हास्य कलाकार सीताराम कट्टेल धुर्मुस यतिवेला आफ्नो सपना पूरा हुन लागेकोमा खुसी देखिएका छन् । कलाकारितासँगै सामाजिक कार्यमा पनि संलग्न भएका कट्टेलले एक वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए ।
काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, कास्की, मोरङ हुँदै झापासम्म रंगशालाका लागि जमिन खोजे । अन्तिममा चितवनको भरतपुरमा जग्गा फेला पारे । एक वर्षअघि आफैँले ट्र्याक्टर लगाएर सम्याएको ठाउँमा राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत सम्पन्न भइसकेको छ ।
निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ मैदानको करिब ८५ प्रतिशत काम पूरा भएको उनी बताउँछन् । अहिलेकै स्पिरिटमा काम अघि बढे अर्को वर्ष रंगशाला निर्माण पूरा भई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने उनको अपेक्षा छ ।
निर्माणाधीन रंगशालामा ‘गौतम बुद्ध क्रिकेट कप’
निर्माणाधीन रंगशाला परिसरमा २७ मंसिरदेखि ‘गौतम बुद्ध क्रिकेट कप–२०२०’ सुरु भएको थियो । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती, विनोद भण्डारीको कप्तानीमा राप्ती र सुवास खकुरेलको कप्तानीमा नारायणी टिमले सहभागिता जनाएका थिए । राप्ती टिमले उपाधि जितेको छ ।
रंगशाला निर्माणस्थलमा रहेको नमुना मैदानमा प्रतियोगिता भएको हो । प्रतियोगिता भएको दृश्यले कलाकार कट्टेल उत्साहित मात्र होइन, निकै हर्षित र खुसी पनि देखिए । विगतमा काँसघारी रहेको जमिनमा राष्ट्रियस्तरका खेलाडी आएर खेल्ने ठाउँ बनेको उनी बताउँछन् ।
रंगशाला बन्दा पार्किङ एरिया हुने ठाउँमा अघिल्लो वर्षको मंसिरबाट नमुना क्रिकेट मैदान बनाउन सुरु गरिएको थियो । नमुना मैदान तयार भएपछि स्थानीय क्लबहरूले क्रिकेट प्रतियोगिता गर्न थालेका थिए । राष्ट्रिय खेलाडीहरू नै आएर यसरी म्याच खेलेको यो पहिलो अवसर हो ।
लकडाउनको समयमा कामदारसहित कट्टेल आफैँले दुबो रोपेका थिए । त्यसकारण पनि यो मैदानमा भएको राष्ट्रिय खेलले आफूलाई खुसी दिएको उनी बताउँछन् । ‘राष्ट्रिय खेल हेर्दा कसलाई खुसी लाग्दैन र ? त्यसमा पनि कोरोना भाइरसले ठप्प भएको खेल यहाँबाट सुरु भएको छ । यहाँ आउने खेलाडी बन्दै गरेको रंगशालामा खेल खेल्न पनि आतुर भएको बुझ्छु,’ उनी भन्छन् ।
नेपाली मौलिकताको रंगशाला
रंगशाला निर्माणको अभियन्ता सबै नेपाली भएको उनी बताउँछन् । भन्छन्, ‘म आत्मविश्वासले काम गर्दै आएको मान्छे हुँ । यो इमान्दारिताको यात्रा हो । हामी देश विकासमा सबै पक्ष एकढिक्का भयौँ भने देश विकासको गतिमा अघि बढ्छ । सबै नेपालीको साथ हुने हिसाबले धुर्मुस सुन्तलीले आँट गरेका हुन् ।
सीताराम कट्टेल धुर्मुस, कलाकार
कलाकारितामा ध्यान नगएको हैन । कहिलेकाहीँ मनमनै जल्छु पनि । मभित्र कलाकारिता छ । म आफैँ पनि सोच्छु मलाई भगवान्ले कलाकारिता नै गर्न पठाएका हुन् । हामीले अभिनय गरेका धुर्मुस सुन्तली, मुस्कान पासा, फतौरी, खड्काजीलगायतका भूमिका सम्झन्छु । कलाकारिताको पिक अवस्थामा हामी त्योभन्दा बाहिर आयौँ । हामी कलाकारिताका लागि जन्मिएका हौँ ।
