रुद्राक्षको कारोबारमा मन्दी

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

संखुवासभामा रुद्राक्ष दानाको कारोबारमा मन्दी आएको छ । लामो समयको लकडाउन र त्यसपछि छिटफुट रूपमा बजार खुले पनि व्यापारिक चहलपहल नहुँदा रुद्राक्षको कारोबारले गति लिन नसकेको हो ।

कारोबार ठप्प हुँदा लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरिरहेको स्थानीय व्यापारी बताउँछन् । वर्षदिनअघि नै रुद्राक्षको बगान र बोट नै ठेक्कामा लिएर कारोबार गर्ने मझौला व्यापारी सबैभन्दा बढी मर्कामा परेको व्यापारी छत्र कार्कीले बताए ।

तीन–चार वर्षअघिसम्म रुद्राक्षको कारोबार ह्वात्तै उठेको थियो । रुद्राक्षको भाउ उठ्दा कृषकले समेत राम्रै आम्दानी लिने गरेका थिए । तर, गत वर्षदेखि सामान्य रूपमा रुद्राक्ष कारोबार खस्कँदै गए पनि यस वर्ष झन् कोरोना भाइरसले डामाडोल बनाएको व्यापारीहरूको भनाइ छ ।  

   करिब दुई वर्षअघिसम्म सदरमुकाम खाँदबारी बजारमा मात्रै दिनहुँ लाखौँ रुपैयाँको व्यापार हुने गरेको थियो । सातामा करोडौँ रुपैयाँको कारोबार हुने गरेको रुद्राक्ष व्यवसायी संघ संखुवासभाका अध्यक्ष चक्र बिसुन्केले बताए ।

उनले खाँदबारी, तुम्लिङटार र दिङ्लामा मात्रै साताको एक–डेढ करोडको कारोबार हुने गरेको बताए । ‘गत वर्षसम्म संखुवासभाबाट करिब चार अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात हुने गरेको थियो । तर, यस वर्ष कोरोना भाइरसका कारण संखुवासभाबाट २५ प्रतिशत मात्रै रुद्राक्ष निर्यात हुने संकेत देखिएको छ । संखुवासभा रुद्राक्षको राजधानी नै भए पनि यस वर्ष कोरोनाले ठूलो प्रभाव पर्यो,’ अध्यक्ष बिसुन्केले भने ।

भाउ घटेपछि कृषक चिन्तित
रुद्राक्षको कारोबारमा मन्दी आएपछि कृषकहरू चिन्तित भएका छन् । गत वर्ष भारत, बर्मा र वनारसमा रुद्राक्ष निकासी हुँदै आएको थियो । तर, केही वर्षदेखि उत्तरी छिमेकी चीनतर्फ बढीभन्दा बढी रुद्राक्ष निकासी हुन थालेको थियो ।

दुई वर्षअघिसम्म जस्तोसुकै रुद्राक्षले पनि राम्रो मूल्य पाएको थियो । भलबाढी आएजस्तो चिनियाँहरूले रुद्राक्षको मुख नहेरी खरिद गरेकाले महँगो मूल्यमा किनबेच भएको थियो । तर, यस वर्षदेखि ह्वात्तै घटेको छ ।

भारतीयले मुखदार दाना किन्ने भए पनि चिनियाँहरूले भने थेप्चो र ठूला–ठूला दाना मात्रै किन्ने गर्थे । दुई वर्षअघिसम्म राम्रो मुखदार भएको रुद्राक्ष महँगो थियो भने सामान्य ३, ४, ५ र ६ मुखे रुद्राक्षसमेत प्रतिकेजी १० देखि २५ हजारसम्ममा किनबेच भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष बिसुन्केले बताए ।

‘गत वर्ष रुद्राक्षको बोक्राको समेत केजीको हिसाबले किनबेच भएको थियो । चिनियाँहरूले आफैँ गाउँगाउँ पुगेर राम्रो, मुखदार र चिल्लो थेप्चे दाना मात्र खरिद गर्दै आएका थिए । अहिले कोरोनाले सबै थलो पर्यो,’ अध्यक्ष बिसुन्केले भने । 

सुझावित समाचार