प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । विपक्षी राजनीतिक दल र तिनका भ्रातृ संस्थाहरूबाट मात्र नभई सत्तासीन दल नेकपाकै नेता–कार्यकर्ताबाट सबैभन्दा बढी प्रदर्शन भएको छ ।
प्रदर्शनमा उत्रिएका नेता–कार्यकर्ताले सरकार र राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको भन्दै आलोचना गरेका छन् । दुईतिहाइ जनमत प्राप्त सरकारले संसद् विघटन गरी जनादेशको अपहेलना गरेको आरोप लगाएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा युवाले प्रदर्शन गरेका छन् । नेकपासम्बद्ध जनवर्गीय संगठनमा आबद्ध युवाहरूले प्रधानमन्त्रीले गरेको संसद् विघटनविरुद्ध नारा लगाए । उनीहरूले निकालेको प्रदर्शन चौबिसकोठी परिक्रम गरेर कोणसभामा परिणत भएको थियो । सभामा उपस्थित युवाहरूलाई सम्बोधन गर्दै युवा संघ चितवनका अध्यक्ष मधु न्यौपानेले संसद् विघटन गरेर ओली सरकारले निरंकुशता लाद्न खोजेको बताए ।
नुवाकोटमा र्याली
संसद् विघटनको विरोधमा आइतबार नुवाकोटमा पनि सत्तारुढ नेकपाका कार्यकर्ताले र्याली निकाले । नेकपा नुवाकोटको आयोजनामा भएको र्यालीमा सहभागीहरूले प्रधानमन्त्री ओलीले संसद् विघटनको असंवैधानिक कदम चालेको भन्दै भत्र्सना गरे ।
विदुरमा भएको विरोध र्यालीमा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, संविधानसभा सदस्य विमला सुवेदी, जिल्ला सदस्य बुद्धि प्रधान, जिल्ला सदस्य पदम उप्रेतीलगायत नेता–कार्यकर्ताले नेतृत्व गरेका थिए । जिल्ला अध्यक्ष खतिवडाले सरकारले जनमतको अपमान गरेको आरोप लगाए ।
हेटौँडामा नेविसंघको प्रदर्शन
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघका महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा हेटौँडा बजारमा प्रदर्शन भएको हो ।
र्यालीपछि सीमा चोकमा भएको कोणसभामा महामन्त्री दाहालले सरकारको गलत कदमको विरोधमा न्यायप्रेमी युवा विद्यार्थी सडकमा आएको बताए । ओली सरकारको गलत कदमले मुलुक संवैधानिक संकटउन्मुख पुगेको भन्दै उनले प्रधानमन्त्रीको कदमले देशमा अस्थिरता निम्तिएका दाबी गरे । असंवैधानिक कदमविरुद्ध कांग्रेसले अझै सशक्त आन्दोलन गर्ने उनको भनाइ थियो ।
यसैबीच, सत्तारुढ नेकपा मकवानपुरले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको आलोचना गरेको छ । नेकपा मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् विघटन गरेर जनमतलाई बेवास्ता गर्दै मुलुकलाई थप संकटमा पार्न खोजेको आरोप लगायो ।
जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीद्वारा हस्तक्षर गरिएको विज्ञप्तिमा ओलीले संसद् विघटन गरेर लाखौँ जनताको आस्था र कार्यकर्ताको भावनामाथि गम्भीर आघात पुर्याएको उल्लेख छ । नेकपा जिल्ला कमिटीले घोर भत्र्सना गर्दै समग्र नेता–कार्यकर्तालाई कुनै भ्रममा नपरी पार्टी र पार्टी निर्णयको पक्षमा खडा हुन अपिल गरेको छ ।
‘ओलीले पार्टीभित्रको आन्तरिक विवादलाई पार्टीगत तहमै समाधान गर्ने स्थापित मान्यतालाई समेत कुल्चिँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने काम भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति जारीपछि नेकपा मकवानपुरले विरोध र्याली निकालेको छ ।
प्रचण्ड–नेपाल पक्ष सहभागी र्यालीमा प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाइएको थियो । र्यालीलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सिग्देलले प्रधानमन्त्री ओलीले संविधानमाथि कु गरेको आरोप लगाइन् । ‘सयौँ वर्ष राज गरेको राजतन्त्रलाई त फाल्ने सामथ्र्य राख्ने नेपाली जतताले एकजना व्यक्तिलाई फाल्न बेर लगाउँदैनन्,’ उनले भनिन् ‘प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रको विवादको विषयलाई सामना गर्न नसक्दा गलत निर्णय लिए ।’
जनकपुरमा नेकपा र जसपाको विरोध