यसका अभियन्ता सबै नेपाली हुनुहुन्छ ।’ एउटा सामान्य कलाकारले आँट गरे पनि सबैको साथले तीन अर्बको योजना पूरा हुने दिशामा अघि बढेको उनी बताउँछन् । ‘म सामान्य एउटा कलाकारले यस्तो आँट गर्दैगर्दा सबैको साथले नै यो बन्छ भन्ने सोचेर आएको हुँ । मेरो सबै सम्पत्ति बेच्दा पनि यो सम्भव हुन्न, त्यसैले यसमा हरेक नेपालीको साथ सहयोग आवश्यक छ,’ उनी भन्छन्, ‘त्यहीअनुसार रंगशालाको परिकल्पना भएको हो । यहाँ ७७ वटा कक्ष, सातै प्रदेश प्रतिनिधित्व गर्ने गेट छन् । नेपाली मौलिकता यो रंगशालाको विशेषता हो ।’
कलाकार कट्टेलले रंगशाला बनाउँदाको धेरै उधारो बजारमा बाँकी रहेको सुनाए । ‘अहिले हाम्रो फाउन्डेसनको खातामा पैसा छैन । बजारमा अर्र्बौँ रकम दिनुपर्नेछ । विश्वासका आधारमा सामान पठाउनु भएको छ । रंगशाला निर्माणमा सहयोग पुगोस् भनेर महायज्ञ पनि लगाइएको थियो । ‘दिन्छु’ भनेर घोषणा भएको आर्थिक सहयोग अझै उठ्न सकेको छैन,’ उनी भन्छन्, ‘दिमागमै रंगशाला देखेर आएको मान्छे हुँ म । आफैँ दिनरात खटिरहेको छु । कामदारसँगै काम गरिरहेको हुन्छु । अन्तर्राष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम सकिनुले पनि भन्छ, अबको केही दिनमा नेपालीको खुसीको खबर पक्कै गुन्जिन्छ ।’
अभिनय गर्न नपाएर मनमनै जल्छु
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण र त्यसअघि एकीकृत नमुना बस्ती बनाउन लागेसँगै कट्टेलको कलाकारिता यात्रामा अवरोध भएको हो । तर, पनि बीचमा कट्टेल र उनकी श्रीमती कुञ्जना घिमिरे सुन्तलीले चलचित्र निर्माण गरे । चलचित्र त्यति चलेन । उनलाई आफूले बनाएको ‘सेन्टिभाइरस’ चलचित्रबाट निकै आस थियो । त्यसबाट आम्दानी हुने पैसा रंगशाला निर्माणमै हाल्ने घोषणा गरेका थिए । तर, चलचित्र त्यति चलेन ।
‘कोरोना भाइरससँग यो चलचित्रले प्रतिस्पर्धा गर्न सक्छ भन्ने थियो । तर, हलमा चलचित्र हुँदाहुँदै कोरोनाका कारण बन्द भयो । रंगशालातिर ध्यान दिँदा चलचित्रलाई समय दिन सकिनँ । त्यो समयमा डिपिआरको तयारीमा थिएँ । मेरो मस्तिष्कमा रड, सिमेन्ट बालुवा–गिट्टी, रोडादेखि केही छैन,’ उनी भन्छन्, ‘म रंगशालाको सपना पूरा गर्न मात्रै केन्द्रित छु । केही समयमै कलाकारिता क्षेत्रमा पनि देखिनेछौँ । जसको अहिले काम भइरहेको छ ।’
अभिनय गर्ने इच्छा धेरै भए पनि अहिले जिम्मेवारी बढी भएको उनी सुनाउँछन् । ‘कलाकारितामा ध्यान नगएको हैन । कहिलेकाहीँ मनमनै जल्छु पनि । मभित्र कलाकारिता छ । म आफैँ पनि सोच्छु मलाई भगवान्ले कलाकारिता नै गर्न पठाएका हुन्,’ उनी भन्छन्, ‘हामीले अभिनय गरेका धुर्मुस सुन्तली, मुस्कान पासा, फतौरी, खड्काजीलगायतका भूमिका सम्झन्छु । कलाकारिताको पिक अवस्थामा हामी त्योभन्दा बाहिर आयौँ । हामी कलाकारिताका लागि जन्मिएका हौँ । पहिला म हप्ता–हप्तामा टेलिभिजनमा आउँथेँ, यस कुराले पनि चसक्क हुन्छ मन । बिहान र बेलुका म यिनै कुरा सोच्छु ।’
