नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिएसँगै पूरै निजी क्षेत्र गर्माएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा आ–आफ्नो पक्षमा जनमत तयार गर्न व्यस्त छन् । देशभरका व्यवसायीहरू यतिवेला दुई कित्तामा विभाजन भएका छन् । ११ मंसिरदेखि १३ सम्म काठमाडौंमा हुन लागिरहेको ४५औँ वार्षिक साधारणसभाले महासंघमा नयाँ कार्यसमिति चयन गर्दै छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि शेखर गोल्छाले नेतृत्व सम्हाल्नेछन् । तर, भावी नेतृत्वका लागि हुने घम्साघम्सी वरिष्ठ उपाध्यक्षका लागि भइरहेको छ । उम्मेदवारहरू कोभिड महामारीलाई नै भुलेर चुनाव प्रचारको दौडधुपमा व्यस्त भएका छन् । दुवै प्यानलका उम्मेदवारले जिल्ला दौडाहासँगै राजधानीका होटेल तथा रेस्टुरेन्टमा जमघट तथा विभिन्न कार्यक्रममार्फत आफ्नो माहोल बनाइरहेका छन् ।
आफूले समर्थन गरेको प्यानललाई जिताउन भोटर तान्ने जोड–घटाउमा पूर्वअध्यक्ष र प्रभावशाली व्यवसायीहरू व्यस्त देखिएका छन् । निर्वाचनको नतिजा आफ्नै पोल्टामा आउनेमा दुवै पक्ष पूर्ण विश्वस्त देखिन्छन् । दुवै प्यानलबीच कडा प्रतिस्पर्धा हुने महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको भनाइ छ ।
मुलुकमा कोभिड महामारी फैलिएका वेला सर्वसम्मत नेतृत्व चयन गर्दा राम्रो सन्देश जाने भन्दै केही पूर्वअध्यक्षहरूले सहमतिको प्रयास थाल्दा पनि सफलता हात पार्न सकेनन् । ढकाल र प्रधानले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेपछि सर्वसम्मत नेतृत्व चयन गर्ने ढोका बन्द भइसकेको व्यवसायीहरू बताउँछन् । महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न पूर्वअध्यक्षद्वय महेशलाल प्रधान र रविभक्त श्रेष्ठलाई अगाडि सारिएको थियो ।
उनीहरूले दुवै पक्षसँग पटक–पटक भेटेर सहमति गराउन खोजे पनि सफल हुन सकेका छैनन् । यसअघि महासंघका पूर्वअध्यक्षहरूले सहमतिको प्रयास गरे पनि त्यो सफल हुन सकेन । जसले अहिले त्याग गर्छ, उसलाई अर्को कार्यकालका लागि निर्विरोध बनाउने ढंगले कुराकानी भएको थियो । ‘मैले तिहारपछि वरिष्ठ उपाध्यक्षका दुवै प्रत्यासीसँग कुराकानी गरेँ, दुवैजनाले चुनाव जित्नेमा विश्वस्त रहेको र आफू पछि नहट्ने बताउनुभयो,’ पूर्वअध्यक्ष श्रेष्ठले भने ।
सहमति हुन नसकेपछि प्रजातान्त्रिक प्रक्रियाअनुरुपको निर्वाचन हुनु स्वाभाविक रहेकाले यसलाई सबैले सहज रुपमा लिनुपर्ने श्रेष्ठले बताए । ‘हामीले तिमी उठ, तिमीले छाडिदेऊ भन्न मिल्दैन,’ श्रेष्ठले भने, ‘उहाँहरू आफैँले सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गर्दा राम्रो सन्देश जान्थ्यो ।’ सहमतिका लागि धेरै विकल्पहरूमा छलफल गर्न सकिने भए पनि ढकाल र प्रधान चुनावी मैदानमा भेट गर्ने मुडमा पुगिसकेको श्रेष्ठले बताए ।
निर्वाचनमा जाँदा दुवै पक्षले व्यक्तिगत आरोप प्रत्यारोपमा नउत्रिई स्वस्थ ढंगले अघि बढ्नुपर्ने पनि श्रेष्ठले बताए । ‘भोलि जसले निर्वाचन जिते पनि त्यो महासंघको साझा नेतृत्व हो, उसलाई सबैले स्वीकार गर्नुपर्छ, र उसले पनि सबैलाई समान ढंगले अघि बढाउनुपर्छ, त्यसले अहिले चुनाव प्रचार तिक्ततापूर्ण हुने छैन भन्ने अपेक्षा गरेको छु,’ श्रेष्ठले भने ।
प्रधान प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार छन् । यस्तै, ढकाल प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई चुनावी मैदानमा उत्रिएका छन् ।
