स्वास्थ्य मापदण्ड अपनाएर संसद् चलाउन सकिने विज्ञहरूको दिए सुझाब

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

संघीय संसद्ले कोभिड– १९ संक्रमणकाबीच संसद् चलाउनेबारे विज्ञहरूसँग छलफल गरेको छ ।

बुधबार संसद् सचिवालयले काठमाडौंमा विज्ञहरूसँग छलफल गरेर संसद् चलाउने उपायको खोजी गरेको हो । सचिवालयले सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन र जनप्रशासनविज्ञ एवं पूर्वसांसद जनकराज जोशीसँग छलफल गरेको हो । 

छलफलमा सरुवा रोग विशेषज्ञ डा. पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पूरा गरेर संसद्को बैठक चलाउन सकिने बताए । 
उनले भौतिक दूरी र स्वास्थ्य मापदण्ड इमान्दारीसाथ पालना गर्नुपर्ने पनि बताए । 

छलफलमा जनप्रशासनविज्ञ एवं पूर्वसांसद जोशीले सदनको बैठक थोरै सांसदको उपस्थितिमा चलाउन सक्ने गरी व्यवस्था गर्न आवश्यक रहेको बताए । 

सदनको बैठकमा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने व्यवस्थालाई कडाइका साथ पालना गर्न सके बैठक चलाउँदा कुनै समस्या नहुने उनको सुझाब छ । 

भौतिक दूरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा हाइब्रिड तरिकाले संसद् चलाउन सकिने सुझाब पनि जोशीले दिए । 

अहिलेको नियमावलीमा हाइब्रिड संसद्बारे केही व्यवस्था नभएकाले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकास दिन सक्ने पनि उनले बताए । 

छलफलमा विज्ञहरूले संसद् चलाउने विषयमा राजनीनिक दलहरूबीच मतैक्यता हुन आवश्यक रहेको पनि बताएका छन् ।

सुझावित समाचार