योजनाविनाकै काम
कलाकार कट्टेल आफूले कहिल्यै पनि रंगशाला बनाउँछु भनेर नसोचेको बताउँछन् । भन्छन्, ‘मैले कहिल्यै यो बन्छु र गर्छु भनेर योजना बनाइनँ । म पहिले चित्र बनाउँथेँ, राम्रो चित्रकार हुन्छुजस्तो लाग्थ्यो । पछि पत्रकारिता पढेँ, राम्रो पत्रकार हुनुपथ्र्यो होला । तर, त्यसपछि कलाकारितामा लागियो । हास्यव्यंग्य क्षेत्रमा स्थापित पनि भइयो,’ उनी भन्छन्, ‘तर बाढी आउला, भूकम्प जाला र हामी सामाजिक काममा जाऔँला, देशले एक दिवसीय मान्यता पाउला क्रिकेट खेलमा, त्यसका लागि रंगशाला बनाउन लागिएला भनेर कहिल्यै योजना बनाएको थिइनँ । विनायोजनाको यात्रामा म छु ।’
स्वाभाविक रूपमा राज्यले बनाउनुपर्ने संरचना एउटा व्यक्तिले बनाउन लाग्दा वा संकल्प गर्दा मिश्रित प्रतिक्रिया आउने उनको कथन छ । ‘यदि सबै सरकारले जनमुखी भएर काम गरेको भए हामी हाम्रो पेसामै रमेर आफ्नै पेसालाई मर्यादित र सम्मानित बनाएर हिँड्थ्यौँ होला नि । समाजलाई राजनीतिले गाँजेको छ ।
अहिले विरोध गर्नेले पनि पक्कै एक दिन स्याबास भन्नु हुनेछ,’ कट्टेल भन्छन्, ‘नकारात्मक प्रतिक्रियाले मन विचलित भएको छैन । म सिक्दै छु । सिक्ने काम कहिल्यै पनि सकिँदैनजस्तो लाग्छ । मेरो कर्म ठीक लागेको महसुस भएको दिन किताबमार्फत तितामीठा सबै कुरा सार्वजनिक गर्छु । त्यसका लागि हरेक दिनको दैनिकी लेखेर राख्ने गरेको छु ।’
कस्तो बन्दै छ रंगशाला ?
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाको अग्रसरतामा विद्यालयलाई अन्यत्रको जमिन सट्टाभर्ना गर्ने गरी २० बिघा ६ कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यसपछि रंगशाला निर्माणको काम अगाडि बढाउन धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच समझदारी भएको थियो । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच १६ माघ २०७५ मा सहमति भयो ।
आवश्यक प्रक्रिया पुगेपछि निर्माण सुरु गर्ने र दुई वर्षभित्र रंगशाला तयार गर्ने सम्झौता भएको कट्टेल बताउँछन् । कोरोना महामारीले गर्दा काममा प्रभाव परे पनि अहिले दैनिक दुई सयभन्दा बढी कामदार रंगाशाला निर्माणमा खटिएका छन् ।
डिपिआरअनुसार रंगशाला एक लाख ५४ हजार पाँच सय ६ वर्गमिटरमा कमलको फूल आकारको संरचनामा बन्नेछ ।
रंगशालाको प्रवेशमै पानीमाथि गौतम बुद्धको ठूलो आकारको मूर्ति देखिनेछ । वरिपरि नेपालको पहिचान झल्कने जनावरसमेत रहनेछन् । झ्यालढोकामा मल्लकालीन कला झल्कनेछ । क्रिकेट खेललाई प्राथमिकतामा राखी पाँच पिच हुनेछन् ।
यहाँ ३० हजार दर्शक अट्ने क्रिकेट रंगशालासहित अन्य खेलहरू पनि गर्न मिल्ने बहुउद्देश्यीय रंगशाला बन्दै छ । जसको निर्माण लागत तीन अर्ब रुपैयाँ छ । ३० हजार दर्शक बस्न बनाइने प्यारापिटको २८६ वटा पिलर हुनेछन् । सबै पिलर ढलान भइसकेका छन् ।
