पूर्वीनाकामा लागुऔषध कारोबारी बढे

खोलामा नुहाउने निहुँले ल्याउँछन् लागुऔषध

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । नाकाबन्दीका बाबजुद पनि कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो भित्र्याउने गरेका छन् । 

अनेक बहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य सार्वजनिक भएको छ । खोलामा नुहाउने, गाईबस्तु चराउनेजस्ता बहानामा मेची नदी पार गर्दै कारोबारीले लागुऔषध भित्र्याउने गरेको प्रहरीले जनाएको छ । ‘लकडाउन सकियो ।

सीमावर्ती बजारमा चहलपहल सुरु भएसँगै कारोबारीको पनि सक्रियता बढेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले भने, ‘विभिन्न बहानामा मेची नदीसम्म जानेर लागुऔषध ल्याउने रहेछन् । नुहाउने बहानामा खोलामा जाने र प्रहरीको आँखा छलेर लागुऔषध ल्याउने गरेको पाइयो ।’

प्रहरीले थाल्यो ‘सर्च एन्ड सिजर’ अप्रेसन
नाकामा लागुऔषध कारोबार बढेपछि प्रहरीले ‘सर्च एन्ड सिजर’ अप्रेसन चलाएको छ । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले अभियान चलाएको डिएसपी पोखरेलले जानकारी दिए । ‘एकदम धेरै मौलायो । प्रयोगकर्तालाई मात्र पक्राउ गरेर केही हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने, ‘अब कारोबारीलाई नै पक्राउ गर्नुपर्छ भन्ने उद्देश्यले सर्च एन्ड सिजर अप्रेसन चलाएका हौँ ।’ 

सोही क्रममा अघिल्लो आइतबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले २८ ग्राम ब्राउनसुगरसहित लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको थियो । घरमै कारोबार चलाउँदै आएका मेचीनगर–७ का २९ वर्षीय सीताराम आङदेम्बे र उनकी श्रीमती २२ वर्षीय मनीषा मगर आङ्देम्बेलाई प्रहरीले पक्रेको हो । उनीहरूले लागुऔषधको ‘डिलर’ चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

प्रहरीले उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर र लागुऔषध बिक्री गरेर जम्मा गरेको एक लाख ३३ हजार नगद बरामद गरेको डिएसपी पोखरेलले जानकारी दिए । यस्तै, उनीहरूसँग लागुऔषध खरिद गर्न आएका धरान–५ का २४ वर्षीय कल्याण राई र धरान– १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई पक्राउ गरेको छ ।

कल्याणको साथबाट ५ र रिजनको साथबाट १० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा उनीहरूको प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको हो । 

पछिल्लो समय पूर्वीनाकाबाट ब्राउनसुगर धेरै बरामद हुने गरेको पोखरेलले बताए । यो नाकामा लागुऔषध ओसारपसारमा झापासँगै मोरङ र सुनसरीका युवाहरू बढी सक्रिय रहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार