असारमा १२ विपन्न परिवारको बैंक खातामा जनही ३० हजार रुपैयाँ जम्मा भयो । उनीहरूलाई गाडी रिजर्भ गरेर बैंकसम्म वडा कार्यालयले नै पु¥यायो । उनीहरूलाई रकम झिक्न लगाइयो । र, वडाले नै जस्तापाता खरिद गरिदिने बताउँदै रकम लियो । १२ जनाले नै पहिलो किस्ताबापतको ३० हजार रुपैयाँ बुझाए । तीमध्ये केहीलाई तत्काल जस्तापाता दिइयो, केहीलाई ६ महिनापछि मात्र । तर, जनही २१ हजार ६ सय रुपैयाँको तीन बन्डल जस्तापाता खरिद गरिएको खुलेको छ । जब कि, त्यसबापत ३० हजार रुपैयाँ उनीहरूबाट लिइएको थियो । वडाध्यक्ष बलराम खरेलका अनुसार उक्त जस्तापाताको मूल्य प्रतिबन्डल सात हजार दुई सय रुपैयाँ परेको छ ।

एक लाख आठ सय रुपैयाँ कहाँ गयो ?
हरेक परिवारको बाँकी आठ हजार चार सय कहाँ गयो ? सबै परिवार अनभिज्ञ छन् । १२ परिवारको गरी एक लाख आठ सय रुपैयाँको हिसाबकिताब कतै छैन ।

‘३० हजार रुपैयाँ बैंकबाट ल्यायौँ । त्यो पैसा वडाले लग्यो । त्यसबापत बुबाको नाममा हामीलाई तीन बन्डल टिन दिएको छ । अरू हिसाबकिताब हामीलाई केही जानकारी दिइएको छैन,’ गौरादह–७ का टंकबहादुर पाण्डे भन्छन्, ‘यो जस्तापाता पातलो छ । ३० हजार त पर्दैन भनेर वडा सदस्य नारायण विमलीलाई भनेँ । उहाँले अरू कुरा पछि गरौँ भन्नुभयो । हिसाब माग्दा चासो नदेखाई हिँड्नुहुन्छ ।’

सबै परिवारले ३० हजार रुपैयाँकै जस्तापाता पाएको भन्ने बुझेका छन् । उनीहरूलाई बाँकी रकमबारे वडा कार्यालयले केही जानकारी दिएको छैन । ‘बैंकबाट पैसा झिकेर हामीले ३० हजार रुपैयाँ मुख्या (वडाध्यक्ष)लाई बुझायौँ । उनीहरूले हामीलाई ३० हजारबापतको टिन दिएका छन् । अब यो टिन लगाएपछि २० हजार पनि आउँछ रे ! खसी बढ्दै छ, त्यही बेचेर घरमा टिन लगाउँछु,’ स्थानीय मनकुमार माक्राले भने, ‘हामीले त जस्तापाता पायौँ । यसको हिसाब ३० हजार नै होला । टोल विकास समितिमा मेरो मामा हुनुहुन्छ उहाँलाई सोध्नुपर्छ ।’

झापा गौरादह–७ का मनकुमार माक्रा । उनले बैंकबाट ३० हजार रुपैयाँ निकालेर वडालाई बुझाए । वडाले जस्तापाता त दियो, तर अरू हिसाब दिएन । पैसा अभावमा उनले घरमा जस्तापाता लगाउन सकेका छैनन् । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका

मापदण्डअनुसार घरमा जस्तापाता लगाएपछि स्थानीय तहका इन्जिनियरले अनुगमन गर्छन् । उनीहरूले तस्बिरसहितको सिफारिस पत्र बनाइदिएपछि मात्र दोस्रो किस्ताको २० हजार रुपैयाँ पाइन्छ । तर, गौरादह–७ मा छनोट भएका ३९ मध्ये तीन घरले मात्र घरमा सुरक्षित तबरले जस्ता लगाएका छन् । बाँकीले जस्तापाता बुझेर त्यसै थन्क्याएका छन् । वडाले अहिले दोस्रो किस्ताबापतको रकमका लागि पहल गरिरहेको छ ।

