खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : प्रधानमन्त्री ओली

मंगलबार, २ मंसिर, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले वामपन्थी नेता बोमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओलीले विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका हुन् । 

खड्काप्रति  श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले शोकसन्तप्त परिवारजनमा  समवेदना प्रकट गरेका छन् ।  ओलीले भनेका छन्– गुल्मीमा उहाँले नटेकेको कुनै बाटो छैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला ।

खड्काले लुम्बिनी विशेषतः गुल्मीको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुऱ्याएको ओलीले स्मरण गरेका छन् ।  सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण खड्काका विशेषता रहेको ओलीको बुझाइ छ । 

प्रधानमन्त्री ओलीले नेता खड्काका योगदान चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने पनि उल्लेख गरेका छन् ।

सुझावित समाचार