प्रधानको प्यानललाई वर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतले खुलेर समर्थन गरिरहेका छन् । त्यस्तै, ढकालको प्यानललाई पूर्वअध्यक्षद्वय चण्डीराज ढकाल, सुरज वैद्यलगायतले समर्थन गरेका छन् ।
वर्तमान कार्यसमितिमा ढकाल एसोसिएट समूहतर्फको उपाध्यक्ष र प्रधान जिल्ला–नगर उपाध्यक्ष पदमा छन् । तीन वर्षअघि भएको चुनावमा ढकाल सर्वसम्मत उपाध्यक्ष चयन भएका थिए । महासंघमा विनोद चौधरी र पद्म ज्योतिबीच भएको रस्साकस्सीपछि सर्वाधिक पेचिलो भिडन्त अहिले हुन लागेको व्यवसायीहरू बताउँछन् । महासंघको इतिहासमै ०५२ सालमा चौधरी र ज्योतिको चुनावी प्रतिस्पर्धाले सर्वाधिक चर्चा कमाएको थियो । महासंघलाई नजिकबाट नियाल्नेहरू भन्छन्, ‘सोही भिडन्तपछि महासंघमा गुट–उपगुट र आरोप–प्रत्यारोपको राजनीति मौलाउँदै गयो ।’
सो समयमा दुई ठूला घरानाका नेतृत्वकर्ता चौधरी र ज्योति भिडन्तमा उत्रिएपछि हरेक दिन सबैजसो सञ्चारमाध्यमको समाचार महासंघको चुनावमय भएको थियो । दुई ठूला व्यवसायी चुनावी रस्साकस्सीमा उत्रिएपछि महासंघ चुनावको मुलुकभर चर्चा–परिचर्चा भयो । यतिसम्म कि व्यापारिक वर्गसँगै मन्त्री, राजदूत, उच्चपदस्थ सरकारी कर्मचारी सबैको ध्यान महासंघको चुनावले तानिदियो । त्यसअघि खासै चर्चामा नआउने महासंघको चुनाव पहिलोपटक आमचासोको विषय बन्न पुगेको थियो ।
त्यतिवेला टेलिभिजन च्यानल कम थिए, अनलाइन पोर्टल, युट्युब र सामाजिक सञ्जाल सुरु भइसकेको थिएन । त्यतिवेलाको चुनावको विषयमा पूर्वअध्यक्ष महेशलाल प्रधानले भने, ‘त्यतिवेला चुनावलाई चासोको विषय बनाउन पत्रिकाको फ्रन्ट पेजमा छापिएका समाचारहरू नै काफी भइदिए ।’ दुवै पक्ष आ–आफ्नै ढंगले चुनाव प्रचारमा लागेका थिए । ‘उद्यमी–व्यवसायीको कुरै छाडौँ, मिडिया र लगभग सबैजसो राजनीतिक पार्टी पहिलोचोटि महासंघको चुनावमा सक्रिए देखिए,’ चौधरीले आफ्नो आत्मकथामै लेखेका छन् । त्यतिवेला नेताहरूमाझ पनि व्यापारीको चुनावबारे चर्चा हुन्थ्यो ।
अहिले २७ वर्ष पहिलेको चुनावलाई पनि माथ गर्ने गरी महासंघमा व्यवसायीको पेचिलो भिडन्त हुँदै छ । टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन, युट्युब, सामाजिक सञ्जाल जताततै महासंघको चुनावले गर्माएको छ । पूर्वअध्यक्ष महेशलाल प्रधानका अनुसार त्यतिवेला पनि चौधरी र ज्योतिलाई सहमतिमा ल्याएर सर्वसम्मत नेतृत्व चयन गर्न निकै प्रयास भएको थियो, तर दुवैले जिद्दी कसेपछि सहमतिको वातावरण बिग्रियो ।
चौधरी महासंघमा दोस्रो कार्याकाल दोहोर्याउन खोजिरहेका थिए । ज्योतिले चौधरीलाई कार्यकाल दोहोर्याउन दिने पक्षमा देखिएनन् । अहिले पनि ठ्याक्कै ढकाल र प्रधान आ–आफ्नै हठमा देखिएका छन् । दुवैको हठका कारण सर्वसम्मत नेतृत्व चयन गरेर निजी क्षेत्र एकबद्ध भएको सन्देश दिन नसकेको श्रेष्ठले बताए ।
महिला उम्मेदवार ६ प्रतिशत मात्रै
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनमा महिला उम्मेदवारको संख्या निकै न्यून देखिएको छ । महासंघको निर्वाचन समितिका अनुसार ६३ पदका लागि परेको १ सय २७ जनाको उम्मेदवारीमध्ये महिलाहरूको संख्या ५ मात्रै रहेको छ । यो कुल उम्मेदवारको ६.३५ प्रतिशत मात्र हो । निर्वाचनमा लुम्बिनी प्रदेशबाट रचना श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएकी छिन् ।
