खुला दिसामुक्त घोषणा भएको दुई वर्षपछि मोरङमा हरियो स्टिकर टाँस्न थालिएको छ । मोरङको बेलबारीदेखि हरियो स्टिकर टाँस्न थालिएको हो । ६ वटा सूचक तयार गरेर ती सूचकका आधारमा सरसफाइ गर्ने घरमा स्टिकर टाँस्न थालिएको हो ।
घरआँगन र परिवारको स्वास्थ्य–व्यवहार हेरेर गाउँस्तरीय पालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको सिफारिसमा जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले हरियो स्टिकर दिने गर्छ ।
केही सफा घरलाई निलो र पूर्ण सफालाई हरियो स्टिकर दिन पनि पाँच सूचक बनाइएको छ । जुन घरका सदस्य चर्पीमा दिसापिसाब गर्छन्, फर्केर साबुनपानीले हात धुन्छन्, त्यसले हरियो स्टिकर पाउँछ ।

हरियो स्टिकर पाउन घर र आँगनसमेत सफा हुनुपर्छ, अनि खाना र पानी पनि अनियमित र दूषित हुनुहुन्न लगायतका सूचकका आधारमा घरमा हरियो स्टिकर टाँसिने जिल्ला खानेपानी, सरसफाइ स्वच्छता समन्वय समिति मोरङका संयोजक तथा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोख्रेलले बताए ।
उनका अनुसार सूचकलाई नै आधार मानेर पालिका तथा वडास्तरीय अनुगमन समितिले अनुगमन गरेर सिफारिस गरेपछि मात्रै हरियो स्टिकर टाँस्ने गरिन्छ । सूचकमा १०० अंक प्राप्त गर्ने घरपरिवारले मात्रै स्टिकर प्राप्त गर्ने जिल्ला सरसफाइ मार्गदर्शनको अनुगमन खण्डमा उल्लेख गरिएको छ ।
बेलबारी नगरपालिका– ११ मा रहेको मिलन टोल सरसफाइ व्यवस्थापन समितिका कोषाध्यक्ष कल्पना क्षेत्रीले बेलबारीकै नयाँ बस्तीको रूपमा रहेको मिलन टोललाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको बताइन् ।
‘सबै घरधुरीमा शौचालय छन्, सबै घरधुरीमा फूलबारी बनाइएको छ,’ उनले भनिन्, ‘पानी उमालेर तथा शुद्धीकरण गरेर मात्रै खान्छौँ । मिलन टोलका सबै घरधुरीमा स्थानीय कच्चा पदार्थ बाँसको प्रयोग गरेर सबै घरअगाडि चोयाबाट बुनेकाे फाेहोर मलाई लेखिएकाे डाेकाे राखिएको छ ।’
स्टिकरमा खण्ड–खण्ड गरेर पाँचवटा मापदण्ड लेखिएको छ। तीमध्ये पूरा भएका मापदण्डमा परीक्षण टोलीले चिह्न लगाउँछन् । पाँचवटैमा चिह्न लगाइयो भने त्यो घरले पूर्ण सफा घरको मान्यताका रूपमा हरियो स्टिकर टाँसिन्छ । हरियो स्टिकर टाँसिने घरहरू झट्ट हेर्दासमेत सफा र सुन्दर देखिन्छन् ।
नगरपालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिले हरियो स्टिकर टाँस्नुअघि घरहरूको अनुगमन गर्ने गर्छ । बेलबारीका तीनवटा वडाबाट हरियो स्टिकर टाँस्न थालिएको हो ।
८, १० र ११ बाट हरियो स्टिकर टाँस्न थालिएको हो । यो अभियानले कोरोना माहामारीसँग लड्नसमेत मद्दत पुगेको बेलबारी– ११ का वडाध्यक्ष यमबहादुर पोख्रेल (राजन)ले बताए ।
पूर्ण सरसफाइका लागि मोरङमा दुईवटा संस्थाले कार्यक्रम गरिरहेका छन् । युएन ह्याबिट्याट र नारी विकास संघले कार्यक्रम गरिरहेका हुन् । खुला दिसामुक्त घोषणा गर्न नै समस्या परेका घरहरूमा हरियो स्टिकर टाँस्न थालिएको युएन ह्याबिट्याट जिल्ला संयोजक विनोद शर्माले बताए ।
उनका अनुसार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको जिल्ला पूर्ण सरसफाइ मार्गदर्शन २०७७ मा सफा र स्वच्छ क्षेत्रका सूचक पूरा गरेका घरधुरीहरूको अनुगमनपछि स्टिकर टाँस्न थालिएको हो । पाँच वर्षभित्रमा मोरङका १७ वटै स्थानीय तहमा हरियो स्टिकर टाँसेर सक्ने लक्ष्य राखिएको छ ।