प्राचीन सम्पदा र परम्परागत प्रविधि

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

भक्तपुरको पाँचतले मन्दिर (न्यातपोल) परम्परागत प्रविधि र इन्जिनियरिङको एउटा उत्कृष्ट नमुना हो । यसको निर्माण विधि र गणितले आजको आधुनिक प्रविधिलाई पनि माथ गर्छ । त्यसैले त ९० साल, ४५ साल र ७२ सालको भूकम्पमा पनि उक्त मन्दिर ढलेन । त्यो मन्दिर केबल ६ महिनामा निर्माण सम्पन्न भएको थियो । आजकल एउटा घर बन्नसमेत वर्ष दिन लाग्ने अवस्थामा त्यो वेलाको सीमित जनशक्ति, साधनस्रोतका बाबजुद ६ महिनामा नै उक्त मन्दिर निर्माण हुनु पक्कै पनि आश्चर्यको विषय हो ।

काठमाडौं उपत्यका मल्लकालीन सभ्यताको केन्द्र हो । यहाँका हरेक मठमन्दिर, पाटीपौवा, विहार, दरबार, घर आदि परम्परागत प्रविधिबाटै निर्माण भएका छन् । हाम्रा परम्परागत तेलीय इँटा, दाचीअपा, टायल, झिँगटी, लस्सादार माटो र बज्रको जोडाइ सिमेन्ट, बालुवाभन्दा बलियो छ । साल, सिसौ, बाँसको निदाल र थाम, टुँडाल आधुनिक डन्डीभन्दा मजबुत छ । जसको जोडाइमा किलासमेत प्रयोग गरिँदैन थियो । त्यतिवेलाका घरहरू पनि परम्परागत प्रविधिबाट बनेका हुन्थे, जुन जाडोमा न्यानो हुन्थ्यो, गर्मीमा शीतल । तर, आजकालका कंक्रिटका घरहरू जाडोमा चिसो र गर्मीमा तातो हुन्छन् । 

हाम्रा परम्परागत प्रविधिहरू वातावरणमैत्री र वैज्ञानिक थिए । भक्तपुरको बिस्केट जात्रामा बनाइने रथ र त्यसको पाङ्ग्रामा एउटै किला प्रयोग गरिँदैनथ्यो । त्यसैगरी मल्लकालमा बनाइएका ढुङ्गेधारामा पानी ल्याउन माटोकै डुँडहरू बनाइएका थिए । त्यसवेलाको कृषि पनि जैविक थियो । मलको रूपमा कालिमाटी प्रयोग गरिन्थ्यो । घरघरमा मलखाल्डो बनाई जैविक मल बनाइन्थ्यो । पछि रासायनिक मलको प्रयोगले उत्पादकत्व बढे पनि त्यसले माटो बिगारेको छ । अम्लीयपना बढाएको छ । उपत्यकामा धेरै पोखरी छन् । ती बस्तीभन्दा अग्लो ठाउँमा बनाइएका छन् । अग्लो ठाउँमा समेत पोखरी बनाएर पानी अड्याउने प्रविधिको विकास गर्नु कम महत्वको छैन । आज ती पोखरीहरू मासिएका छन् । त्यसमाथि व्यापारिक कम्प्लेक्स, मैदान, घर, बाटो बनेका छन् ।

यी परम्परागत प्रविधि हाम्रा मौलिक प्रविधि हुन् । तिनमा हाम्रो परिचय लुकेको छ र ती हाम्रा समृद्धिका झिल्काहरू हुन् । विकासका नाममा हामीले परम्परागत प्रविधि मास्दै गयौँ । विदेशीहरू उही परम्परागत प्रविधि र सम्पदाको अध्ययन गर्न नेपाल आउँछन्, तर हामी भने भिल्ल बनी मणिलाई चिन्न सकिरहेका छैनौँ । कस्तुरीले जसरी बिना आफैँसँग भएको भुलिरहेछौँ । 

