नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्वनिर्धारित स्थायी कमिटी बैठक बस्न लागेको छ ।
नेकपाभित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्षका फरक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको बैठक आज अपराह्न एक बजे बस्न गइरहेको हो।
यसअघि ‘पार्टीभित्रको आन्तरिक समस्या हल गर्ने’ कार्यसूचीमा छलफल हुने भनिए पनि आजको बैठक भने मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा केन्द्रित हुने देखिन्छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा सचिवालयका पाँचजना नेताहरूले त्यसको विरोध गरेका छन् ।
आजको बैठकमा अध्यादेश फिर्ता लिन दबाब दिने रणनीति अख्तियार गरिने उनीहरूले बताएका छन् ।