बैंकमा डलर खाता नहुनेले पनि अब विदेशमा पाँच सय डलरसम्म भुक्तानी गर्न पाउने भएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गर्दा भुक्तानीका लागि विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ ।
सर्वसाधारणले भौतिक उपभोग्य वस्तुहरूको भुक्तानीका लागि भने यस्तो सुविधा नपाउने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख बमबहादुर मिश्रले जानकारी दिए । यद्यपि सामाजिक सञ्जालमा विज्ञापन गर्न, सरकारले प्रतिबन्ध यौन साइटहरूबाहेकका अन्य मनोरञ्जनात्मक साइट हेर्न, प्राविधिकहरूलाई किटहरू खरिद गर्नलगायतका लागि यस्तो सुविधा दिइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
‘धेरै ठूलो रकमको भुक्तानी सुविधा दिन लागेका होइनौँ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख बमबहादुर मिश्रले भने, ‘विदेशबाट आउने भौतिक समाग्रीको डेलिभरी सजिलो छैन यही भएर यस्तो सुविधा त्यसमा भने हुनेछैन ।’
यसअघि गत माघमा राष्ट्र बैंकले सामाजिक सञ्जालहरूमा विज्ञापन गर्न नपाइने स्पष्ट पारेको थियो । सामाजिक सञ्जालमा प्रायोजन गर्न, विज्ञापन गर्न रोक्न चाहेर पनि नरोकिएपछि वैधानिक बाटो खोल्न लागिएको हो । हुन्डीको मध्यमबाट यसका लागि भुक्तानी भइरहेकाले पनि सरकारले वैधानिक बाटो खोल्न लागेको हो ।
हाल मुलुकबाट करिब सामाजिक सञ्जालबाट विज्ञापन गरेबापत दुई अर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार हुने विज्ञापन एजेन्सीहरूले अनुमान गर्दै आएका छन् । आइटी कम्पनीहरूले समेत यस्तो भुक्तानीमा अवैधानिक तरिकाले पैसा पठाउन सहयोग गर्दै आइरहेको विज्ञापन एजेन्सीहरूले बताउँदै आएका छन् ।
त्यस्तै पब्जीजस्ता अनलाइन गेमहरू खेल्नकै लागि समेत वार्षिक १२–१३ करोड रुपैयाँ बिदेसिने गरेको अनुमान छ । यस्ता अनलाइन गेमका लागि पनि हालसम्म अनौपचारिक प्रणालीबाटै भुक्तानी हुँदै आएको थियो । विदेशमा रहेका नेपालीको सहयोगमा समेत यस्तो भुक्तानी हुँदै आएको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबारका लागि समेत पुँजी विदेश पलायन हुने गरेको खबर नयाँ पत्रिकाले नै प्रकाशित गरेको थियो ।
राष्ट्र बैंकले भने भुक्तानीको दिइने रकम सुविधा ठूलो नहुने बताएको छ । ‘३०/४० वा सय डलरसम्मको सुविधा दिइने हुन सक्छ,’ मिश्रले थपे । बैंकरहरूसँगको कुराकानीमा भने राष्ट्र बैंकले अधिकतम पाँच सय डलरसम्मका लागि यस्तो सुविधा दिने छलफल भएको बताएका छन् ।
‘अहिले विदेशी मुद्रा सञ्चिति उच्च रहेकोले पाँच सय डलरसम्म दिन सकिने उहाँहरूले बताइरहनुभएको छ,’ एक बैंकरले भने । यस्तो सुविधा भने प्रिपेड कार्डमार्फत पाइने भएको छ । प्रिपेड कार्डले भने खातामा भएबराबर रकम भुक्तानी वा कारोबार गर्न सकिन्छ ।
यस्तो सेवा भुक्तानीका लागि डलर खाता नै नचाहिने भएकाले कार्डमै पहिले आवश्यक र तोकिएको सीमासम्मको रकम लोड गर्ने सुविधा दिइने भएको हो । असोजसम्म मुलुकमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च सञ्चिति हो ।