संसद् विघटनको विरोधमा जनकपुरधाममा जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टाछुट्टै विरोध प्रदर्शन गरेको छ । जसपा नेता तथा कार्यकर्ताले संसद् विघटनको विरोधमा दिउँसो साढे ४ बजे स्थानीय जनक चोकमा विरोध प्रदर्शन गरेका थिए ।
उनीहरूले संसद् विघटनको कदम राष्ट्रघाती र गैरसंवैधानिक रहेको जनाएका छन् । विरोध कार्यक्रममा जसपाका प्रदेश सांसद रामआशिष यादवले गणतन्त्र र संघीयतालाई समाप्त गर्ने उद्देश्यले प्रम ओलीले संसद् विघटनको निर्णय गरेको आरोप लगाए । कुनै अदृश्य शक्तिको उस्काहटमा प्रम ओलीले राष्ट्रघाती र देशद्रोही कार्य गरेको उनले आरोप लगाए ।
त्यस्तै, आइतबार नै नेकपा युवाले मोटरसाइकल जुलुस निकाले । नेकपाको प्रदेश २ कार्यालयबाट निकालिएको मोटरसाइकल जुलुस जनकपुर बजार परिक्रमा गर्दै जनकचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय सदस्य अनिल पासवानले जनादेशविपरीत गैरसंवैधानिक कदम चालेकाले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने माग गरे ।
नेकपाका नेता रामकुमार यादवले तानासाही र भष्टाचारमा लिप्त ओली सरकारले नेपाली जनताले दिएको दुईतिहाइ बहुमतको अपमान गरेको बताए । सभामा युवा संघ धनुषाका अध्यक्ष सरोज यादव, युवा संघका दीपक पटेललगायत नेताले मन्तव्य राखेका थिए ।
संसद् विघटन गणतन्त्र र संघीयताविरोधी कदम : मुख्यमन्त्री
प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर गणतन्त्र र संघीयताविरोधी कदम चालेको बताएका छन् । काठमाडौंमा रहेका मुख्यमन्त्री राउतले नयाँ पत्रिकासँग कुराकानी गर्दै भने, ‘संसद्को दुई वर्ष अवधि बाँकी रहेको अवस्थामा प्रम ओलीले व्यक्तिगत स्वार्थका लागि संविधानको मर्म र भावनाविपरीत कार्य गरेका छन्, यसले मुलुक अस्थिरतातर्फ ढक्लेको छ ।’
पार्टीभित्रको आन्तरिक झगडा र द्वन्द्वलाई लिएर प्रम ओलीले मुलुकलाई बर्बादीतर्फ लगेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘झन्डै दुईतिहाइ जनादेश पाएको सरकारले यो कदम चालेर जनमतको अपमान गरेको छ ।’ प्रम ओलीले चालेको कदमको प्रभाव तत्काल प्रदेश सरकारमा नपर्ने मुख्यमन्त्री राउतले बताए ।
वीरगन्जमा जसपाको विरोध प्रदर्शन
जनता समाजवादी पार्टी पर्साले संसद् विघटनको विरोधमा वीरगन्जमा प्रदर्शन गरेको छ । घन्टाघर चोकमा जम्मा भएका जनता समाजवादी पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरे । विरोध प्रदर्शनमा सहभागी जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर लोकतन्त्रको हरण गरेको तथा संविधानको धज्जी उडाएको आरोप लगाए । उनले विभिन्न आन्दोलनमा बलिदानी दिएर जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि ओलीले प्रहार गरेको बताए ।
संसद् विघटनको विरोधमा प्रचण्ड–नेपाल पक्षका नेकपा पर्साका कार्यकर्ताले पनि वीरगन्जमा विरोध प्रदर्शन गरे । आइतबार अपराह्न ३ बजे घन्टाघर चोकमा जम्मा भएका उनीहरूले तानासाही लादेर ओलीले संसद् विघटन गरेको जनाए । जिल्लामा रहेका नेकपासम्बद्ध जनवर्गीय संगठन प्रदर्शनमा सहभागी थिए । उनीहरूले संसद् विघटन गरेर निरंकुश ल्याउन खोजेको आरोप पनि लगाए ।
बारामा टायर बालेर विरोध
नेकपा र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता–कार्यकर्ताले बारामा टायर बालेर प्रदर्शन गरेका छन् । संसद् विघटनको विरोधमा उनीहरूले बाराको कलैयामा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री ओली र राष्ट्रपतिले लोकतन्त्रको हरण गरेको तथा संविधानको धज्जी उडाएको दाबी गरे । प्रदर्शनमा नेकपाका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता सहभागी थिए । नेकपा र जसपाका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्रीले प्रहार गरेको भन्दै आन्दोलनका उपलब्धि हरण हुन नदिने दाबी गरे ।
प्रदेश १ को राजधानीमा कार्यकर्ता सडकमा
संसद् विघटनको विरोधमा प्रदेश १ को राजधानी विराटनगरमा चर्को विरोध भएको छ । सत्ताधारी दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु, कांग्रेसको तरुण दल र विवेकशील साझा पार्टीले प्रदर्शन गरेका छन् । अलग–अलग प्रदर्शन गरेका उनीहरूले संसद् विघटनलाई ‘संवैधानिक कू’को संज्ञा दिएका छन् ।
