संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ बजारमा

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

साहित्यकारद्वय खगेन्द्र संग्रौला र आहुतिका बेग्लाबेग्लै दुई पुस्तक प्रकाशित भएका छन् । संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ दुई गैरआख्यान पुस्तकबाट नयाँ प्रकाशन संस्था बेला पब्लिकेसन्सले आफ्नो प्रकाशन यात्रा थालेको छ ।

कोरोना भाइरसका कारण उत्पन्न महामारी र त्यसले सिर्जना गरेको सामाजिक–आर्थिक संकट एवं त्यसैका बहानामा राजनीतिमा देखिएको भ्रष्टाचार, विकृति र बेथितिलाई विषय बनाएर लेखिएको गैरआख्यान पुस्तक ‘कोरोना कैरन’मा संग्रौलाका २७ वटा नवीन निबन्धहरू संगृहित छन् ।

‘कोरोना कैरन संग्रौलाका अनुभव र अनुभूतिको निजी शृंखला मात्र होइन, सामान्यजनले भन्न खोजेका र भन्न चाहेका कुराहरूको सिलसिलाबद्ध प्रकटीकरण पनि हो,’ बेला पब्लिकेसन्सका सम्पादक विनोदविक्रम केसीले भने, ‘भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरूका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो पुस्तक दुखियाहरूको खबरमाला हो ।’

लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मूलनको परियोजनाका विषयमा केन्द्रित छ । ‘जात वार्ता’ पुस्तक पनि प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ ।

पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्मपरिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभावलगायतका सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ । लेखक आहुतिले यसलाई ‘निरन्तर संघर्षका निम्ति हाते पुस्तक’ भनेका छन् । 

कोरोना महामारी र जात व्यवस्था आजको नेपाली समाजलाई प्रभाव पारिरहेका सबैभन्दा ज्वलन्त विषय भएकाले यिनै विषयमा आधारित गैरआख्यान पुस्तकबाट आफूहरूले प्रकाशन प्रारम्भ गरेको बेला पब्लिकेसन्सका चिफ प्रोडक्सन अफिसर वन्दना ढकालले बताइन् ।

‘हामीले हाम्रो नियमित प्रकाशन योजना र वार्षिक प्रकाशन क्यालेन्डर अंग्रेजी नयाँ वर्षसँगै सार्वजनिक गर्नेछौँ र पाठकबीच नियमित प्रकाशनहरूमार्फत संवाद सुरु गर्नेछौँ,’ ढकालले भनिन्, ‘जात वार्ता र कोरोना कैरनलाई बेला पब्लिकेसन्सका परीक्षण प्रकाशनका रूपमा लिइदिन हामी पाठकलाई आग्रह गर्दछौँ । यी पुस्तकलाई पाठकले माया गरिदिनुुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’

सुझावित समाचार