संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी सोको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिए ।
उनले भने, ‘उखु कृषकको भुक्तानी सात दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरणसहित अर्को हप्ता समितिलाई जानकारी गराउन निर्देशन दिएका छौँ ।’
आफूले बेचेकाे उखुकाे अहिलेसम्म भुक्तानी नपाएकाे र दिलाइदिन भन्दै उखु किसान चार दिनदेखि काठमाडाैंमा आन्दाेलनरत छन् ।
यस्तै समितिको बैठकले देशभरका श्रमिकहरूले पारिश्रमिक पाए–नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिनभित्रमा समितिमा प्रतिवेदन पेस गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
सभापति श्रीवास्तवले भने, ‘मन्त्रालयले श्रमिकहरूका विषयमा स्थलगत अध्ययन गरी श्रमिकहरूले पाउनुपर्ने सुविधाहरू, तलब, पारिश्रमिक के–कति पाए, के–कति पाएनन् सोको आवश्यक छानबिन गरी आवश्यक कारबाहीसमेत गरी १५ दिनभित्र यो समितिमा प्रतिवेदन पेस गर्ने ।’