प्रम ओली र राष्ट्रपति भण्डारीले मिलेर नेपाली जनताको रगत–पसिनाले प्राप्त भएको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरेको आरोप उनीहरूले लगाएका छन् । विराटनरमा भएको प्रदर्शनमा कांग्रेस नेता गुरुराज घिमिरे, अनेरास्ववियुका केन्द्रीय सदस्य वसिम आलमलगायतले बोलेका थिए ।
लमजुङमा नेविसंघ र युथ कांग्रेसको विरोध
संसद् विघटन असंवैधानिक भएको भन्दै नेविसंघ लमजुङ र युथ कांग्रेस नेपाल लमजुङले आइतबार साँझ लमजुङमा विरोध प्रदर्शन गरेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिका– ८ भोटेओडार बालुनेबाट सुरु भएको प्रदर्शन सिउँडीबार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा नेविसंघ लमजुङका सभापति शिव नरालले संसद् विघटन असंवैधानिक भएकाले लोकतन्त्र रक्षाका साथै संसद् पुनस्र्थापनाका लागि प्रदर्शन गरिएको बताए । सहभागी युवाहरूले प्रधानमन्त्रीको विरोधमा नाराबाजी गरेका थिए । जनताले नेकपालाई पाँच वर्ष सरकार चलाउन दिएको म्यान्डेटविरुद्ध प्रधानमन्त्रीले जनमतको अपमान गरेको युथ कांग्रेस नेपाल लमजुङका संयोजक विराट न्यौपानेले बताए ।
रसुवामा प्रधानमन्त्रीको पुत्लादहन
संसद् विघटन गरेको भन्दै रसुवामा प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले संयुक्त रूपमा पुत्ला जलाएका हुन् । उनीहरूले कालिकास्थानदेखि घुम्तीबजारसम्म प्रदर्शनसमेत गरे । विरोध सभामा प्रदेश कमिटी सदस्य मेघनाथ घिमिरे, स्कुल विभाग प्रमुख उद्धव रिजाल, युवा संघका जिल्ला संयोजक गणेश विकलगायतले नेतृत्व गरेका थिए ।
असंवैधानिक कदमविरुद्ध जनता सडकमा
संसद् विघटनको विरोधमा सिराहामा विरोध प्रदर्शन भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध जनताले विरोध जनाएका हुन् । जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने गरी भएको संसद् विघटनको कदमले मुलुकलाई दीर्घकालसम्म असर पुर्याउने भन्दै जनस्तरबाट विरोध भएको हो ।
आइतबारै प्रदेश २ का सांसद रहेका नेकपा जिल्ला सचिव प्रमोदकुमार यादवको नेतृत्वमा नेकपाका नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सदरमुकाम सिराहाको हेमनारायण चोकबाट निकालिएको विरोध र्याली इमली चोक, पस्पल चोक, महावीर चोक, सहिद राजेश ठाकुर पार्क हुँदै कोणसभामा परिणत भएको थियो । कोणसभामा सांसद यादवले प्रधानमन्त्रीको संसद् विघटनसम्बन्धी असंवैधानिक कामको विरोध र संविधानको रक्षाका लागि जनता सडकमा आउनुपर्ने बताए ।
प्रधानमन्त्रीबाट संवैधानिक ‘कु’ भयो : कोइराला

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन नेपालको संघीय गणतान्त्रिक व्यवस्थाको लोकतान्त्रिक संविधानमाथिको ‘कु’ भएको बताएका छन् ।
आइतबार गृहनगर विराटनगरस्थित कोइरालानिवासमा पत्रकारहरूसँग भेटघाट गर्दै नेता कोइरालाले लोतान्त्रिक संविधानमाथि प्रम ओलीले गरेको असंवैधानिक कार्यको कांग्रेसले न्यायालय र सडक सबैतिरबाट प्रतिवाद गर्ने बताए ।
डा. कोइरालाले प्रम ओलीले आफूलाई अधिनायकवादी शासक रूपमा परिचित गराउन राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक कदम चालेको आरोप लगाए । उनले भने, ‘असंवैधानिक कार्यको कांग्रेस मात्र होइन सबै राजनीतिक दलहरूले प्रतिवाद गर्नुपर्छ, नत्र प्रम ओलीले राष्ट्रघातका लागि जे पनि गर्दै जानेछन् ।’
नेता कोइरालाले संसद् विघटन गर्न प्रम ओलीले गरेको सिफारिसबारे हतार नगरीकन संविधान विज्ञ र राजनीतिक दलसँग परामर्श गरेर मात्र अगाडि बढनुपर्ने बताए । तर, एकलौटी प्रमको रबरस्ट्याम्प बनेर राष्ट्रपतिले हतारमा संसद् विघटन गर्ने सिफारिस प्रमाणित गरेकोमा कांग्रेसले न्यायालय गुहार्ने बताए । नेता कोइरालाले भने, ‘जनताले रगत–पसिना बगाएर बनाएको लोकतान्त्रिक संविधानलाई कुनै हालतमा कु हुन दिँदैनौँ, सडकबाट सशक्त संघर्ष थाल्छौँ ।’