महासचिवको निमन्त्रणामा आएका चौथाइवालेको भ्रमणबारे नेकपा विदेश विभाग अनभिज्ञ
सत्तारुढ नेकपाभित्र ठूलो किचलो भइरहेका वेला भारतीय जनता पार्टीको विदेश विभाग इन्चार्ज विजय चौथाइवाले बिहीबार काठमाडौं आइपुगेका छन् । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा आएका उनले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै चाहनामा नेकपाका महासचिव पौडेलले चौथाइवालेलाई निमन्त्रणा–पत्र पठाएका थिए । यस विषयमा नेकपाको विदेश विभागलाई भने कुनै जानकारी छैन । ‘विजय चौथाइवालेजीको भ्रमणबारे नेकपा विदेश विभागलाई औपचारिक जानकारी छैन, उहाँको ट्विटबाट थाहा पाएका हौँ,’ नेकपा विदेश विभागका एक नेताले भने, ‘प्रधानमन्त्री केपी ओलीको विशेष अभिरुचिमा उहाँहरूको समूहले यो भ्रमण मिलाएको होला, हामीलाई थाहा छैन ।’
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भ्रमणबारे जानकार नभएको स्रोतको भनाइ छ । विदेश विभाग प्रमुख माधव नेपाल र उपप्रमुख विष्णु रिजाललगायतका नेताहरूसँग चौथाइवालेको भेटवार्ता पनि भएको छैन ।
भाजपा नेता चौथाइवाले काठमाडौं आएलगत्तै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । उनीहरूबीच दुई देशको जनस्तरको सम्बन्ध विस्तारबारे कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । ‘भारतीय नेता चौथाइवालेले प्रधानमन्त्रीसँग भेटेर दुई देशको जनस्तरको सम्बन्ध विस्तारबारे कुराकानी गर्नुभएको छ,’ उनले भने, ‘नेकपा र भाजपाको सम्बन्ध विस्तार तथा जनस्तरको सम्बन्धबारे छलफल भएको छ ।’
चौथाइवाले भारतीय प्रधानमन्त्री मोदीका अत्यन्त निकट मानिन्छन् । मोदीको नेपाल भ्रमणका वेला र त्यसपछि पनि उनी पटक–पटक नेपाल आएका छन् । बिहीबार काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग भेट भएको पनि उनले नै ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।
नेकपाका महासचिव पौडेलको निम्तामा आएको चौथाइवालेले नै उल्लेख गरेका छन् । ‘आज प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग भेट्दा गौरवाञ्वित छु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलजीको निमन्त्रणामा काठमाडौंमा आउने सौभाग्य प्राप्त भयो,’ चौथाइवालेले ट्विटरमा लेखेका छन् । उनी दिल्लीबाट गोरखपुर, भैरहवा हुँदै बिहीबार बिहान काठमाडौं आएका हुन् । उनी शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।
मंसिरभित्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने चर्चा छ । तर, सल्लाहकार भट्टराईले भने ओलीको भारत भ्रमणबारे अहिले जानकारी नभएको बताए । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध विस्तार भइरहेका वेला भारतको सत्तारुढ भाजपाले पनि नेकपासँग सम्बन्ध विस्तारमा रुचि देखाएको छ । दुई देशलाई सन्तुलनमा राख्न ओलीले पनि त्यसमा रुचि देखाएको स्रोतको भनाइ छ ।
दुई महिना नबित्दै भारतबाट चार भ्रमण
विदेश विभाग इन्चार्ज विजय चौथाइवालेसहित दुई महिना नबित्दै भारतबाट चारवटा भ्रमण भएका छन् । यसअघि भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयल, स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र परराष्ट्रसचिव हर्षवर्धन शृंगला काठमाडौं आएका थिए । अब मंसिर अन्तिम साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने तयारी छ ।
गत ५ कात्तिकमा काठमाडौं आएका ‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । सरकारले उनी भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा आएको बताउँदै आएको छ । त्यसलगत्तै १९ र २० कात्तिकमा स्थल सेनाध्यक्ष नरभणेले औपचारिक भ्रमण गरेका थिए । त्यस्तै, ११ र १२ मंसिरमा परराष्ट्रसचिव शृंगला काठमाडौं आएका थिए । उनी भारतीय समकक्षी मोदीको सन्देश लिएर आएको प्रधानमन्त्री ओलीका निकटवर्तीहरूको भनाइ छ ।