सम्पदा संरक्षणमा भक्तपुरले उदाहरणीय काम गर्दै आएको छ । एकताका पञ्चायत कालमा जर्मन प्रोजेक्टले सम्हालेर बिगारेको भक्तपुरमा अहिले आफ्नै परम्परागत सीप र प्रविधिको प्रयोग गरेर सम्पदा निर्माण भइरहेको छ । स्थानीय जनता संलग्न उपभोक्ता समिति गठन गरी जनसहभागितामा अनुमानित लागतभन्दा कम खर्चमै परम्परागत प्रविधि प्रयोग गरी धेरै सम्पदाहरूको पुनः निर्माण गरिसकिएको छ । ती सम्पदा पुनः निर्माण गर्दा परम्परागत निर्माण शैलीमै काठ, ढुङ्गा, तेलीय इँटा, झिँगटीको प्रयोग भएका छन् । जसको जोडाइमा इँटाको धुलो, चुन मिसिएको वज्रको प्रयोग गरिएका छन् । परम्परागत विधिबाटै भक्तपुरले विभिन्न मठमन्दिर, विहार, पाटीपौवा, पोखरी पुनः निर्माण गरी संरक्षण गर्दै छ । एकताका घाँसे मैदान बनेको र दन्त्यकथाको निर्जन ठाउँ बनिसकेको सिद्धपोखरीलाई सुन्दर रूप दिइको छ । भाजुपोखरीले पनि पुनर्जीवन पाउँदै छ ।

हामी परम्परागत प्रविधिमा सम्पन्न छौँ । हरेक गाउँ, समुदाय, जातजातिभित्र अनेक मौलिक प्रविधि छन् । जसको अभिलेखीकरण हुन जरुरी छ ।

हाम्रा सम्पदा संरक्षण र परम्परागत प्रविधिको संरक्षण गर्न समुदाय, स्थानीय सरकार र संघीय सरकार सबै नै लाग्नुपर्छ । विकासको नाममा सम्पदा मास्ने र आधुनिकताको नाममा प्राचीन मठमन्दिरको निर्माणमा कंक्रिट प्रयोग गर्नु तिनलाई विरूप पार्नु हो । हाम्रा परम्परागत प्रविधि मास्नु भनेको हाम्रो इतिहास मेट्नु पनि हो । बरु तिनमा रहेका कतिपय वैज्ञानिक पद्धतिलाई अंगिकार गर्दै तिनको प्रयोगमा जोड दिनुपर्छ ।

मानिस श्रम र बुद्धिकै कारण आजको अवस्थामा आइपुगेको हो । मानव सभ्यताको विकासक्रममा मानिसले अनेक चमत्कारपूर्ण काम गरेका छन् । अनेकौँ सभ्यताहरूको विकास गरेका छन् । तर, ती कतिपय सभ्यता अहिले इतिहासको गर्भभित्र लुकिसकेका छन् । मानवले विकास गरेका विभिन्न सभ्यतामा तिनका तत्कालीन क्षमताको प्रयोग भएको हुन्छ । सीप र कौशल पोखिएको हुन्छ । मायान, मोहेन जोदाडो, हरप्पा, मेसोपोटामिया, मिश्र, वैदिक सभ्यताले तत्कालीन समयको वैभवलाई उजागर गर्छन् । तत्कालीन मानवका क्षमता र सीपलाई प्रदर्शन गर्छन् । वैज्ञानिक तथा मानवशास्त्रीहरू अझै तिनको खोज, अध्ययन र अनुसन्धान गरेर नयाँ तथ्य पत्ता लगाउँदै छन् । संसारका सबै राष्ट्रले आफ्नो प्राचीन सम्पदा र प्रविधिको संरक्षण र संवद्र्धन गर्दै आएका छन् । यति हुँदाहुँदै पनि सम्पदाको महत्व नबुझ्नेहरूले अफगानिस्तानका विशाल बुद्धमूर्ति भत्काए, इराकको प्राचीन सम्पदामाथि बम प्रहार गरे । कतिपय युद्धमा हाम्रा सम्पदा एवं सभ्यताहरू नष्ट भए । प्राकृतिक प्रकोपले पनि नष्ट भए । जति बचेका छन्, आज ती हाम्रा धरोहरको रूपमा रहेका छन् । तिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।

हामी परम्परागत प्रविधिमा सम्पन्न छौँ । हरेक गाउँ, समुदाय, जातजातिभित्र अनेक मौलिक प्रविधिहरू छन् । जसको अभिलेखीकरण हुन जरुरी छ । कुनै रोग चोटपटक लाग्दा गाउँघरमै पाइने जडीबुटीबाट गरिने उपचार, लोक्ताबाट नेपाली कागज बनाउने विधि, ढिकी, जाँतो, पानीघट्टजस्ता कुटानी पिसानी विधि, सुकुल बुन्ने विधि, जाल बुन्ने विधि, तानबाट घरेलु कपडा बुन्ने विधि, तोरीको तेल र उखुको रस निकाल्ने कोल, इँटाको धुलो, चुन, भाकु, जुटको धागो, मास, मेथी आदिको वज्र बनाउने प्रविधि, कालो टोपी, ढाका बुन्ने विधि, दही, मोही, गुँदपाक, चाकु बनाउने प्रविधि, राडीपाखी, गलैँचा, साबुन, घडी, खयर आदि बनाउने प्रविधि आजकाल हराउँदै छन् । 