‘घरमा धेरै दुःख छ । बर्खामा पानी चुहिन्छ । हिउँदमा शीत तपतप झर्छ । सरकारले टिन दियो । तर, हाल्ने पैसा छैन । ३० हजार आउनेबित्तिकै वडालाई बुझायौँ । उसले टिन दियो । त्यो टिन ३० हजारको होइन,’ स्थानीय विन्दे ऋषिदेव भन्छन्, ‘आठ हजार उभ्रिएको छ रे ! त्यो पैसा पनि दिँदैनन् । दिए त घरमा टिन हाल्दै गर्थेँ । हाम्रा कुरा त कहाँ सुन्छन् र ! भन्यो भने उल्टै गाली गर्छन् ।’

झापा गौरादह–७ का विन्दे ऋषिदेव । उनले बैंकबाट ३० हजार निकालेर वडालाई बुझाए । उनले पनि जस्तापाता लगाउन सकेका छैनन् ।

१२ परिवारको जनही ३० हजार रुपैयाँ गरी तीन लाख ६० हजार रुपैयाँ वडाले राखेको थियो । त्यसमध्ये दुई लाख ५९ हजार दुई सयको जस्ता खरिद गरेर उनीहरूलाई वितरण गरियो । बाँकी एक लाख आठ सय रुपैयाँ कहाँ छ भन्ने वडालाई पनि पत्तो छैन । वडासचिव ओम तिवारीले नागरिकबाट उठाएको पैसा वडाध्यक्षसँग भएको बताए । वडाध्यक्ष खरेल भने वडा कार्यालयमै पैसा भएको दाबी गर्छन् । ‘यो पैसा हामीले चलाउन मिल्दैन । वडामै छ,’ उनले भने, ‘अहिले दिँदा उनीहरू (विपन्न नागरिक)ले त्यत्तिकै खर्च गरेर सक्छन् । दोस्रो किस्ता आएपछि एकैपटक घर बनाउने गरी दिन्छौँ ।’

१२ विपन्न परिवारसँग वडाले पैसा नमागेको उनको दाबी छ । भन्छन्, ‘उनीहरूसँग हामीले मागेका होइनौँ । भ्याट बिल मिलाउन सक्दैनौँ भनेर उनीहरूले आफैँ दिएका हुन् । बाँकी रहेको हिसाबका बारेमा पनि नागरिकलाई जानकारी गराएका छौँ ।’

गौरादह नगर प्रमुख रोहितकुमार साह वडाले जस्तापाता खरिद गरिदिने प्रावधान सुरक्षित नागरिक आवास कार्यक्रममा नरहेको बताउँछन् । नागरिकको खातामा सोझै पैसा जाने भएकाले उनीहरूले नै जस्तापाता खरिद गर्नुपर्ने उनको भनाइ छ । ‘विपन्न नागरिकले बैंकमा खाता खोलेका छन् । उनीहरूको खातामा हामीले पैसा हालेका छौँ । विपन्नबाट जनप्रतिनिधिकोमा गयो भने कसरी गयो ? सम्बन्धित व्यक्तिलाई पैसा दिने र नगर, वडाले त अनुगमन गर्ने मात्र जिम्मेवारी हो,’ उनी भन्छन्, ‘यसबारेमा म वडा कार्यालयमा बुझ्छु । ३० हजारबराबरकै जस्तापाता गरिबले पाउनुपर्छ ।’

‘विपन्नले पाएको पैसा वडाले लिनै मिल्दैन’
फुसको छानो हटाउन आएको सुरक्षित नागरिक कार्यक्रम सघन सहरी तथा भवन निर्माण कार्यालयले सञ्चालन गर्छ । उक्त कार्यालयले कार्यक्रममा छनोट भएका नागरिकलाई दिइएको पैसा वडाले लिने नमिल्ने बताएको छ ।

