बढ्दो स्कुटर क्रेज : यसकारण लोकप्रिय हुँदै छ स्कुटर

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

डिस्क ब्रेक, राम्रो सस्पेन्सन, पावरफुल इन्जिन, स्टाइलिस र लामो दूरीमा पनि सजिलै चलाउन सकिने मोडलका स्कुटरको माग बढ्दो

कोरोना संक्रमणका कारण सरकारले घोषणा गरेको लकडाउनकै समयमा ललितपुर हात्तीवन बस्ने गुल्मीका श्याम अर्यालले करिब ६ सय ५० किलोमिटर काठमाडौं–बुटवलको यात्रा स्कुटरमै गरे । टिभिएसको एनटर्क स्कुटरमा ओहोर–दोहोर गरेका उनले भने, ‘स्कुटरमा पनि सहजै लामो दूरीको यात्रा गर्न सकिने रहेछ । अगाडि झोला राख्ने ठाउँ हुनाले धेरै सजिलो पनि भयो ।’ 

फरक–फरक मोडलका बाइक चलाउन रुचाउने वनस्थलीका विष्णु पोखरेल पनि केही समयदेखि स्कुटरमा हुइँकिन थालेका छन् । काठमाडौंको व्यस्त सडकमा बाइकभन्दा स्कुटर चलाउन सहज भएको उनको अनुभव छ । स्पोर्टी लुक्सको १५० सिसी अप्रिलिया चलाउँदा पावरफुल बाइक कुदाएझैँ लाग्ने उनी बताउँछन् । 

त्यस्तै, भर्खरै सकिएको दसैँमा गुल्मी वाग्ला (लाहाँटा) की गोमा पन्थीले बुटवलबाट पिच भत्किएर उबडखाबड बाटोमा यामाहा रे जेडआर स्कुटर चलाएर घर पुगिन् । धुर्कोट गाउँपालिकामा कार्यरत आफ्नी दिदी गंगा पन्थीलाई घर–अफिस गर्न सजिलो होस् भनेर उनले बुटवलबाट नयाँ स्कुटर लगिदिएकी हुन् ।  

पछिल्लो समय बाइकको उत्तम विकल्प बनिरहेको स्कुटर सहरी भेगमा मात्र नभएर दूरदराज गाउँमा पनि लोकप्रिय बन्न थालेको छ । कुनै समय महिलाको साधनका रूपमा परिचित स्कुटरमा अहिले हरेक उमेर समूहका पुरुषहरूको क्रेज बढ्न थालेको छ । पावरफुल, स्टाइलिस, राम्रो सस्पेन्सन, डिस्क ब्रेक भएका स्कुटर आउने युवा वर्गको रोजाइमा पर्न थालेको विक्रेता बताउँछन् ।

यामाहा दुईपांग्रेका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लूका पिआर हेड रमेश धनेकू भन्छन्, ‘एउटा समय थियो, स्कुटर कम सिसीका, सहरका चिल्ला सडकमा कुद्ने र महिलाले चलाउने साधन मात्रै हो । अहिले स्कुटरको यात्रा ‘युनिसेक्स राइड’ बनेको छ । स्कुटर किन्ने ग्राहक महिला र पुरुष बराबरजस्तै छन् ।’ घरमा स्कुटर किनेपछि परिवारका सबै सदस्यले चलाउन सकिन्छ ।

सोही कारण सबैजसो चर्चित टू ह्विलर ब्रान्डले बढी सिसीका स्टाइलिस स्कुटर उत्पादन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली बजारमा पनि अहिले दर्जनभन्दा बढी ब्रान्डका स्कुटर उपलब्ध छन् । धनेकूका अनुसार नेपालमा स्कुटरको क्रेज गज्जबै बढेको छ । होन्डा, हिरो, यामाहा, टिभिएस, अप्रिलिया, भेस्पा, सुजुकीलगायत ब्रान्डका स्कुटर नेपाली सडकमा देख्न पाइन्छ । नेपाली बजारमा अहिले १५० सिसी इन्जिन क्षमताका ४ लाख रुपैयाँसम्म पर्ने स्कुटर पनि उपलब्ध छन् ।