पहिला रिठ्ठामा पकाएर लुगाकपडा धुन्थ्यो । जसले शरीरका घाउ, खटिरा निको हुन्थ्यो तर आजकाल रसायनको प्रयोगले छालामा एलर्जी हुन्छ । पहिला ढिकी, ओखलमा कुटेको चामल कब्जियत, सुगरको लागि लाभदायक हुन्थ्यो तर आजकाल हेर्दै चिल्लो र पालिस गरेको चामल खाने बानीले पेटको रोग जन्मिरहेको छ । आँटासहितको पिठो स्वास्थ्यबर्धक थियो, तर आजकाल जिब्रोले मैदाको स्वाद खोजिरहेको छ । जाँडरक्सी बनाउन प्रयोग गर्ने मर्चाको निर्माण विधि अभिलेखीकरण नहुँदा त्यो परम्परागत प्रविधिको हराउने खतरामा छ । हाम्रा पुर्खाहरू बैँसको रुख रोपी खोला, नदीको किनारमा पहिरो रोकी जग्गा संरक्षण गर्थे । जोरन राखी बनाएको दहीको स्वाद बिर्सिनसक्नुको हुन्थ्यो । भिरालो ठाउँमा गरा बनाई खेती गर्ने प्रविधि वैज्ञानिक थियो । अन्न सुकाई भकारीमा लामो समयसम्म भण्डारण गरिन्थ्यो । कोल्डस्टोर नभएको वेला जमिनमुनि खाल्डो खनेर अदुवा, पिँडालु आदि लामो समयसम्म भण्डारण गरिन्थ्यो । काटेको धानलाई हप्ता दिनसम्म थुपारी कालो धान बनाइन्थ्यो । बढी भएको हरियो सागपातको गुन्द्रुक, सिन्की बनाइन्थ्यो । आधुनिक जीवनशैलीका कारण आजकाल ती प्राविधिक हराउँदै छन् ।

संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका परम्परागत प्रविधि, सीपको संरक्षणमा सक्रिय हुन थालेका छन् । विभिन्न स्थानीय नगरपालिका, गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । यससँगै नयाँ पुस्ताले परम्परागत ज्ञान, प्रविधि र सीपको जानकारी दिने प्रयास गर्दै छन् । संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ ‘ख’ को १८ मा स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, संवद्र्धन र स्तरीकरण गर्ने दायित्व र अधिकारी स्थानीय तह, नगरपालिका, गाउँपालिकालाई दिएको छ । सोहीअनुसार विभिन्न नगरपालिका, गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिसकेका छन् र कतिले तयार गर्दै छन्। 

बालुवाबाट सुन छान्ने, चिउरा कुट्ने, विभिन्न जातजातिको मौलिक खानेकुरा बनाउने, मिथिला चित्रकला, नेवार तथा थारू महिलाले टाटु खोप्ने, थान्का बनाउने र आरनबाट भाँडाकुँडा, हतियार बनाउने प्रविधिहरूमा पुर्खाको वर्षौंदेखिको ज्ञान र अनुभव मिसिएको छ । ती प्रयोगमा आधारित छन् । तिनको अध्ययन, अनुसन्धान र संरक्षणमा चासो देखाउन आवश्यक छ । नेपाल भाषा, जाति, धर्म, भौगोलिक विविधताले भरिएको देश हो । त्यसैले यहाँ धेरै थरीका मौलिक प्रविधिहरू छन् । औद्योगिक एवं विकसित तथा बहुराष्ट्रिय कम्पनीहरूले परम्परागत प्रविधि र मौलिक ज्ञान प्रणालीलाई अन्त गरी आफ्नै एकलौटी प्रविधि लागू गरेको अवस्थामा हाम्रा प्रविधिहरू विस्थापित हुँदै छन् । ती भूमण्डलीकरण र नवउदारवादको चपेटामा पर्दै छन् । जसले हामीलाई परनिर्भर बनाइरहेको छ । हामी तिनकै आधुनिक विचार र प्रविधि आयात गरिरहेका छौँ । 

सुझावित समाचार