कार्यालय प्रमुख राजेन्द्र खतिवडाले विपन्न नागरिकको खातामा गएको पैसा झिक्न लगाएर माग्नु गलत भएको बताए । ‘कार्यविधिमा प्रस्ट छ– त्यो रकम व्यक्तिको खातामै जानुपर्छ । यसरी आएको पैसा कसैले माग्न पनि मिल्दैन र दिन पनि मिल्दैन,’ उनी भन्छन्, ‘पहिलो किस्तामा आएको ३० हजारले त जस्ता खरिद, डाँडाभाटा गर्न र जस्ता लगाउनै पुग्नुपर्छ भन्ने उद्देश्य हो । उनीहरूको पैसा हामीले राख्यौँ, दोस्रो किस्तामा दिन्छौँ भन्न मिल्दैन ।’

उनका अनुसार गरिब परिवार आफैँले सम्झौता गर्नासाथ जस्तापाता लगाउन सक्दैनन् भनेर ६० प्रतिशत रकम उपलब्ध गराउने गरी कार्यविधि बनेको हो ।

६ महिनापछि टिन पाए, तर सञ्चारमाध्यममा बोले सुविधा रोकिदिने धम्की
गौरादह–७ का गुदरा माक्रा (७४ वर्ष)ले सुरक्षित नागरिक कार्यक्रममार्फत आएको पैसा वडा कार्यालयलाई बुझाएको ६ महिनापछि मात्र जस्तापाता पाए । ६ महिनासम्म वडा कार्यालय धाउँदा उनलाई कसैले वास्ता गरेन ।

 वडाले पैसा लगेको ६ महिनापछि जस्तापाता पाएका गुदरा माक्रा ।

२६ मंसिरमा नयाँ पत्रिका दैनिकमा ‘विपन्नको फुसको छानो फेर्ने योजना : केन्द्रले पैसा दियो, स्थानीय सरकारले खोस्यो’ शीर्षकमा समाचार प्रकाशन भएपछि मात्र उनले जस्तापाता पाए । घामपानी छेक्न मक्किएको बाँसको भाटाले च्यापेर प्लास्टिकको छानो ओढाइएको उनको घरमा अब हरियो रंगको जस्तापाता लगाइँदै छ । अब उनको घरमा न त बर्खाको मुसलधारे पानी पस्नेछ, न हिउँदमा शीत झर्नेछ । जस्तापाता पाएपछि उनको मुहारमा खुसी छचल्किएको छ । तर, जस्तापाता पु¥याउन आएका जनप्रतिनिधिको धम्कीले चिन्ता पनि बढाएको छ । सञ्चारमाध्यममा बोलेर वडा कार्यालयको बदनामी गराएको आरोप लगाउँदै जस्तापाता पु¥याउन आएका ग्वालडुब्बा टोल विकास समितिका अध्यक्ष शोभाध्वज माक्राले उनको सबै सुविधा रोकिदिने धम्की दिएका छन् ।

शोभाध्वज तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार थिए । ‘शोभाध्वजले अब पनि त्यसरी बोलिस् भने तेरो सबै सुविधा रोकिदिन्छु भनेका छन्,’ गुदरा माक्रा भन्छन्, ‘उनले भत्ता रोकिदिने भनेका होलान् । म एक्लो मान्छे, कमाएर खान सक्दिनँ । भत्ता रोकिदिए भने के खाने भन्ने चिन्ता लागेको छ ।’

शोभाध्वज भने आफूले धम्की नदिएको दाबी गर्छन् । ‘टोल विकास संस्थाको अध्यक्षको हैसियतले म जस्तापाता दिन गएको हुँ । तर, मैले उनलाई कुनै धम्की दिएको छैन,’ उनी भन्छन् ।

सुझावित समाचार