जंंगली हात्तीको समूह देखेर भाग्ने क्रममा घाइते भएका सिराहा लहानसँगै जोडिएको सप्तरीको सुरुंगा नगरपालिका– ३ दैलतपुर गाउँका एक वृद्धको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
आफ्नै घरमा सुतेका करिब ७० वर्षीय सीताराम साह बिहान करिब ३ बजेतिर पिसाब गरेर उठ्ने क्रममा नजिकै हात्तीको समूह देखेपछि भाग्ने क्रममा घाइते भएको प्रहरीले जनाएको छ ।
घरका अन्य सदस्यहरूले थाहा पाएलगत्तै लहानस्थित सप्तऋषि अस्पतालमा उपचारार्थ भर्ना गरिएका साहको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडियाले जनाएको छ ।
हात्तीको समूहको आक्रमणमा गरेको नभई उनी हात्ती देखेपछि सम्भावित आक्रमण हुन सक्ने अनुमानका साथ भाग्ने क्रममा घाइते भएका वृद्धको हृदयाघातबाट मृत्यु भएको आशंका गरिएको भए पनि पोस्टमार्टम गरेपछि मात्र थाहा हुने भेडिया प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सागिर राइनले बताए ।
प्रहरीका अनुसार मृतकको साहको शव पोस्टमार्टमका लागि लहानको रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।
चुरे क्षेत्रमा हात्तीको बढ्दो आतंक
मंसिरको दोस्रो सातादेखि मानव बस्तीनजिकै पर्ने चुरे जंगलबाट गाउँ पसेको पाँचवटा जंगली हात्तीको समूहले सप्तरीको पश्चिम उत्तरवर्ती पछिल्लो सप्तरीको उत्तर पश्चिमी भेगमा पर्ने सुरुंगाको श्रीपुर, खोरिया टोल, लक्ष्मीपुर, दौलतपुर, कडहर्वा, चहका, विषनरियालगायतका गाउँमा जंगली हात्तीको समूहले घर भत्काइदिने, अन्नपात खाइदिन थालेपछि स्थानीय आतंकित बनेका छन् ।
गत शुक्रबार राति ९ बजेतिर सुरुंगा– १ चहका गाउँमा मुसहर बस्तीको १८ घर भत्काउनुका साथै अन्नपात खाइदिएको थियो ।
सिराहा सप्तरीको उत्तरी क्षेत्रमा प्रायः हरेक हिउँदमा पूर्वी भेगबाट चुरे जंगल हुँदै आउने जंगली हात्तीको समूहले स्थानीय बासिन्दाको घर भत्काइदिने, बालीनाली खाइदिने गरेको छ ।
सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष झाले हात्तीको आक्रमणबाट जोगिन सजग रहनुको विकल्प नरहेको बताए ।
‘संरक्षित जनावर हो, केही गर्न मिल्दैन, यद्यपि मानवीय क्षति हुन नदिन स्थानीय प्रशासन, वन र प्रहरीको टोलीले प्रभावित बस्तीहरूमा पुगेर सजग गराइरहेका छौँ,’ वन अधिकृत झाले भने ।