सेयर धितो कर्जासहित ओभरड्राफ्ट कर्जा लगानी व्यवस्थामा समेत परिमार्जन गर्ने राष्ट्र बैंकको घोषणाले आइतबार सेयर बजार परिसूचक नेप्से एकै दिन १ सय २३ अंक (६ प्रतिशत)ले गिरावट आएको छ । एकोहोरो घटेसँगै नियमित ४ घन्टा कारोबार हुँदै बजार ६ प्रतिशतको सर्किट ब्रेक लागेर तीन घन्टामै बन्द भएको छ । बजार १ सय २३ अंकले घटेर १ हजार ९ सय ३२ बिन्दुमा सीमित भएको हो ।
बजार घटेसँगै धेरै लगानीकर्ताले राष्ट्र बैंकको आलोचना सुरु गरेका छन् । केही संघले भने आफूहरूले राष्ट्र बैंकबाट सकारात्मक आश्वासन पाएको बताएका छन् ।
‘हामीजत्तिकै उहाँ (राष्ट्र बैंकका अधिकारी)हरू चिन्तित हुनुहुन्थ्यो,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘डेपुटी गभर्नरसँगको छलफलपछि गभर्नरका पिएले समेत फोन संवादबाट गभर्नरको सन्देश सुनाउँदै सेयर धितो कर्जासम्बन्धी व्यवस्था पुनरावलोकन गर्दा हामीलाई पनि बोलाउने जानकारी दिनुभएको छ ।’
रौनियार केही साना तथा मध्यम लगानीकर्ता डराएका कारण बजार धेरै घटेको बताउँछन् । केहीले राष्ट्र बैंकको नीतिको विषयमा समेत अनावश्यक डर देखाएर खेलेको समेत आरोप उनको छ ।
बैंकहरूमा तरलतायोग्य पुँजी उच्च रहेका कारण पनि बजार बढ्न सहयोग पुगेको छ । पहिलो त्रैमासमा मात्रै अन्य कर्जा ५ प्रतिशत हाराहारी बढ्दा सेयर धितोमा कर्जा १८ प्रतिशतले वृद्धि भएर ५९ अर्ब रुपैयाँ पुगेको हो । सेयर धितोमा कर्जाबाहेक ओभरड्राफ्ट कर्जामा लाग्ने लगामको समेत बजारमा प्रभाव भने पर्न सक्छ । ओभरड्राफ्ट कर्जा भने असारको तुलनामा करिब ४ प्रतिशत (१९ अर्ब रुपैयाँ)ले वृद्धि भएर ५ खर्ब रुपैयाँ पुगेको छ ।
बजार उच्चदरमा घट्दा आइतबार लगानीकर्ताको सम्पत्तिको कागजी मूल्य पनि १ खर्ब ६५ अर्बले घटेको छ । बिहीबार २७ खर्ब ५५ अर्बको कुल बजार पुँजीकरण रहेकोमा आइतबार घटेर २५ खर्ब ८९ अर्बमा सीमित भएको छ ।
अर्थ मन्त्रालयले भने बजारको घटबढलाई लिएर हाल कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेको छ । ‘हामीले बजार घटबढको विषयमा धितोपत्र बोर्डसँग रायसल्लाह गरेका होइनौँ,’ अर्थमन्त्रीमा आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले भने, ‘अर्थ मन्त्रालयमा केही समयदेखि नै धितोपत्र बोर्डका अधिकारीहरू अनौपचारिक छलफलमा हुनुहुन्छ, यो छलफल समग्र सेयर बजारको सन्दर्भमा भइरहेको हो ।’
हाल ब्रोकर कमिसन घटाउने विषयमा धितोपत्र बोर्डले अध्ययन गरेको छ । बोर्डका अध्यक्ष विदेशमा रहेका कारण निर्णय हुन सकेको छैन । अर्थ मन्त्रालय लागत घटोस् भन्ने पक्षमै रहेको भए पनि बोर्डमै निर्णयको अधिकार रहने श्रेष्ठले स्पष्ट पारे । ब्रोकरको संख्या थप्ने, बैंकलाई ब्रोकरको विषयमा समेत छलफलहरू भने भइरहेको उनले बताए ।
बजारमा कारोबारमा आएकामध्ये ८ किसिमका धितोपत्र तथा ऋणपत्रलगायतको मूल्य बढेको छ भने १ सय ८५ वटाको मूल्य घटेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक भने ओरालो लागेको हो । कारोबार रकम केही घटे पनि कुल ७ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।