तर, अझै पनि धेरै महिलाहरू हेभीभन्दा आफूलाई चलाउन कम्फर्ट हुने कम सिसीका स्कुटर मन पराउँछन् । लामो दूरीमा समेत यात्रा गर्न मिल्ने स्टाइलिस र पावरपुल स्कुटर पुरुषको रोजाइमा पर्छन् ।  

सडकमा स्कुटरको उपस्थिति बढ्दै
नेपालमा स्कुटरको बिक्री बढिरहेको भन्सार विभागको तथ्यांकले पनि देखाउँछ । सन् २०१७ मा ७० हजार ७ सय स्कुटर भित्रिएको नेपालमा सन् २०१८ मा ७८ हजार १ सय आयात भएको थियो । त्यस्तै, सन् २०१९ मा ८१ हजार १ सय स्कुटर नेपाल भित्रिएको विभागको तथ्यांक छ । कोभिडको कहरबीच पनि यस वर्ष अक्टोबरसम्म ४५ हजार स्कुटर भित्रिसकेका छन् । ११ चैतदेखि मुलुकमा लकडाउन भएयता करिब ३ महिना अटो बजार पूरै ठप्प नै भयो ।

लकडाउन खुकुलो भएसँगै दुईपांग्रे सवारीसाधनको बिक्रीले लय समात्न खोजिरहेको टिभिएस बाइक विक्रेता जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल बतनाउँछन् । उनी भन्छन्, ‘लकडाउन खुकुलो भएपछि दुईपांग्रेको बिक्री उत्साहजनक नै भएको भन्नुपर्छ, यसमा स्कुटरको हिस्सा राम्रो छ ।’ 

सन् २०१७ मा नेपालमा आयात भएका दुईपांग्रे सवारीसाधनमध्ये स्कुटरको हिस्सा २६ प्रतिशत थियो । २०१८ मा यो हिस्सा बढेर ३१ प्रतिशत र २०१९ मा ३२ प्रतिशतसम्म पुग्यो । तर, यो वर्ष अहिलेसम्म दुईपांग्रे सवारीको कुल आयातमध्ये स्कुटरको हिस्सा अलिकति खुम्चिएर ३० प्रतिशत भएको छ । लकडाउनपछि सार्वजनिक यातायात चढ्न असुरक्षित महसुस गर्नेको पहिलो रोजाइ दुईपांग्रे भएको छ ।  

पावरफुल र बोल्डनेस
पछिल्लो समय स्कुटर उत्पादक कम्पनीहरूले पावर र बोल्डलाई प्राथमिकतामा राख्न थालेका छन् । पावरफुल र बोल्डनेसकै कारण स्कुटर सबैको रोजाइमा पर्न सफल भएको हो । स्कुटरको पावर पनि बाइकसँग तुलना गर्न थालिएको विक्रेता कम्पनीहरू बताउँछन् । सुधारिएको सस्पेन्सन, आरामदायी सिट, पहिलाभन्दा ठूलो फ्युल ट्यांक र बोल्ड लुक्सका कारण महिला–पुरुष दुवै स्कुटरतिर आकर्षित भएको जगदम्बा मोटर्सका उपाध्यक्ष अग्रवाल बताउँछन् । ‘पछिल्लो समय डिस्क ब्रेक, राम्रो सस्पेन्सन, पावरफुल इन्जिन, स्टाइलिस र लामो दूरीमा पनि सजिलै चलाउन सकिने हुँदा स्कुटरको माग बढेको हो,’ उनी भन्छन्, ‘स्कुटरको सबैभन्दा राम्रो विशेषता भनेकै परिवारका सबै सदस्यहरूले सजिलै चलाउन सकिन्छ ।’     

