तिहारमा कुन दिन कस्तो रहन्छ मौसम ?

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ यस वर्ष तिहारका पाँच दिन देशभरको मौसममा ठुलो उतारचढाव देखिँदैन। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहार अवधिमा (काग तिहारदेखि भाइटीकासम्म) अधिकांश स्थानमा मौसम अनुकूल रहने अनुमान छ।

तर, हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहने भएकाले हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

तिहारका वेला बिहानपख तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने छ। यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले यात्रामा निस्कनेहरूले मौसमसम्बन्धी अद्यावधिक सूचना लिनुपर्ने देखिन्छ।

कुन दिन कस्तो रहन्छ मौसम ?
शनिबार (काग तिहार) :
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्र र देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ।

आइतबार (लक्ष्मीपूजा) : हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। बिहान तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्छ।

सोमबार (औँसी) : हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ। हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ भने बिहान केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्छ।

मंगलबार (गोवर्धन पूजा) : हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ। 

बुधबार (भाइटीका) :  हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। हिमाली तथा पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ।

सुझावित समाचार