नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकाे कदमले एकतालाई कुनै तात्विक असर नपर्ने बताएका छन् ।
उनले सोमबार बिहान विज्ञप्ति जारी गर्दै कुनै एक व्यक्तिकाे पार्टी, राष्ट्र र जनताविरोधी कदमले पार्टी एकतालाई कुनै तात्विक असर नपर्ने स्पष्ट पारेका छन्।
प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु।’
ओलीले चालेको संसद् विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवं स्वेच्छाचारी कदमलाई आइतबार बसेको स्थायी कमिटीको बैठकले विरोध गर्दै पूर्ण रूपमा अस्वीकार गर्ने र ओलीलाई अनुशासनको कारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको प्रचण्डले बताए।