उनी नेपालगन्ज उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेशबाट कार्यकारिणी सदस्य पदमा उठेकी हुन् । उनीसँग चन्द्रौटा उवासंघका जमशेर मियाँ र दाङ उवासंघका हेमराज बञ्जाडे प्रतिस्पर्धा गर्दै छन् । मुलुक संघीय संरचनामा गइसकेपछि महासंघले पनि कार्यकारिणी समितिमा सातवटै प्रदेशका लागि एक–एक केन्द्रीय सदस्यको कोटा छुट्याएको छ ।
वस्तुगत समूहतर्फ कार्यकारिणी सदस्यमा सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । महासंघमा लामो समय बिताइसकेकी उनले यसपटक उपाध्यक्षको दाबी गर्दै आइरहेकी थिइन् । तर, कार्यकारिणी सदस्य पदमै चित्त बुझाउनुपरेको छ । त्यस्तै, वस्तुगत समूहतर्फकै कार्यकारिणी सदस्यमा महिला उद्यमी महासंघबाट शारदा रिजाल उम्मेदवार बनेकी छिन् । उनी वर्तमान कार्यकारिणी समितिमा मनोनीत सदस्य हुन् । वस्तुगत समूहतर्फ १४ पदका लागि २९ जनाले उम्मेदवारी दिएकोमा महिलाको संख्या दुई मात्र रहेको छ ।
एसोसिएट समूहतर्फ कार्यकारिणी सदस्यमा मेरिगोल्ड ज्वेलर्सकी सञ्चालक ज्योत्स्ना र कन्टिनेन्टल इन्टरप्राइजेजकी सञ्चालक रेखा घिमिरे उम्मेदवार छन् । एसोसिएट समूहतर्फ १९ कार्यकारिणी सदस्य पदका लागि २९ जनाको उम्मेदवारी परेकोमा महिला दुई मात्र छन् । जिल्ला–नगरतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या ‘शून्य’ देखिन्छ ।
वस्तुगत समूहबाट उम्मेदवार बनेकी कमला र एसोसिएट समूहबाट उम्मेदवार बनेकी ज्योत्स्ना महासंघका सदाबहार अनुहार हुन् । तर, उनीहरू कार्यकारिणी सदस्यभन्दा माथिल्लो पदमा उम्मेदवार बन्न पाएका छैनन् । महासंघमा नयाँ उम्मेदवार प्रदेशबाट उठेकी रचना श्रेष्ठ र एसोसिएट समूहबाट उठेकी रेखा घिमिरे हुन् । वर्तमान कार्यसमितिका कार्यकारिणी सदस्यहरू सुशीला गोयल अग्रवाल र प्रेमाराज्यलक्ष्मी शाह अहिले प्रतिस्पर्धामा छैनन् ।
मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको महासंघको ५४औँ वार्षिक साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वयले आ–आफ्नो प्यानल बनाउँदा महिलालाई बेवास्ता गरेको देखिन्छ । त्यसो त विगतदेखि नै महासंघको कार्यकारिणी समितिमा महिलाको उपस्थिति न्यून देखिन्छ ।
प्रधान प्यानलबाट एसोसिएट सदस्य उम्मेदवार ज्योत्स्ना भन्छिन्, ‘महासंघमा आउनका लागि विभिन्न व्यवसायी संघ र व्यावसायिक प्रतिष्ठानमा बसेको हुनुपर्छ । अहिले मुलुकमा महिला उद्यमी बढे पनि जिल्ला–नगर उवासंघ, वस्तुगत संघमा महिलाको उपस्थिति छैन, त्यसैले पनि महिला महासंघमा उम्मेदवार बन्न वञ्चित भइरहेका छन् ।’ त्यसो त महासंघको राजनीतिमा प्रवेश गरिसकेपछि पर्याप्त समय पनि दिनुपर्छ । धेरै महिलाले परिवार, व्यवसायसँगै महासंघमा समय दिन नभ्याउने हुँदा पनि पछाडि परेको उनको भनाइ छ ।
महासंघको ५५ वर्षे इतिहासमा भवानी राणा पहिलोपटक महिला अध्यक्ष बनेर रेकर्ड राख्न सफल भइन् । ज्योत्स्नाका अनुसार महासंघको उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा पनि राणाबाहेक अरू महिला उद्यमी पुग्न सकेका छैनन् । महासंघले महिला नेतृत्व पाइरहेकै वेलामा पनि नयाँ कार्यसमितिको निर्वाचनमा महिला उम्मेदवार अत्यन्तै कम देखिएका छन् । स्थानीय तह, प्रदेश र संघीय संसद्को चुनाव हुँदा राजनीतिक दलहरूले उम्मेदवारको सूचीमा महिलाको संख्या न्यूनतम ३३ प्रतिशत राख्नैपर्ने प्रावधान छ । तर, महासंघमा यस्तो बाध्यात्मक व्यवस्था छैन ।