होन्डाको १२५ सिसी एभिएटर स्कुटर करिब डेढ दशकदेखि नेपाली बजारमा छ । त्यसपछि यामाहा, टिभिएस, सुजुकी, महिन्द्रालगायत विभिन्न कम्पनीले १२५ सिसीको स्कुटर बजारमा ल्याए । अहिले बजारमा भेस्पा, यामाहा फेसिनो, यामाहा रे जेडआर, टिभिएस एनटर्क, होन्डा एभिएटर, होन्डा ग्राजिया, सुजुकी एक्सेसलगायत १२५ सिसीका स्कुटर लोकप्रिय छन् । 

नेपालको स्कुटर बजारमा होन्डाको डिओले लामो समय लिड गरिरह्यो । आकर्षक डिजाइन, उकृष्ट पर्फमेन्सका कारण अहिले पनि डिओको माग उच्च नै छ । पछिल्लो समय विभिन्न ब्रान्डका पावरफुल स्कुटर आउन थालेपछि डिओको बजार बाँडिएको छ । स्कुटरचालकको रोजाइ पनि पावरफुल सिसीतर्फ मोडिन थालेको छ । यद्यपि, अहिले पनि सर्वाधिक बिक्री हुने स्कुटरमा डिओ नै अग्रस्थानमा रहेको विक्रेता कम्पनी स्याकार ट्रेडिङको दाबी छ । पछिल्लो समय टिभिएस एनटर्कले पनि ग्राहकको राम्रो विश्वास जित्न सफल भएको अग्रवाल बताउँछन् । एक समय टिभिएसकै स्कुटी पेप महिलाहरूको निकै लोकप्रिय स्कुटर थियो । समयसापेक्ष फिचरहरू अपग्रेड गर्दै आइरहेको यामाहा पनि स्कुटरको बजार विस्तारमा आक्रामक ढंगले लागिरहेको छ । हिरोका स्कुटर पनि बजारमा लोकप्रिय छन् । 

यसकारण लोकप्रिय हुँदै छ स्कुटर
परिवारका सबै सदस्यले चलाउन मिल्ने, कम मर्मत खर्च, आरामदायी र पावरफुल भएकै कारण स्कुटरको लोकप्रियता बढेको छ । सिटमुनि हुने स्टोरेजमा पर्स, विन्ड स्वेटर, रेनकोट, हेलमेटलगायतका साना सामानहरू सुरक्षित राख्न सकिन्छ । स्कुटरको अगाडिपट्टि पनि सामान राख्न मिल्छ । साना बच्चाबच्ची हुनेहरूका लागि स्कुटर उपयुक्त हुन्छ । पहिलो बजारमा ८०–८५ सिसीदेखि ११० सिसी इन्जिन क्षमताका स्कुटर मात्रै पाइन्थ्यो । होन्डाको एभिएटर र महिन्द्रा स्कुटर १२५ सिसी इन्जिन क्षमतामा आयो । अहिले बजारमा १५० सिसीसम्मका स्कुटर सजिलै पाइन्छन् । इटालियन भेस्पा १५० सिसीको स्कुटरको मूल्य साधारण बाइकको भन्दा धेरै छ । 

आकर्षक डिजाइन र पावरफुल मोडल भेस्पा भिएक्सएल एलिजेन्ट–१५० को मूल्य ४ लाखभन्दा बढी छ । अप्रिलियाको पनि १५० सिसीको स्कुटर भित्रिएको छ । अहिले टिभिएसको १२५ सिसी एनटर्क स्कुटरले राम्रै उपस्थिति देखाएको छ । पावरफुल स्कुटरमा आकर्षण देखिएपछि यामाहाले १०६ सिसीको फ्यासिनो र रे जेडआर अपग्रेड गरेर १२५ सिसीमा ल्याएको छ । टिनएज, युवा, गृहिणी, वयस्कदेखि जुनसुकै पेसामा आबद्ध व्यक्तिका लागि उपयुक्त भएकाले स्कुटरको क्रेज बढ्दो छ ।

सुझावित समाचार