मप विश्वविद्यालयले सुरक्षा एकाइ गठन गर्दै

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा एकाइ गठन गर्न लागेको छ । यसका लागि ३० मंसिरमा काठमाडौंमा बस्ने विश्वविद्यालयको सिनेटमा सुरक्षा एकाइ बनाउने प्रस्ताव पेस गरिने भएको छ । 

विश्वविद्यालयको भौतिक सम्पत्ति, आन्तरिक सुरक्षाका लागि सुरक्षा एकाइ गठन गर्न लागेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए । अहिलेसम्म नेपालमा विश्वविद्यालयले सुरक्षा एकाइ बनाएको छैन । ‘भारत, चीनलगायत विभिन्न देशका विश्वविद्यालयले आफ्नै सुरक्षा युनिट बनाएका छन् । नेपालमा हामीले पहिलोपटक अभ्यास गर्न लागेका छौँ,’ उपकुलपति प्रा.डा. सिंहले भने । 

विश्वविद्यालयले अहिले बाहिरी सेक्युरिटी कम्पनीबाट सुरक्षाका लागि जनशक्ति मगाएको छ । यसमा वार्षिक लाखौँ रुपैयाँ जाने गरेकाले आफ्नै सुरक्षा एकाइ बनाउन खोजिएको उनको भनाइ छ ।

विश्वविद्यालय सुरक्षा एकाइमा २५ वर्षदेखि ३५ वर्ष उमेर ननाघेका अवकाशप्राप्त नेपाली सैनिक, भारतीय सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका मान्यताप्राप्त सुरक्षा संगठनमा काम गरेका व्यक्ति रहने जनाइएको छ । सुरक्षा एकाइका सदस्यलाई ५० वर्ष उमेर पुग्दा अवकाश दिइनेछ । सुरक्षा एकाइको आफ्नै पोसाक हुनेछ भने तत्कालका लागि करार सेवामा जनशक्ति लिने जनाइएको छ ।

सुझावित समाचार